वैदेशिक रोजगार विभागले बाइक राइडर र ट्याक्सी ड्राईभरका रुपमा दुबई र कतार जान प्रतिबन्ध लगाएको छ ।
राइडर र ट्याक्सी ड्राईभरका रुपमा दुबई र कतार जाने अधिकांश नेपाली श्रमिकहरु सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासन सम्बन्धी ज्ञान र अनुभवको कमीले समस्यामा परेको भन्दै विभागले त्यसका लागि पूर्वस्वीकृति प्रदान नगर्ने निर्णय गरेको छ ।
विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले दिनहुँजसो विभागमा यस्ता समस्यासहित उजुरी तथा गुनासो आउने गरेकाले उक्त निर्णय गर्नुपरेको बताए ।
आज विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पछिल्लो समय बाइक राइडर र ट्याक्सी ड्राइभर पदमा वैदेशिक रोजगारीको लागि दुबई र कतार मुलुकमा जाने अधिकांश श्रमिकहरु समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिम न्यूनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समयसम्म कामविहीन भई बस्नु परिरहेको छ ।’
त्यस्तै, अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो रकम जरिवाना बुझाउन बाध्य भएको भन्दै उनले उक्त पदको निम्ति मागपत्र प्रमाणीकरण नगर्न पनि दुबई र कतारस्थित नेपाली राजदूतावासलाई अनुरोध गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं