आउँदो शनिबार गणतन्त्र नेपालले तेस्रो राष्ट्रपतिको उम्मेदवार पाउने छ । अहिले सिंगो मुलुकको ध्यान त्यतैतिर तानिएको छ । तर, आज मंगलबार भइसक्दा पनि को–को राष्ट्रपतिको लागि उम्मेदवार हुन्छन् र को निर्वाचित हुन्छन् ?, त्यसको प्रष्ट चित्र छैन । अनुमानको खेतीमा केही सम्भावित नामको बाली लगाउने मिडिया ट्रायल भने जारी छ । राष्ट्रपति कसलाई बनाउने भन्ने ट्रमकार्ड माओवादी अध्यक्ष प्रचण्डसँग छ ।
सात हजार ६४९ मतभार रहेको माओवादीले आफ्नो उम्मेदवारलाई राष्ट्रपति बनाउन नसके पनि एमाले वा कांग्रेसको उम्मेदवार जिताउन त्यो मत निर्णायक रहेको बुझेको छ । त्यही महत्व बुझेका प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको उम्मेदवारको पासा फालेर आफ्नो शक्ति आर्जन गर्ने कसरतमा छन् । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवालाई पनि त्यसको महत्व राम्ररी थाहा छ ।
ओलीको निरन्तर बालुवाटार यात्रा र प्रचण्डप्रतिको नरम बोली त्यसैको परिणति हो । देउवाले त अझ अगाडि बढेर कांग्रेस शीर्षनेताहरूको बटालियन नै बालुवाटारमा उतारिसकेका छन् । सात दलीय सत्ता गठबन्धन भनिए पनि त्यो बन्धन खुकुलो हुँदैछ । गठबन्धनको पहिलो दल एमाले अध्यक्ष ओलीले गठबन्धनको तेस्रो दल रास्वपा र चौथो दल राप्रपासँग हल बाँधेर बालुवाटार पुगेर राष्ट्रपतिमा एमाले उम्मेदवारको पक्षमा जोडबल गरे पनि प्रचण्ड पटक्कै गलिरहेका छैनन् ।
उनी राष्ट्रिय सहमतिको राष्ट्रपतिकै पक्षमा सत्तिसालझै उभिरहेको जस्तो देखिएको छ । प्रचण्डको यो चट्टानी अडानका कारण ओलीले गोजीमा राखिसकेको राष्ट्रपति उम्मेदवारको नाम बाहिर ल्याउन सकिरहेका छैनन् । उनलाई थाहा छ, जुन नाम उनको गोजीमा छ, त्यो नाम प्रचण्डका लागि प्रिय छैन र त्यो नाम लिनेबित्तिकै उनी बिच्कने छन् । त्यसपछि पुस १० गते एक शकुनी दाउमार्फत आफ्नो पक्षमा पल्टाएको सत्ताको पासा अर्कोपट्टि पल्टिनेछ र सत्ताको खेल खतम हुन्छ ।
यो स्थिति बुझेका ओली राष्ट्रपति उम्मेदवारको नाम उम्मेदवारी दिने दिन पुस १३ गते नै सार्वजनिक गर्ने बताइरहेका छन् । उनको यो चालले प्रचण्ड आशंकित छन् र यहीबीचमा पार्टी पदाधिकारीको बैठकमार्फत केही अप्रत्यासित निर्णय गर्ने दिशातिर धकेलिएका छन् । यसका लागि कांग्रेस सभापति देउवाले पटक्कै ढिलाइ नगर्न दबाब बढाएका छन् । कांग्रेसका शीर्ष नेतासहितको पछिल्लो बालुवाटार बैठक पहिलाकै पाँचदलीय गठबन्धन बढी प्राकृतिक हुने निष्कर्षमा पुग्नु पनि त्यसैको परिणाम हो ।
रणनीति फेर्न दबाबमा ओली
यो पछिल्लो परिस्थितिले ओली चर्को दबाबमा धकेलिएका छन् । शायद, अब उनी मनमौजी किसिमले गोजीको राष्ट्रपतिको नाम बाहिर ल्याउन सक्ने अवस्थामा हुँदैनन् । सम्भवतः अब उनी आफ्नो जोजोम्यानलाई राष्ट्रपति बनाउने अडानबाट पछि हटेर पार्टीमा अलि बढी स्वीकार्य नामको पासा फाल्न सक्छन् । त्यो स्थितिले पनि माओवादीलाई कांग्रेसको पक्षमा जानबाट रोक्न नसके उनी माओवादीलाई पनि स्वीकार्य वामपन्थी व्यक्तित्व अगाडि सार्ने स्थितिमा पुग्न सक्छन् ।
