धार्मिक भक्तजन जो
भगवानको गुणगानमा लिन थिए
उनीहरूले तपस्या रोजेनन्
अनि आफ्नो आवाज बुलन्द पार्न
अरूको आवाज दबाउनु पर्दछ भन्ने निष्कर्ष निकाले
आफ्नो कर्म अरूले थाहा पाए
इज्जत जान्छ तथा समाज हाँस्छ भनी
आफ्नो परिचय खुलाएनन्
उनीहरूले स्वतन्त्रता चाहेनन् ।
अनि उसले प्रश्न गर्यो
आफ्नो आवाज कसलाई सुनाउछौं
अनि के अपेक्षा राख्दछौं ?
भीडसँग जवाफ थिएन
तर भीडले आफ्नो वाक्य सत्य सावित हुने कुरामा
कटिबद्ध रह्यो
अनि पर्खियो
आफ्नो समय
आफ्नो पालो ।
उनीहरूको माग थियो
भगवान सपनामा आएर दर्शन दिनुपर्ने
अनि उसले बोल्यो
आफ्नो पाप र पुण्यको फैसला आफैं गर
भिड निराश भयो
किनकि उनीहरू आफुलाई विद्वान ठान्दथे
तर उसको प्रश्नको जवाफ थिएन
छिनमा हो र छिनमा होइन भीडले
आफ्नो मानसिक सन्तुलन गुमायो ।
उसले ईश्वरको भक्ति गर्यो
अनि प्रश्न सोध्यो
प्रभु, के हो स्वतन्त्रता ?
तब ईश्वरले उसलाई जवाफ दिए
मस्तिष्कको एकाग्रतालाई कर्मले साथ दिनु नै स्वतन्त्रता हो ।
अर्जुन दाहाल । काठमाडौं