जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनासम्म ३० वटा लागूपदार्थको मुद्दा दर्ता गरेको छ । भारतको रक्सौलबाट वीरगञ्ज ल्याइएका अधिकांश लागूऔषध वीरगञ्ज भन्सार वा आइसीपी कार्यालयको चेकजाँज भएर नै आएको प्रहरीकै अनुसन्धानले देखाएको छ । केहि समय देखि नेपाल भारतबीच बढेको अबैध कारोबारले गर्दा हुन्डीको कारोबारसमेत यो नाकामा फस्टाएको छ ।
नेपाल भारतबीचको सबै सीमा नाकामा सँगै खटिएका जनपथ र सशस्त्र प्रहरीले सधैँ कडा चेकजाँच गर्दै आएपनि करोडौँका समानहरू वीरगञ्ज आसपास क्षेत्रको गोदामबाट प्रहरीले छापा मारेर पक्राउ गर्दै आएको छ । पुष महिनामा मात्र ६ करोडभन्दा बढीको तस्करीका सामानहरू पर्सा प्रहरीले बरामद गरी आवश्यक कारबाहीका लागि राजश्व कार्यालयमा बुझाएको छ । यति मात्र होइन, पर्सा प्रहरीको लागि लागूऔषधको कारोबार नियन्त्रण सधैँको चुनौतीको विषय रहेको छ ।
हुन्डीको कारोवारमा भारतीय रुपैयाको तुलनामा नेपाली रुपैया ५ रुपैयाको दरले बलियो भएको छ । नेपालबाट लागुपदार्थ र सुनको तस्करी बढको कारण त्यसा भुक्तानी हुन्डीको माध्मबाट नेपालमा आइरहेकोले पनि १५५ नेपालीमा भारतीय १०० रुपैयाको दरले कारोवार भइरहेको व्यापारीहरू बताउ छन् । जिल्ला प्रहरी प्रमुखमा कोमल शाह आएदेखि तस्करी र रुपैयाको अबैध कारोबार नियन्त्रणमा कडाइ बढाएका छन् । परिणामस्वरुप हुन्डीदेखि लागुऔषधका कारोवारीहरू व्यापक रुपमा पक्राउ परिरहेका छन् । तर जिल्लाभित्र पक्राउन हुने सबै हुन्डीको रकम तथा लागुपर्दाथ यही सिमानाका भएर आएको छ ।
केहि दिनअगाडि मात्रै वीरगञ्जमा प्रहरीले श्रोत नखुलेको ठूलो रकम सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले बाराको विश्रामपुर गाँउपालिका वडा नं.४ का २७ वर्षिय श्यामकिशोर प्रसाद साहलाई श्रोत नखुलेको २० लाख रुपैयाँसहित पक्राउ गरेको हो । साहलाई वीरगञ्ज १६ रजत जयन्ति चोकस्थित सडकबाट गत साता पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक कोमल शाहले नै पत्रकार सम्मेलनमा जानकारी दिए । तर पक्राउ परेका उक्त व्यक्ति भन्सार नाकामा हुने गरेको सबै परीक्षण सहजै कसरी पार गरे ? भन्ने प्रश्नको जवाफ प्रहरीसँग छैन ।
खासमा मुलुकमा प्रजातन्त्र आएको तीन दशक भएको छ । प्रजातन्त्रमा जनताको मौलिक अधिकार सर्वोपरी हुन्छ, कानुनी राजमा दश अपराधी छुटे पनि एक निर्दोष नफसोस् भन्ने हुन्छ । तर नेपाली सुरक्षातन्त्रको कामकार्यवाही पुरानै पञ्चायती पारामा चलेको देखिन्छ । नेपाल भारत सिमामा शसस्त्र प्रहरी र पछाडी जनपथ प्रहरी खटिएका हुन्छ । नाकाबाट नेपाल आउने हरेक सर्वसाधारणलाई सुरक्षाकर्मीको भाषामा चेकजाँच अर्थात परीक्षण भएकै हुन्छ । शसस्त्र प्रहरीले परीक्षण गरिरहदा केहि पर पछाडि उभिएका जनपथ प्रहरी हरिरहेका हुन्छन्, सामुने आएपछि पुन परीक्षण गर्ने उनीहरूको जिम्मेवारी पनि हुन्छ । तर तराई हरेक जिल्लाको भित्री बजार वा शहर तथा गोदामहरूबाट करोडौको तस्करीको समान पक्राउ हुने गरको छ ।
हरेका सिमानाकाबाट नुनदेखि सुनसम्मको तस्करी हुने गरेको छ । तर सिमामा खटिने प्रहरीलाई खासै कार्यवाही भएको देखिँदैन । वीरगञ्ज मुलुककै मूल प्रवेशद्वार हो । आर्थिक राजधानीका रुपमा चिनिएको यो सहरले राज्यद्वारा असुल हुने करको सबै भन्दा हिस्सा बेहोर्दै आएको छ । सामाजिक र सांस्कृतिक विविधताले भरिएको मध्य तराइको यो आर्थिक महानगरमा रहेको नेपाल–भारत सीमा–नाका अर्थात् आइसीपी र सुख्खा बन्दरगाहमा रहेको भन्सारमार्फत देशलाई राजस्वको सर्वाधिक ठूलो हिस्सा अर्थात् ४३ प्रतिशत राजस्व बुझाउँदै आएको छ । अनि राजधानी काठमाडौं लैजाने ७५ प्रतिशत सामग्री यही सहर हुँदै पठाइन्छ ।
