सूचनाको शक्ति - The Power Of Information

        

कता मोडिँदैछ राजनीति ?

माओवादीको हातमा सत्ता गठबन्धनको भविष्य, शीर्ष नेताहरु नै सशंकित

माओवादी नेताहरु भन्छन्, ‘बरु सरकार छोड्न तयार हुने तर सत्ता जोगाउन जस्तोसुकै नाममा पनि सहमति गर्ने अवस्था छैन ।’

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा फागुन १० गते सत्ता गठबन्धन भत्किएर पुरानै पाँचदलीय गठबन्धन ब्युँतिने दाबी गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी भइरहेको र राष्ट्रपति चुनावमा काँग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने पनि दाबी गरेका थिए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादी केन्द्रको अडानले सत्ता गठबन्धन धरापमा परेको विश्लेषण भइरहेका बेला काँग्रेसका प्रभावशाली नेताले दिन तोकेर गठबन्धनको मिति तय गर्नुको सन्देश सामान्य थिएन । अन्ततः फागुन १० को मिति नजिकिँदै गर्दा गठबन्धनमा थप दरार पैदा भएको संकेतहरु देखिन थालेका छन् ।

तत्कालीन पाँचदलीय गठबन्धनको नेतृत्वकर्ता नेपाली काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद आफैँले राख्न चाहेपछि पुस १० गते अप्रत्याशितरुपमा अहिलेको गठबन्धन बनेको हो । जसका कारण संघ र प्रदेश सबैतिर प्रतिपक्षी बनेको काँग्रेस घोषितरुपमै गठबन्धन टुटाउने रणनीतिमा छ । त्यसका लागि उसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर सम्बन्ध सुधारको प्रयास गरिरहेको छ भने माओवादीले नेतृत्व गरेको प्रदेशमा पनि सघाएको छ ।

राष्ट्रियसभा उपाध्यक्षमा माओवादीका उम्मेदवारलाई निर्विरोध गराउन उम्मेदवारी नै नदिएको काँग्रेसले सभामुख (एमाले) र उपसभामुख (राष्ट्रिय स्वतन्त्र पार्टी) विरुद्ध भने उम्मेदवार उठाएको थियो । एमालेबाट माओवादीलाई अलग्याएर सत्ता भागबण्डामा सामेल हुने तयारीका साथ प्रचण्डलाई समर्थन गरेको काँग्रेस जुनसुकै हालतमा राष्ट्रपति आफ्नो पोल्टामा पार्न चाहन्छ । त्यसका लागि संसदमा जस्तै निर्णायक भोट लिएर बसेको माओवादीलाई साथमा लिनु उसका लागि अनिवार्य बाध्यता छ ।

यहि पृष्ठभूमिमा काँग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्ड र तत्कालीन पाँचदलीय गठबन्धन पक्षधर माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग लगातार भेटघाट गरिरहेका छन् । राष्ट्रपतिको उम्मेदवारी मनोनयनको दिन नजिकिँदै गर्दा हिजो काँग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । राष्ट्रपतिको निर्वाचनमा आफूलाई सघाउन आग्रह गर्दै सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला बालुवाटार पुगेका थिए ।

भेटमा काँग्रेसलाई राष्ट्रपति दिन प्रधानमन्त्री प्रचण्ड सहमत भएको उच्च जानकार स्रोतले दावी गरेको छ । तर, त्यसअघि प्रचण्ड नेतृत्वको सरकारको निरन्तरतामा काँग्रेसले संस्थागत प्रतिबद्धता गर्नुपर्नेछ । विगतमा काँग्रेसभित्रको आन्तरिक किचलोले गठबन्धन अप्ठेरोमा परेको प्रचण्डको गुनासो सम्बोधन गराउन यसअघि पार्टीभित्र माओवादीसँग सहकार्य गर्न नहुने मत राख्दै आएका गगन थापालाई समेत लिएर देउवा बालुवाटार पुगेका हुन् ।

त्यसक्रममा काँग्रेस नेताहरुले विगतमा आफूहरुबाट गल्ति भएको स्वीकार गर्दै अब प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री बनाएर जाने लिखित प्रतिवद्धता जनाउन तयार रहेको बताएका थिए । त्यसपछि भोलि मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई उपप्रधानसहित गृहमन्त्री बनाउने र क्रमशः यो गठबन्धन भत्काउने आन्तरिक सहमति बनेको स्रोतको दावी छ । समझदारी अनुसार काँग्रेसले रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने र माओवादीले उनलाई भोट हालेर जिताउने छ ।

