सूचनाको शक्ति - The Power Of Information

        

क्यान्सर निवारण गर्न ‘ग्रिन टी’, अरु के छन् फाइदा ?

ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन् । ग्रिन टी भारत र चीनमा रगत रोक्न, घाउ निको पार्न, पाचन प्रणालीलाई मजबूत पार्न, मुटु तथा मानसिक स्वास्थ्य तथा शरिरको तापक्रम नियमित राख्न औषधिको रुपमा प्रयोग गरिन्छ ।

पछिल्ला अनुसन्धानले ग्रिन टीले तौल घटाउनेदेखि लिएर कलेजोको समस्या तथा टाइप टु डाइबेटिजसम्मका लागि पनि सकारात्मक असर पर्ने पुष्टि गरेका छन् । चिनी नहालिएको ग्रिन टीमा जिरो क्यालोरी हुन्छ । यसमा क्याफिनको मात्र निकै थोरै हुन्छ, उदाहरणका लागि एक कप ब्ल्याक टीमा क्याफिनको मात्रा ५० मिलिग्राम हुन्छ, कफीमा ९५ मिलिग्राम हुन्छ भने ग्रिन टीमा २० देखि ४५ मिलिग्राम मात्र हुन्छ ।

ग्रिन टी संभवतः विश्वमै सबैभन्दा स्वस्थ पेय मानिन्छ जसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट हुन्छन् । यसमा पोलिफेनल्स नामक प्राकृतिक रासायनिक पदार्थ हुन्छन् जसमा क्यान्सर तथा जलन निवारण गर्ने क्षमता हुन्छ । नेशनल क्यान्सर इन्सिच्युटका अनुसार ग्रिन टीमा पाइने पोलिफेनलले ट्युमर घटाउन मद्दत गर्छ र पराबैजनी किरणबाट हुने क्षतिबाट बचाउँछ ।

ग्रिन टी उपभोग बढी हुने देशमा क्यान्सरको दर पनि कम भएको पाइएको छ । तर, क्यान्सर घट्ने कारण ग्रिन टी नै हो कि त्यहाँका मानिसको ज्ञड हो भन्ने बारेमा पनि अझैं पनि स्पष्ट भैसकेको छैन । अध्ययनहरुमा ग्रिन टी उपभोग नगर्नेभन्दा गर्नेमा प्याङक्रियाटिक क्यान्सर हुने सम्भावना ५० प्रतिशत कम भएको पत्ता लागेको थियो ।

ग्रिन टीले महिलाहरुको स्तन, ब्लाडर, पाठेघर, फोक्सो, प्रोस्टेट, छाला तथा पेटको क्यान्सरमा सकारात्मक प्रभाव पारेको पाइएको थियो । अनुसन्धानकर्ताहरुले के विश्वास गरेका छन् भने ग्रिन टीमा पाइने पोलिफेनल तत्वले क्यान्सरयुक्त कोषिकाहरु मार्न सहयोग पुर्याइ बढ्नबाट बचाउँछ ।

सन् २००६ मा अमेरिकन मेडिकल एशोसियसनको जर्नलमा प्रकाशित अनुसन्धानमा निष्कर्ष निकालिएको छ, ग्रिन टीको उपभोग मुटुजन्य रोगबाट हुने मृत्युदरलाई कम गर्नेसँग सम्बन्धित छ । यो अध्ययनका क्रममा ४० देखि ७९ वर्षबीचका ४० हजार जापानीलाई ११ वर्षसम्म अध्ययन गरिएको थियो । दैनिक ५ कपसम्म ग्रिन टी खाने मानिसलाई तुलनात्मक रुपमा मुटुसंबन्धी रोग कम लागेको पाइएको थियो ।

यस्तै, अर्को अध्ययनमा दैनिक १० कपसम्म ग्रिन टी खानेमा कोलेस्टेरोल कम भएको पाइएको थियो, तर, दैनिक ४ कप वा सोभन्दा कम खानेमा कोलेस्टेरोल लेबलमा कुनै परिवर्तन आएको थिएन । अध्ययनहरुले ग्रिन टी सेवन गर्नाले टाइप टु डायबेटिज हुने सम्भावना कम रहेको पाइएको छ । तर, केही अनुसन्धानकर्ताले भने ग्रिन टी उपभोग र डायबेटिजमा कुनै सम्बन्ध नरहेको दाबी गरेका छन् ।

केही अध्ययनमा ग्रिन टीको कारणले तौल घटेको पाइएको थियो, तर, तौल घटाउन ग्रिन टी नै लाभकारी हुने कुरा भने महत्वपूर्ण नभएको केही अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अर्का अध्ययनहरुले ग्रिन टीले दाँतको सडन, छालाको समस्या, आर्थराइटिसजस्ता समस्या समाधान गर्ने पत्ता लागेको छ । पछिल्लो पटक जर्नल अफ द अमेरिकन हार्ट एशोसियसनमा नियमित ग्रिन टी उपभोग गर्नाले स्ट्रोकको खतरा कम हुने उल्लेख गरिएको छ ।