सरकारले पाउने कूल औद्योगिक करमध्ये वीरगञ्ज क्षेत्रमा रहेका उद्योगबाट ४० प्रतिशत राजस्व संकलन हुन्छ । यसर्थमा वीरगञ्ज सिंगै देशको ‘लाइफ लाइन’ पनि हो । तर सीमा नाकामा सबैभन्दा बढी सास्ती यहिको जनतालाई भोग्नुपरेको छ । भारतको रक्सौलबाट घरायसी समानहरू खरिद गरेर ल्याउदा अनेकौ चेकचाँजबाट गुज्रिनुपर्ने बाध्यता समेत रहेको छ । वीरगञ्जको भन्सार क्षेत्रको आधा किलोमिटरमा, आधा दर्जनभन्दा बढी चेकजाँच हुने गरेको छ । तर पनि यस नाकाबाट नुनदेखि सुनसम्मको खुलेआम तस्करी हुन्छ । आधा किलोमिटरमा आधा दर्जनभन्दा बढी परीक्षण तर पनि खुलेआम तस्करी, देख्दा र सुन्दा आश्चर्य लाग्न सक्छ । तर यस्तो अजबको परीक्षण र गजबको तस्करी मुलुककै मुख्य प्रवेशद्वार वीरगञ्ज भन्सार नाकामा हुने गरेको छ । भारतको रक्सौलबाट प्रवेश गर्दा, नेपाल–भारत मितेरी पुल कट्ने बितिकै सुरु हन्छ सशस्त्र प्रहरीको चेकजाँच ।
त्यसपछि शंकराचार्यद्वार नजिकै कोरानाको डेस्क र लगतै इनर्वा प्रहरी चौकीको चेकजाँच कटेपछि भन्सार कार्यालयका जाँचकीहरूको चेकजाँच । अनि सँगै रहेको पुन सशस्त्र प्रहरीको चेकजाँच र केहि मिटरमै फेरि रजत जयन्ती चोक नजिकै जनपथ प्रहरीको चेकजाँच हुने गरेको छ । मुलुककै प्रवेशद्वारको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालय भएर आउने जो कोही नव आगन्तुलाई नेपाल प्रवेश गर्न यतिको कडा चेकजाँच भएर कटिनु पर्दछ । नेपाल भारतको यो सिमानाकामा आपातकालकै अवस्था जस्तै परीक्षण कटेर प्रत्येक भारतीय पर्यटकलाई गुज्रिनुपर्ने बाध्यता नै छ । तर सम्बन्धित निकायको खासै ध्यान पुग्न सकेको छैन ।
यति कडा चेकजाँच हुँदा पनि नुनदेखि सुन र लागुपदार्थदेखि हतियारसम्म, सबैथोक यो नाकाबाट सहजै आउजाउ भइरहेको हुन्छ कसरी ? तस्करी र अपराध नियन्त्रणभन्दा पनि यो भन्सार क्षेत्रमा हुने गरेको चेकजाँच सम्बन्धित सबै निकायको, सबै कारोबारबारे जानकारी र भागीदारी मुख्य उदेश्य भएको स्थानीयको आरोप छ । यो भन्सार कार्यालय क्षेत्र र मुलुककै प्रवेशद्वारमा जति परीक्षण त्यति आम्दानीको आरोपलाई नकार्न सकिदैन । सशस्त्र र जनपथ प्रहरी होस् वा भन्सारको जाँचकी सबैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असुली गरिरहेको यहाँको ‘कटुसत्य’ पनि हो ।
गत साताको अन्त्यतिर बिहान भारतको पटना गइरहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि सबै परीक्षण भएर रक्सौल पुगे । तर फरक यतिमात्र थियो की उनीसँग रहेको प्रहरीको स्कर्टिङले केहिछिनमै उनलाई सबै नाका कटायो । भन्सार क्षेत्रमा भइरहेको परीक्षणको मुख्य उद्देश्य पैसा उठाउने मात्रै भएको आरोप नेकपा समाजवादी पार्टीका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीको छ । मनोजको भनाईमा, यति चेकजाँचको आवश्यकता नै छैन, एक ठाउँमा नभए पनि जनपथ, सशस्त्र र भन्सारको जाँचकी तीन ठाउँले पुगी हाल्छ । यो सर्वसाधारणलाई दुख दिने उद्देश्य मात्र हो । आधा किलोमिटरमा आधा दर्जन चेकजाँच, अवस्थाको बाध्यता मात्रै भएको पर्सा प्रहरीको बुझाइ रहेको छ ।
सिमानाकाको सुरक्षा र चोरी पैठारीको जिम्मेवारी सशस्त्र प्रहरीको र सुरक्षाको जिम्मा जनपथ प्रहरीको भएकोले विभिन्न ठाउमा चेकजाँच हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् नायब प्रहरी उपरिक्षक दिपक गिरी बताउँछन् । आर्थिक सम्भावना बोक्ने मुख्य सहरहरू खोजी गर्नुपर्यो भने मानिसहरू सुरुको लहरमै वीरगञ्जलाई सम्झन्छन् । वीरगञ्जको वैभव र समृद्धिको आकांक्षा पुनर्जागृत हुने कुरा चुनावको वेला दल तथा उम्मेदवारहरूको भाषणमा मात्रै सीमित देखिएको छ । सुरक्षा वा तस्करी नियन्त्रणको बाहानामा सिमावर्ती आर्थिक महानगरी वीरगञ्ज र आसपासका सर्वसाधारणलाई जति शोषण गरेपनि यहाँका जनप्रतिनिधिहरूको घैटोमा घाम लाग्ने गरेको छैन ।
अनिल तिवारी । बीरगञ्ज