सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेश सरकार

‘लुम्बिनीमा मन्त्रालय बढाउँदै, मन्त्री थप्दै’

एक महिनामै लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको संख्या बढाएका छन् । जसपा सरकारमा आएसँगै एमाले मन्त्रीलाई जगेडामा राखिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको संख्या १० भन्दा नबढ्ने दाबी गरेको एक महिनाभित्रै मन्त्रालयको संख्या बढेको छ । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको जनता समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै मन्त्रालयको संख्या १० बाट बढेर ११ पुगेको हो ।

जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेसँगै मन्त्रालयको संख्या बढेको हो । सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जसपा दलका नेता अहिरलाई मन्त्री नियुक्त गरेका हुन् ।

जसपालाई सरकारमा मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाइएको हो । एक साताअघि कृषि मन्त्री बनाइएका एमालेका तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालय हेर्नेगरी राखिएको सरकारका प्रवक्ता चेतनारायण आचार्यले बताए ।

उनले भने, ‘पहिला १० वटा मन्त्रालय बनाउने गरी सहमति भएको थियो तर अहिले मन्त्री नबनाई नहुने अवस्था आयो । एउटा मन्त्रालय बढाउनु परेको छ ।’ यसअघि लुम्बिनी प्रदेशमा १२ वटा मन्त्रालय थिए । एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाएर चर्चा पाए पनि एक महिनाभित्रै मन्त्रालय फेरि बढाएपछि आलोचना हुन थालेको छ ।

लुम्बिनी प्रदेशका ११ मन्त्रालयमध्ये एमालेका मुख्यमन्त्रीसहित पाँच, माओवादीका तीन, जनमत पार्टीका एक, राप्रपाका एक र जसपाका एक जना मन्त्री छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति र लोसपा सरकारका जाने विषय पनि चर्चामा रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १७:०२