त्यो स्थितिमा नेकपा एकीकृत समाजवादीका कुनै शीर्षनेतालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउनु बढी बुद्धिमानी हुने देखिन्छ । ओलीका लागि सबैभन्दा बढी बुद्धिमानी निर्णय त एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नै राष्ट्रपति उम्मेदवार बनाउनु हुनेछ । यसो गर्न सके एमाले र एकीकृत समाजवादीबीचको तिक्तता घट्दै अन्ततः पार्टी एकताको दिशातिर मोडिन सक्छ ।
माओवादी कांग्रेस कित्तामा जाँदैन । फलतः अहिलेकै गबठन्धन जोगिन्छ । यस्तो स्थितिमा मात्र ओलीको फेरि प्रधानमन्त्री हुने सपना साकार हुन्छ । अहिले ओलीको अर्जुनदृष्टि एमाले राष्ट्रपतिजस्तो देखिए पनि उनको लागि प्रधानमन्त्री हुने शर्तमा त्यो गौण हुन्छ । त्यसैले आफू प्रधानमन्त्री हुन उनले प्रचण्डकै चाहनाको नामलाई राष्ट्रपति उम्मेदवारको रूपमा प्रस्तुत पनि गर्न सक्छन् ।
प्रचण्डको रोष्टर र सम्भावनाको खेल
प्रचण्डले प्रस्तुत गर्ने नाममा माधव नेपाल वा डा. बाबुराम भट्टराईको नाम हुनसक्ने प्रवल सम्भावना छ । नेपालको नाम प्रस्तुत गर्दा नेकपामा सँगै हुँदा उनले लगाएको गुन तिर्ने काम मात्र हुँदैन, एकीकृत समाजवादीको साथ र समर्थन पनि माओवादीलाई मिलिरहन्छ । यो साथ तत्कालका लागि मात्र हैन, भविष्यका लागि पनि काम लाग्छ । यसले माओवादी र एकीकृत समाजवादीलाई एकताको बाटोतिर लैजान मार्गप्रशस्त गर्छ ।
तर, नेपालको नाम दिँदा प्रचण्डलाई भारतको साथ र समर्थन नपाइने डर हुनसक्छ । उनलाई यो पनि थाहा छ कि भारतको समर्थनबिना नेपालको सिंहदरबारमा धेरै दिन डेरा बस्न पाइँदैन । यस्तो अवस्थामा राष्ट्रपति उम्मेदवारमा डा. भट्टराई उपयुक्त पात्र हुन सक्छन् । यदि डा. भट्टराईलाई राष्ट्रपति बनाउन सकियो भने एक सहयात्रीको राजनीतिक बिदाइ सुखद् बनाउन सकिन्छ र त्यसबाट माओवादी पार्टीले पनि शक्ति आर्जन गर्छ ।
यसै पनि डा. भट्टराईले आफ्नो सुरक्षित क्षेत्र गोरखा–२ प्रचण्डलाई छोडेर गुनमात्र लगाएनन्, एक किसिमले सक्रिय राजनीतिबाट विश्राम पनि लिइसके । यो पृष्ठभूमिका कारण पनि डा. भट्टराई प्रचण्डको रोष्टरमा छन् । ओलीको कोणबाट पनि यो एक सुरक्षित अवतरण देखिन्छ । यसका ओलीको ढोक्सामा बहुआयामिक फाइदा पर्न सक्छन् । सबैभन्दा ठूलो फाइदा त गठबन्धन जोगिन्छ र अढाई वर्षपछि उनी सिंहदरबार फर्कन्छन् ।
त्यतिबेला राष्ट्रपतिमा डा. भट्टराई हुने भएकाले भारतसँगको सम्बन्ध सहज हुन्छ । उनलाई दक्षिणतिरको शक्ति सन्तुलनका लागि अतिरिक्त समय खर्चनुपर्दैन । यो गठबन्धन कायम राखिराख्दा अर्को चुनावमा सहगोत्रीय वामपन्थी गठबन्धन बन्न सक्छ । त्यसले देशलाई वैचारिक आधारको राजनीतिक ध्रुवीकरणतिर लैजान पनि सहयोग नै पुर्याउँछ ।
ओलीले त्यसै गर्लान त ?
