सूचनाको शक्ति - The Power Of Information

        

दैविशक्ति र विश्वास

‘डिभाइन पावर अफ अदानचुली’

यहाँका मानिसहरु परम्परादेखि मान्दै आएका विभिन्न द्यौताहरुमध्ये मदानालाई आफ्नो कुल द्यौता मान्थे । यसै तिर्थस्थलको नामबाट अदानचुली गाउँपालिकाको नामकरण गरिएको हो ।

डिभाइन पावर अफ अदानचुलीमा मानव सभ्यताको विकास क्रममा हिमवत् खण्डको समाज प्राज्ञा ऐतिहासिक काल, प्राचिन काल, मध्यमकाल दैवि शक्तिबाट निर्देशित थियो । जीवनका जन्मदेखि मृत्युसम्मका घटनाहरु दैविशक्ति भाग्यको आधारित थियो ।

अदानचुली गाउँपालिकाका मान्छेहरुले जीवन रक्षा सामाजिक ब्यवस्था, नैतिक भरोसा बस्ती बसाइको जर्गेना र विश्वासको आधार, डाँडामदानुले मेग झार्ने, खोलाकाल्याले भिँइभित गाउँमा मान्छे मडर्याउने, खाँडेखँडायोले दैत्य भुतप्रेतहरु भएको रोकथाम गर्ने महादेव महारुद्य शुभ अशुभ काममा हुम जग्गी बस्ने, सर्कीभँढाराले चिउला पुरि हाल्दै गरेको तात्तातो ताइमा रहेको तेल खाने र अज्ञात ढुंगाबाट दुध गर्ने मष्टोमण्डाली फलामको चक्कर त्रिशुल दाँतले काट्ने कालिकामालिका पानीको मुहान सुक्यो भने बाबियाको गलिउँ घाँटीमा लगाएर सेतो गाभे धजा चढाएर पानी सुक्नबाट रोक्किने, अहिरो पहिरोबाट रोकथाम त्यसबेला मानिसको जिवन मृत्य उन्नति अवनति तथा निर्माण विनासको कारकतत्व मदान द्यौता मानिन्थ्यो ।

रोग, भोक, दुःख, दर्द, अनिकाल, शुभकार्य, साइत निसाफ जस्ता धामी निर्देशन गर्ने परम्पराले जरो गाडेको पाइन्छ । यसको कुरा हालसम्म पनि विश्वास गरेको यसको प्रभाव यथावत् नै छ । विभिन्न द्यौताका विभिन्न अवतारहरु आश्चर्यजनक छन् । विभिन्न शक्तिशाली द्यौताहरु बाह्रैदेव तितरकोटि डिभाइन पावर अफ अदानचुली टभेल्व गड्समा अविभावकको रुपमा मानिने द्यौता मदानु हो । अदानचुली शव्द मदानु द्यौताको तिर्थस्थल हो । अदानचुलीलाई वास्तविक परिचायात्मक रुपमा भन्नुपर्दा मदाना द्यौताको तिथस्थलमा (डिलकेना) ओदानजस्तै जुधेर बसेको तीन वटा ढुंगाको बीचमा थान रहेको छ । यहाँका मानिसहरु परम्परादेखि मान्दै आएका विभिन्न द्यौताहरुमध्ये मदानालाई आफ्नो कुल द्यौता मान्थे । यसै तिर्थस्थलको नामबाट अदानचुली गाउँपालिकाको नामकरण गरिएको हो ।

यहाँका मानिसहरु अझैसम्म पनि भगवानले वा देविद्यौताले मानव शरिर वा त्यसको चोल्न वा आत्ममा अवतार लिन्छ र त्यसको बास बस्छ भनी मानव अवतारवाद (ह्यमन इन्कारनेशन)मा विश्वास गरेका थिए । तल्लो कल्खे र माथिल्लो कल्खे, भण्डारी गाउँ, कुलाला गाउँ, बुढागाउँ, साउबाडा सुनार गाउँ, महतारा गाउँ, फडेरागाउँ, रोकाया गाउँ, गोरपाली, ढकानकना, पाम्स, लौठी, रिल्म, बिगोठी काँखे, बारीगाउँ, करगँइ, पाल्स र लमहीमा अरु बेला विभिन्न अवतारका शक्तिशाली द्यौताहरु माने पनि जेठको दशहरा र साउनको साउने पूर्णिमा मदान द्यौता नै पुुुज्दछन् । किनभने मदानुको अवतार भने जेठको दशहरा र साउनको साउने पूर्णिमा अनिवार्य रुपमा बर्षात् हुनैपर्ने भएकाले अथवा बिदो आकाशबाट पानी पनि पर्छ ।

