सूचनाको शक्ति - The Power Of Information

        

डीएसपी बिष्ट र बमलाई कारबाही सिफारिस

यातायात मजदुरले बालाजुमा गरेको प्रदर्शनका क्रममा लापरबाही गरेको भन्दै २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई कारबाही गर्न सिफारिस भएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिले बालाजु बृत्तका डीएसपी रविन बिष्ट र सोह्रखुट्टे बृत्तका डीएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो ।

दुवै जनाको जिम्मेवारी निर्वाह चित्तबुझ्दो नभएको छानविन समितिले सोमबार बुझाएको प्रतिवेदनमा उल्लेख छ । बालाजुका डीएसपी बिष्ट भने यसअघि नै त्यहाँबाट रानीपोखरी तानिएका छन् । सोह्रखुट्टेका डीएसपी भने अझै त्यहीँ कार्यरत छन् ।

ट्राफिक प्रहरीले लगाएको जरिवानाको विरोध गर्दै यातायात व्यवसायीले गरेको प्रदर्शनले उग्र रुप लिँदा प्रहरी वृत्त, बालाजुका दुई वटा भ्यान जलाइएको थियो भने ४० बढी प्रहरी घाइते भएका थिए । यस्तै ल्होत्से मलमा लुटपाट भएको थियो । प्रहरीको गाडी आगजनी तथा ल्होत्से मल लुटपाटमा संलग्न ४६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार ०८:१३