ओली नेपाली राजनीतिमा आफूलाई केन्द्रमा राखेर निर्णय गर्ने अनिश्चयका आँधी हुन् । उनको पृष्ठभूमिलाई हेर्दा आसन्न राष्ट्रपति निर्वाचनमा अहिले नै ओलीले यसै गर्लान् भन्न सकिने स्थिति छैन । भन्न त एमालेको पार्टी निर्णय भनिन्छ । तर, एमाले नै ‘बामाले’ भएको यतिबेला त्यो पार्टीमा ओलीले जे भन्छन्, त्यही हुने हो । अरू कसैको दैया चल्नेवाला छैन, सबै उनको निगाहमा चल्ने हुन् ।
त्यसैले जे भए पनि अबको नेपाली राजनीतिको दशा र दिशा ओलीले राष्ट्रपति उम्मेदवारका सन्दर्भमा लिने निर्णयमै भरपर्ने देखिन्छ । ओलीले मेरो गोरूको बाह्रै टक्का गरे भने वर्तमान सत्ता गठबन्धन भत्कने र त्यसले नेपाली राजनीतिको पाँच वर्षे कोर्ष नै अर्को दिशातिर मोडिन्छ । ओलीको भागमा अहिलेसम्म परेका संघीय र प्रदेशसभाका सभामुख वा उपसभामुख मात्र बच्ने हुन् । अहिले एमालेको ढोक्सामा परेका काठमाडौंको सिंहदरबारदेखि प्रदेशका सिंहदरबार पनि बाहिरिने छन् ।
र, सम्भवतः एमालेका लागि धेरै टाढा–टाढासम्म पनि सत्ता देखिँदैन । राजनीति सत्ताकै लागि मात्र हो भन्ने भाष्य बन्दै गएको नेपालमा ओलीले यति ठूलो जुवा खेल्लान् जस्तो लाग्दैन । तर, ओली अनुमान बाहिरका ढोक्सा–खेलाडी भएकाले यसै भन्न पनि सकिँदैन । यद्यपि, यसअघि संसद् विघटन, नेकपा विघटन, एमाले विभाजनलगायतमा जुवा खेल्दा लागेका कहिल्यै निको नहुने घाउले अहिले पनि उनलाई पोलिरहेकै छन् ।
अब के होला ?