श्रीनगरको कथा

सबैभन्दा पहिला श्रीनगर श्रीनङ्ग्र्या माचछाडामा बाघको विगविगी थियो रे । श्रीनङ्ग्र्या माचछाडा मुन्स्याल बाघ मार्ने बगौरो थियो रे । त्यो मुन्स्याल बाघले दिनैप्रति मान्छे खानेरहेछ । त्यो बगौरोभित्रको बाघचारो गल्कामा नङ्ग्रयाल (रोकायाकी एउटा कुकुमबुड्यानी) न बुढा भएकी न बच्चाबच्ची भएकी आमा राखेको थिए रे ! श्रीनङ्ग्र्या माचछाडामा बाघको विगविगी थियो रे । बाघचारो कुकुमबुड्यानी कहाँ ठेगाना नभएका अजु र जजु भन्ने मान्छेहरु अबेला राती गल्काको गाउँमा आउनुभएछ । अजु र जजुले बाघचारो कुकुमबुड्यानीलाई ओ हजुर यता वास पाइन्छ कि ? भनेर सोध्नुभएछ । ओहो वा ! वास त किन नपाइनु यता त मुन्स्याल बाघ लाग्छ, त्यो बाघले गर्दा धेरै नै दुख दियो त्यही भएर सबै मान्छेहरु यो गाउँबाट भागिहाले मलाई यहि बाघचारो हालेका छन् ।

ओहो त्यो बाघ कति बेला आउँछ कसरी आउँछ ? ओहो बा बाघ आउने समय ठ्याक्कै थाहा हुन्न बाघ आउने बेला सुरसुर्या हावा लाग्छ सिमसिमे पानी पर्छ झिलिमिली आकास जल्छ अनि मात्र बाघ आयको थाहा पाउछौं । ती अजु र जजुले कुकुमबुड्यानीलाई बाघचारोभित्र राखेछन् । माचछाडाको बगौरोको ढोकामा अजु र जजु भाला तरवार समातेर उभिएका रहेछन् । जे कुरा कुकुमबुड्यानीले बताए अनुसार बाघ आएको संकेत थाहा पाउने बित्तिकै त्यो मुन्स्याल बाघलाई मारेछन् र त्यहि राती अजु र जजु दुवै भाई भागेछन् । कर्गहीको भित्र कर्ग्याइली भन्ने ठाउँमा गएका रहेछन् । दिउँसोतिर अरु गाउँलेहरु बगौरातिर गएछन् ।

यो कुकुम्बुड्यानीलाई बाघले मारेको रहेनछ उल्टै बाघ पो मरेको छ ? भन्दै गाउँलेहरुले जोडदार रुपले कराएछन् खेडेउलो जम्मा भएछन् । ए आम्मै बाघ मार्ने कोहो ? फेरि बाघको नाक कान नै छैन त ? त्यो बेला जुनसुकै जंगली जनावर मारे पनि नाक कान मात्र खाने चलन थियो रे । खै बा बाघ मार्ने को हुन हिजो अबेर राती ठेगाना नभएका दुई जना आएका थिए, तिनीहरु त हैनन् ? अनि तिनीहरु कहाँका हुन् कहाँ गए केही भनेनन् ? नाइ बाघ मार्ने कोहो भनेर खोज्दै खोज्दै गएपछि अजु र जजुलाई कर्गहिको कर्ग्याइलीभित्र भन्ने ठाउँमा भेटिएछन् । भेटिएपश्चात् बाघ मार्ने को हो हजुर ? हिजो राती अबेला आउनुभयो रे ? हो बाघ मेरा दुई भाइले नै मारेका हौं अब निझर्को गरि बाँचौला तपाईंहरु।

गाउँले सोधेछन् तपाईं दुई भाईहरु कता जानुहुन्छ त ? अब हामी आफ्नै ठेगानातिर फर्किउला । गाउँलेहरुले अजु जजुलाई भनेछन ओ हजुर तपाई यता गल्का गाउमै बस्नुपर्यो । तपाईंहरुको दुइ भाइले गर्दा अब हामी बस्ने भयौं नजानुस्, छिमेकी भएर मिलेर बसौं भनेपछि अजु जजु लगायत सम्पूर्ण मान्छेहरु त्यही गल्का गाउँभित्रका मान्छे र बाहिरका मान्छेहरु आएर बस्न बस्न थालेछन् । अज श्रीनरगरमै बस्न भएछ जज भने सर्केगाड गाउँपालिकाको रिप भन्ने ठाउँमा गएर बसोवास गर्नुभएछ । अदानचलीमा गाउँपालिकामा र सर्केगाड गाउँपालिकामा फडेरा जाति रहन्छन् । अजु र जजु फडेरा जातिका मान्छे हुन् ।

श्रीनगरलाई इतिहाँसमा हेर्दा राई ढुङ्गो श्रीनगर सिसुमास्टी दह हो ! राइढुङ्गाको आकार हातीमुखे जस्तो छ । राईढुङ्गाको मुख मदानुको तिर्थस्थल अदानचुली तिर फर्किएको छ । राई ढुङ्गा शिरे कर्णाली तिरे भनेर पनि अदानचुलीलाई चिन्न सकिन्छ । त्यो बेला श्रीनगरमा चार गाउँ थिए रे ! अहिलेभन्दा पहिला नङ्ग्र्याल रोकाया बसेको हुनाले श्रीनङ्ग्र्या गाउँ भनेर बुझिन्छ । गल्वालाई पहिला (गल्का) भनेर चिनिन्थ्यो गल्का शव्द नेपाली शव्दकोशमा छैन पनि गल्का भनेको माथि अदानचुलीको चुचुरोबाट हिलो गलेको माटो बग्दै आएर श्रीनगरमा थुप्रिएपछि त्यो नगर दह पनि पुरिएर गल्वाको स्थापना भएको पाइन्छ । चार गाउँ गल्भामा सबैभन्दा पहिला बसोबास गर्ने खद्दामी धरालो बटालो हुन् ।