यस्तै, बेलायती अनुसन्धानकर्ताहरुले ग्रिन टीले प्रोस्टेट क्यान्सरविरुद्ध लड्न मद्दत पुर्याउने उल्लेख गरेका छन् । उनीहरुले ग्रिन टीसँगै ब्रोकाउली, बेसार तथा अनारले क्यान्सरविरुद्ध लड्न मद्दत पुर्याउने बताएका छन् । ग्रिन टी तौल कम गर्न, उमेर बढाउन तथा तनाव कम गर्न उपयोगी मानिन्छ, तर छाला र केशका लागि पनि यसले विशेष काम गर्छ ।

अरु के छन् ‘ग्रिन टी’ खानुका फाइदा ?

  • ग्रिन टीमा अनेकौं विविधता पाइन्छ । यसमा एप्पल ग्रिन टी विशेष हुन्छ ।
  • एप्पल ग्रिन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ ।
  • ग्रिन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको रिंकल हटाउँछ । यसका लागि ग्रिन टीको पाउँचलाई पानीमा हालेर पाँच मिनेटजति फ्रिजमा राखी आँखामाथि राख्नुपर्छ ।
  • ग्रिन टीको पानीले शरीरलाई शीतलता प्रदान गर्छ र शरीरलाई विषमुक्त बनाउँछ । ग्रिन टीलाई एक गिलास पानीमा उमालेर आधाजति भएपछि प्रयोग गर्नुपर्छ । यो टनिकलाई हरेक रात सुत्नुपूर्व स्किन टोनरका रूपमा प्रयोग गर्न सकिन्छ । यो तैलीय छालामा प्रभावकारी साबित हुन्छ । यो पानीलाई कुनै पनि फेस प्याक वा हेयर प्याकमा प्रयोग गर्न सकिन्छ ।
  • चिसोमा शुष्क छालाको समस्या हुन्छ । यसका लागि ग्रिन टीलाई पानीमा उमाल्ने, चिसो भएपछि दुई थोपा मह र ग्लिसरिन मिसाएर मुहारमा प्रयोग गर्ने । यसले शुष्क छालामा नेचुरल टोनरको काम गर्छ ।
  • फेसियल स्क्रवमा एक चम्चा ग्रिन टी मिसाउन सकिन्छ । बदामको पेस्ट, ग्रिन टी तथा थोरै दही मिश्रित पेस्टलाई फेस स्क्रबका रूपमा प्रयोग गर्नु लाभदायक हुन्छ ।
  • ग्रिन टीलाई पानीमा उमालेर चिस्याउने । स्याम्पु गरेपछि चिस्याइएको उक्त पानीले केश पखाल्ने । यसले स्केल्पमा पीएच ब्यालेन्सलाई सन्तुलित राख्छ र तैलीय केशको समस्याबाट छुटकारा दिन्छ । यसले चायाँको समस्या समाधानमा समेत सहयोग पु¥याउँछ ।
  • केश झर्ने समस्या छ भने उमालेर चिस्याइएको ग्रिन टी पानी स्केल्पमा लगाई केशलाई सुक्न दिने । यो उपाय सातामा कम्तीमा दुई–तीनपटक अवलम्वन गर्नुपर्छ । यसबाट केश झर्ने समस्यामा राहत प्राप्त हुन्छ ।
  • पेडिक्योर गर्दा कुर्कुच्चा रगड्न जुन स्क्रब प्रयोग गरिन्छ, त्यसमा एक ठूलो चम्चा ग्रिन टी हाल्न सकिन्छ । यसबाट कुर्कुच्चा कोमल एवं सफा हुन्छ ।
  • मनतातो ग्रिन टीमा थोरै नरिवलको तेल हालेर १० मिनेटसम्म आफ्नो हात डुबाएर राखेपछि जैतुनको तेल प्रयोग गरी हातले मालिस गर्दा घामले कालो भएको छाला सफा हुन्छ ।
  • ग्रिन टी हाली उमालिएको पानीलाई चिस्याएपछि त्यसमा कागतीको केही थोपा रस मिसाएर आइसट्रेमा जम्न छोड्ने । सफा मुहारमा प्याक लगाएर धोएपछि त्यसमा ग्रिन टी आइसले विस्तारै मालिस गरेर सुकाउने । यसले तैलीय छालामा नेचुरल एस्ट्रिजेन्टको काम गर्छ ।
  • मुल्तानी माटो, चन्दन पाउडर तथा बदाम पाउडरलाई उमालेर चिस्याइएको ग्रिन टी पानीमा भिजाएर पेस्ट बनाउने । यसलाई मुहारमा लगाएर २० मिनेटपछि पखाल्ने । यो फेस प्याकले शुष्क छालामा विशेष फाइदा पुर्याउँछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १९:१०