अहिलेसम्मको आन्तरिक राजनीतिक परिस्थिति र बाह्य चलखेल दुवै हेर्दा ओलीको गोजीको राष्ट्रपति हुने सम्भावना टरेको जस्तो देखिएको छ । अझ त्यतिमात्र होइन, राष्ट्रपतिका सम्भावित नामहरूको रोष्टर एमालेको कोर एरियाबाट बाहिर पुग्यो भन्दा पनि फरक नपर्ने दृश्य देखिँदैछ । यतिबेला राष्ट्रपति उम्मेदवारको रोष्टरमा चार नाम शीर्षपंक्तिमा देखिन्छन्, प्रजातान्त्रिक खेमाका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला अनि वामपन्थी खेमाका माधव नेपाल र डा. बाबुराम भट्टराई ।
यदि कुनै नाटकीय परिवर्तन भएन भने यी चारमध्ये कुनै एक नाम नै नेपालको तेस्रो राष्ट्रपति हुने सम्भावना बढ्दो छ । तर, सम्भावना उक्लेर जहाँ पुगे पनि त्यसलाई कहीँबाट पनि ओराल्ने क्षमता फेरि पनि प्रचण्ड, ओली र देउवाले राख्छन् । ओलीको गोजीको उम्मेदवारमा प्रचण्ड सहमत भए भने सबै खेल त्यही बिन्दुमा सकिन्छ र उही व्यक्ति नेपालको तेस्रो राष्ट्रपति हुन्छ । तर, त्यसमा प्रचण्ड सहमत भएनन् भने अर्को सम्भावनाको खेल सुुरू हुन्छ ।
त्यतिबेला ओलीले प्रचण्ड सहमत हुने नाम दिन सक्छन् या प्रचण्डले ओली सहमत हुने नाम दिन सक्छन् । यी दुवै सहमत हुनसक्ने नामको रोष्टरमा पुग्दा माधव नेपाल वा डा. बाबुराम भट्टराईसम्म पुग्न सकिन्छ । जब यो स्थितिमा प्रचण्ड र ओली पुग्दैनन्, तब प्रचण्ड र देउवाको खेल सुरू हुँदा कांग्रेसको रोष्टर खुल्ने हो । त्यतिबेला देउवा लगभग निर्णायक अवस्थामा हुन्छन् र उनले अघि सारेकै उम्मेदवार राष्ट्रपति हुने सम्भावना बढ्छ ।
यो स्थितिमा रामचन्द्र पौडेलको पल्ला भारी हुनसक्छ । तर, भारतीय पक्ष निर्णायक हुने स्थिति आयो भने त्यतिबेला कृष्णप्रसाद सिटौला भारी हुन सक्छन् । प्रचण्डलाई पनि पौडेलभन्दा सिटौला नै बढी ग्राह्य हुन्छन् । यस्तो स्थितिमा सिटौला नेपालको तेस्रो राष्ट्रपति हुने दिन नआउला भन्न सकिन्न । तर, यी सबै सम्भावनाका खेल हुन् । नेपालको राजनीति सम्भावनाको खेल अनुसार चल्दैन । पार्टी नामका तीन ठूला प्राइभेट कम्पनीका हाकिमले जे चाहन्छन्, त्यही हुने स्थिति छ ।
कसैले चाहे पनि नचाहे पनि नेपालको राजनीति देउवा, ओली र प्रचण्डकै वरिपरि घुमिरहेको छ र कम्तीमा पनि आउँदा पाँच वर्ष उनीहरूमध्ये कुनै दुईले जे चाहन्छन्, त्यही हुन्छ । यतिबेलासम्म ओली र प्रचण्ड मिलेर कार्यपालिका र व्यवस्थापिकाको प्रमुख बाँडेर लिए, राष्ट्रपतिको पद लिने बेलामा एउटाको पोल्टामा बढी शक्ति जाने भयो भन्ने चिन्ता अर्कोलाई हो । यो चिन्ताको समाधान गर्न यी दुई नेता सहमत भए भने कुरै सकिगो, सहमत भएनन् भने प्रचण्ड र देउवा मिलेर राष्ट्रपतिको निर्णय गर्छन् ।
यो सबै दुरावस्थाका लागि यी तीन नेतालाई मात्र गाली गरेर पुग्दैन, खण्डित जनादेशमार्फत् त्रिशंकु संसद् दिने जनता पनि उत्तिकै जिम्मेवार छन् । त्यसमा हाम्रो देशको मिश्रित निर्वाचन प्रणाली पनि उत्तिकै जिम्मेवार छ । प्रस्तुत पृष्ठभूमिमा हामी सबै यस्तै परिणामका लागि अभिसप्त छौं । जे होस् अर्को साता मुलुकले तेस्रो राष्ट्रपतिको सम्भावित बिजेता पाइसकेको हुनेछ । कामना गरौं, प्रचण्ड र ओलीमा सद्बुद्धि आउने छ जसले गर्दा राष्ट्रपतिको पदीय गरिमा कायम राख्ने एक सत्पात्र गणतन्त्र नेपालले राष्ट्रपतिका रूपमा पाउने छ ।
डा.प्रदीप भट्टराई । काठमाडौं