रोकाइली रोकायाको थानवाडा थामीको राइढुङ्गा हाम्रो बसोबास राइढुङ्गा निकटे कर्नाली तिरे । भण्डारी जुम्लाका महतारा कालिकोटका फडेरा जुम्लाका बुढथापा यिनीहरु पछाडि आएर बसोवास गरेको पाइन्छ । भित्त खोला पादा पाल्स कालिकाको मुख्य अड्डा लौठी हो । गोरपालीलाई घोडापाली भनेर चिनिन्थ्यो । गोरपाली घोडा पाल्ने ठाउँ रहेछ । दाहसंस्कारको लागि गल्फागाड मसान पश्चिम दिशाबाट बगिरहेको गल्फागाडमा खोला छ । उत्तर दिशाबाट कर्नाली गाड बगिरहेको छ । खोलाको दायाँबायाँ किनारमा मसानघाट रहेको छ । अनुसन्धान गर्दा दायाँ र बायाँ मसानघाट किन भयो ?

मध्यकालमा अधिकांश मान्छे मर्यो भने जमिनमै गाड्ने चलन रहेछ । उ बेला एकजना दलित जातीको ठुलो राजा मर्नुभएछ । उहाँलाई यत्तिकै जमिनमा गाड्नुहुँदैन कर्नालीमै लिएर दाहसंस्कार गर्नुपर्छ भनेर जानकार भलादमी गाउँलेहरुको सल्लाह भएछ । गल्फागाडको दायाँ मसानघाटमा उनलाई दाहसंस्कार गरेछन् । त्यही रिस गरेर डुम राजाको मसानघाट हामीले प्रयोग गर्नु उपयुक्त हुँदैन भनेर चोखा जातीका मान्छे नङ्ग्र्याल रोकाया मर्नु अगाडी मलाई डुमराजाको दाहसंस्कार गरेको मसानघाटमा मलाइ नजलाइदिनु भन्दै गाउँलेहरुलाई अत्तो दिएछन् । नङ्ग्र्याल रोकाया मरेपछि बायाँ तर्फतिर रहेको मसानघाटमा चोखा जातिका नङ्ग्र्याल रोकायाको दाहसंस्कार गरेछन् । यहि जातिय विभेदको चरमले गर्दा त्यही चलन अझैसम्म रहिरहेको छ । यहि कारण दायाँबायाँ किनारमा मसानघाट रहेको छ ।

तिर्थस्थलको नामबाट अदानचुलीको गाउँपालिकाको नामकरण गरिएको हो । यहाँका मानिसहरुले परम्परादेखि मान्दै आएका विभिन्न देवताहरुमध्ये मदान आफ्नो कुल द्यौता मानेका थिए । मध्यकालको बेला नङर्याल रोकाया खद्दामी धरालो बटालोले मष्टो मदानु काले कङ्काले राजकीय देवताको मान मर्यादा पाएका थिए । ती थानमा राजकीय भ्रमण हुँदा यी द्यौताका धामीझाँक्रीको ठूलो सतभित र न्यायनिसाफ देखेर उनीहरु प्रभावित भएका थिए । पछि पञ्चायतकालमा यस भेगका राजनीतिक चेतना भएका मानिसको नेतृत्वले २००७ साल २०१८ साल २०४६ सालमा मदानु द्यौतालाई शिर्षस्थानमा राखी धार्मिक दृष्टिकोणबाट नामकरण गरि यस भेगलाई राज्यको प्रशासनीक एकाइमा बिभाजन गरि कालिका र श्रीनगर गाविस भनेर राखे । २०६३ सालको राजनीतिक परिवर्तनपश्चात् नेपाल् सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा रुपान्तरण भैसकेपछि सङ्घीयता कार्यान्वयनका लागि देशको प्रशासनीक भूगोलमा समायोजन र एकीकरण गरि संघ, प्रदेश र स्थानीय तहमा विभाजन गरियो । मदानु द्यौताको तिर्थस्थल अदानचुलीको ६ वटा वडाहरुको भू–भागबाट २०७४ सालमा अदानचुली गाउँपालिका नामकरण गरिएको थियो ।

 

(अदानचुलीको वास्तविक ऐतिहासिक कुराका पुराणहरु श्रोत पूर्खाहरुको गौरवमय इतिहासको उदय राइराजा राइकोशा रानी प्यालै राइसिग्या प्यालै लुगा ७० वर्षिय सर्किदेवका धामी रत्न दमाइ पोर्स्या दमाइ धन्जे दमाई जस्ता जानकार मान्छेहरुसँग सोधेर या खोज अनुसन्धान गरेर प्रकाशितमा ल्याएका छौं ।)

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०९:३९