सूचनाको शक्ति - The Power Of Information

        

आफन्तको हेलापछि एक वर्षदेखि ओढारमा बास

बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । सडक छेउको ओढारमा बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले ढुङगेयुगजस्तै एक वर्षदेखि ओढारमै आश्रय लिएका छन् ।

छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको राहुलले बताए । ‘शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरेँ,’ उनले भने, ‘उमेर घर्किएपछि गाउँ फर्कँदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओढारमा बस्नुपरेको हो ।’

राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गरेका छन् । सो ओढार बेनी बजारबाट करिब एक किलोमिटर नजिकको दूरीमा छ । सडकको कान्लामाथिको सानो ओढारमा फाटेका कपडा ओछ्याएर सुत्ने गरेका छन् ।

शारीरिक कमजोरीका कारण श्रम गर्न सक्दैनन् । काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेको आफैँले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेस ढुङ्गानाले बताए । ‘मेरो भैंसी फार्मसँगै जोडिएको ओढारमा बस्न थाल्नुभएको एक वर्षजति भयो,’ उनले भने, ‘काम गर्न सक्दिनँ । मलाई यही ठिक छ भन्नुहुन्छ ।’

ढुङ्गानाको भकारो छेउको गोलभेँडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्छन् । दिउँसोमा घाम लागे पनि रातमा चिसो हावा सिधैँ ओढारभित्र छिर्छ । उनलाई मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ ।

कुरिलाखर्ककी बासिन्दासमेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले राहुललाई ओढारबाट घरमा पठाउने प्रयास गरे पनि नमानेको बताइन् । ‘ओढारमा बसेको देख्नेबित्तिकै खोजीनीति गरेको हो,’ उनले भने, ’अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।’

स्रोत : रासस
प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलवार ०८:०३