त्यसपछि एमाले आफैँ सत्ताबाट बहिर्गमन हुने काँग्रेसको बुझाइ छ । तर, माओवादीका नेताहरुले भने हिजोको भेटमा काँग्रेससँग कुनै सहमति नभएको दावी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली स्वयम् गठबन्धन भत्काउने खेलमा लागेको आशंका गरेका छन् । पुस १० गते बालकोटमा सत्ता भागबण्डाको सहमति हुँदा अर्को महत्वपूर्ण राजनीतिक समझदारी पनि भएको थियो । जसमा एमालेले प्रतिनिधिसभा विघटनको बचाउमा सार्वजनिक अभिव्यक्ति नदिने र माओवादीले पनि संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन नभन्ने आपसी समझदारी थियो ।

तर, ओलीले संसद बैठकमै प्रतिनिधिसभा विघटनको बचाउ गर्दै त्यसको पक्षमा चर्को अभिव्यक्ति दिएपछि माओवादीपंक्ति सशंकित छ । यहि बिन्दुबाट गठबन्धनमा अविश्वास सृजना भएको माओवादीका नेताहरु बताउँछन् । एमाले नेताहरुले भने पुस १० मा शक्ति भागबण्डाको सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गर्दै आए पनि त्यसअघि भएको राजनीतिक समझदारीको कुरा बाहिर ल्याएका छैनन् । प्रधानमन्त्री प्रचण्डले हालै सम्पन्न पार्टी स्थायी समिति बैठकमा उक्त प्रसंग उप्काएर एमाले अध्यक्षले आफूलाई धोका दिएको बताएका थिए ।

बैठकमा क्याबिनेट गठन, मन्त्रालय भागबण्डालगायतमा ओलीले आफूलाई अप्ठेरोमा पारेको प्रचण्डको भनाइ थियो । सत्ता साझेदार दलहरुबाट एक–एक जना समेटेर पहिलो चरणमा सानो आकारको क्याबिनेट गठन गर्ने अघिल्लो दिनको सहमति ओलीले भोलिपल्टै तोडेको गुनासो प्रचण्डले बैठकमा सुनाएको माओवादीका एक जना सचिवले बताए । उनका अनुसार पुस ११ गते प्रधानमन्त्रीसँगै विष्णु पौडेल, नारायणकाजी श्रेष्ठलाई शपथ खुवाउने ओली र प्रचण्डको सहमति थियो । तर, ओलीले एमालेबाट चार जनाको नाम दिए ।

त्यस्तै, रवि लामिछानेलाई गृहमन्त्री बनाउन पनि ओलीले अनावश्यक दबाब दिएको र अदालतको फैसलाले उनी पदमुक्त हुँदासमेत पुनः गृहमा फर्काउन दबाब बढाएको प्रचण्डको गुनासो थियो । यसरी ‘पहिलो गाँसमै ढुंगा’ लागेपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा अडान लिएको जानकारहरु बताउँछन् । यसै पनि हालका राष्ट्रपतिको भूमिकाप्रति माओवादी असन्तुष्ट रहँदै आएको थियो । माओवादीको पछिल्लो केन्द्रीय समिति बैठकमा विगतमा राष्ट्रपतिले खेलेका भूमिकाबारे सदस्यहरुले असन्तुष्टी जनाएपछि प्रचण्डले त्यस्तो गल्ति नदोहोर्याउने प्रष्ट कुरा राखेको एक केन्द्रीय सदस्यले बताए ।

बैठकमा प्रचण्डले पूर्वराष्ट्रपति डा.रामवरण यादव र अहिलेका राष्ट्रपति विद्या भण्डारीको कार्यकालका विवादास्पद घटनाको लामो व्याख्या गर्दै त्यस्तै प्रवृत्तिका पात्रलाई सघाउन नसकिने धारणा राखेको बताइन्छ । ‘बरु सरकार छोड्न तयार हुने तर सत्ता जोगाउन जस्तोसुकै नाममा पनि सहमति गर्ने अवस्था छैन,’ माओवादी नेता भन्छन्, ‘अध्यक्ष कमरेडले अस्तिको बैठकमा पनि यहि भन्नुभएको छ ।’ यद्यपि माओवादीभित्र अहिलेकै गठबन्धनलाई जोगाएर जानुपर्ने मत पनि छ ।

वर्षमान पुनलगायत नेताहरु वामपन्थी पृष्ठभूमिका पात्रलाई राष्ट्रपति बनाएर भए पनि गठबन्धन टुटाउन नहुने लाइनमा छन् । तर, त्यसका लागि एमाले अध्यक्ष ओलीले अघि सार्ने नाम कस्तो हुन्छ, त्यसलाई हेरेर माओवादीले औपचारिक निर्णय गर्नेछ । राष्ट्रपतिबारे छलफल गर्न आज माओवादीले पदाधिकारी बैठक बोलाएको छ । २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्नुपर्ने भएकाले त्यसअघि नै औपचारिक निर्णय गर्न माओवादीको बैठक बस्न लागेको हो । कथंकदाचित गगन थापाले भनेझैँ भएन र फागुन १० गतेको खड्को टर्यो भने १३ गते माओवादीले कसलाई समर्थन गर्छ त्यसले नै गठबन्धनको भविष्य टुंगो लाग्नेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १८:१२