सूचनाको शक्ति - The Power Of Information

        

जतिपल्ट सेक्स, त्यत्तिपल्ट पिल्स !

‘डाक्टर सा’ब नमस्कार, ‘प्राइभेट पार्ट’मा समस्या देखियो,’ किशोरी खुलेर भन्छिन् । अहिलेका किशोरीहरुले निर्धक्क समस्या भन्न सकेकोमा गाइनोक्लोजिष्ट डा लता बज्रचार्य खुशी हुन्छिन् ।

किनभने आफ्ना समस्या निर्धक्क भन्नसक्नु समाजमा आएको सकरात्मक परिवर्तनको एउटा नतिजा हो भन्ने लाग्छ उनलाई । उनी त्यो उमेरकी हुँदा यस्ता विषय सहकर्मीसँगै गर्न हिचकिचाउने अवस्था थियो ।

प्रजनन वा यौन समस्याले गाँजेर ज्यानै जान अवस्था नआइ मुख खोल्न सकिने अवस्था थिएन । समस्या भन्यो, उल्टै चरित्रमाथि औंला उठाउने डर हुन्थ्यो त्यो समयमा । डा बज्राचार्यसँग जिज्ञासा र समस्या लिएर आउनेमा धेरै युवतीहरु छन् ।

ती युवतीहरु आफ्ना समस्या निर्धक्क भन्दै जान्छन्, ‘प्राइभेट पार्ट’मा चिलायो । दाग देखियो । ब्वाइफ्रेन्डसँग सेक्स भा’थ्यो । पिल्स त खाएँ तर शंका लाइरा’छ । आदि इत्यादि ।

डा.बज्रचार्य चकित पर्छिन्, ‘समाज त निकै अघि बढिसकेछ । मकहाँ समस्या लिएर आउने ५० प्रतिशत युवती त ब्वाइफ्रेन्ड भएको र उसँग सहवास हुने गरेको निर्धक्क बताउँछन् ।’

उनीकहाँ आउनेमा आफ्ना ‘मल्टिपल’ सेक्स पार्टनर भएकाले भविष्यमा यौन तथा प्रजनन समस्या आउँछ कि भनेर सोध्ने पनि छन् ।

सहरी एरियामा बढ्दो प्रजनन तथा यौन स्वास्थ्य शिक्षाले मात्रै डा. लता बज्राचार्यलाई गुहारेका होइनन् । उमेर त्यति धेरै नहुँदै यौन तथा प्रजनन समस्यामा पर्नेको सँख्या पनि बढेको देखिन्छ ।

डा बज्राचार्यलाई सही लाग्छ, ‘सानो समस्या हुने बित्तिकै उपचारका लागि आउँछन् ।’ पीर लाग्छ, ‘विकृतिले हामीलाई नराम्ररी गाँज्दै त छैन ।’

अझ ठूलो संख्यामा त जोशमा होस् गुमाएर कण्डम जस्ता सुरक्षित साधन प्रयोग नगर्ने बढेका छन् । ‘आधुनिकतासँगै आफूलाई ढाल्ने क्रममा असुरक्षित सम्बन्ध स्थापित गर्नुचाहिँ विकृति हो,’ डा. बज्राचार्य भन्छिन् ।

जतिपल्ट सेक्स, त्यत्तिपल्ट पिल्स ‘ब्वाइफ्रेन्डसँग रमाइलो गर्दा गर्दै यौनसम्बन्ध भइहाल्यो । पछि इर्मेजेन्सी पिल्स त लिएकी थिएँ तर पनि शंका लाइरा’छ,’ उनलाई निर्धक्क भन्छन् केटीहरु ।

‘यो उपक्रम महिनौंदेखि दोहोरिएको हुन्छ,’ डा. लता भन्छिन्, ‘यो आकस्मिक गर्भ निरोधक पिल्स हो तर हप्तैपिच्छे ब्वाइफ्रेन्डसँग असुरक्षित यौन सम्बन्ध राखेर हप्तैपिच्छे पिल्स सेवन गर्ने बढेका छन् । यसले साइड इफेक्ट गरेपछि हामीकहाँ आइपुग्छन् ।’

अपुरो जानकारीका कारण यो चक्कीलाई परिवारको नियोजनको साधनको रुपमा प्रयोग गर्ने गरिएको पाइएको उनी बताउँछिन् । उनका अनुसार यसको प्रयोगले गर्भ रहँदैन भन्ने मात्रै बुझाई धेरै किशोरीमा रहेको छ ।

अहिलेको पुस्ताले ज्ञान पाए र स्वतन्त्रता पाए । उनको बुझाईमा यो दुईटै अपुरो भयो, ‘ज्ञान यति मात्रै पाए कि कुन साधनको प्रयोग गर्दा गर्भ रहँदैन र स्वतन्त्रता त्यसलाई मात्रै ठाने कि ब्वाइफ्रेन्डसँग यौन सम्बन्ध राख्नुपर्छ ।’

अहिलेको पुस्ताले फाइदा मात्रै बुझ्ने र त्यसले ल्याउने समस्यालाई वेवास्ता गर्ने गरेको उनी बताउँछिन् छिन् ।

मेडिकल गर्भपतन बढ्दो

असुरक्षित सम्बन्ध बनाएर पछि समस्यामा पर्नेको कहानी यहीँनेर टुंगिदैन । ‘अहिले सहरी क्षेत्रमा अर्काे समस्या बढिरहेको त्यो हो मेडिकल गर्भपतन,’ डा. बज्रचार्यले भनिन् ।

विशेषज्ञको निगारानी र सल्लाहबिनै मेडिकलमा गर्भपतनका औषधि किनेर खाँदा भएका समस्या लिएर पनि धेरै महिलाहरु आफूसम्म आइपुगेको उनी बताउँछिन् ।

सहरी महिलामा अहिले केही सकरात्मक परिवर्तन पनि देखिएका छन् । ‘केही समयअघि आफ्नो दुध बच्चालाई खुवाउँदा ज्यान बिग्रिने पीरले गाइभैंसीको खुवाउने गरेको सुनिन्थ्यो । अहिले भने आफ्नै दुध खुवाउनेहरु धेरै छन्,’ उनले भनिन् ।

पेटको सौन्दर्यको पीर गर्भवती अवस्थामा र त्यसपछि आफ्नो सौन्दर्यमा कमी आउने पीरले भने महिलालाई छाडेको छैन । अनुहारको चायाँपोतासँगै पेटको सौन्दर्य बिग्रेकोमा पीर गर्ने धेरै छन् ।

उनका अनुसार पेटको केही अंश देखाएर सारी लगाउने चलन आएकाले पेटको सुन्दरताको चिन्ता गर्ने बढेका हुन् । ‘विशेषगरी गर्भावस्थामा पेटको छाला तन्किँदा सेता धर्साहरु देखिने भएकाले ती कसरी मेट्ने भनेर आउने धेरै हुन्छन्,’ डा. बज्रचार्य भन्छिन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १७:२४