विश्वकै ठूलो जल स्थानान्तरण परियोजना चीनमा, दक्षिणको पानी उत्तरमा
सत्यपाटी संवाददाता । काठमाडौं
चीनको सबैभन्दा ठूलो जल स्थानान्तरण आयोजनाको पहिलो चरण सम्पन्न भएको छ । हुपेई प्रान्तको तान्जियाङकोउ शहर नजिकै सुरुङबाट दोस्रो चरणमा भूमिगत जल स्थानान्तरण गर्ने कार्यको शुभारम्भ भएको छ ।
सुरुङ तीन घाँटी जलविद्युत परियोजना क्षेत्रबाट याङ्जी नदीको सहायक नदी हान्जियाङमा पानी पुर्याउने आयोजनाको मुख्य भाग हो । अघिल्लो वर्षको जुलाईदेखि आयोजनाको काम अघि बढाइएको बताइएको छ ।
दक्षिणको पानी उत्तरी भेगमा पुर्याइने परियोजनामा सुरुङको लम्बाइ १९४ दशमलव तीन किलोमिटर लामो छ । यसपछि तुलनात्मक रुपमा सुख्खा क्षेत्र मानिएको चीनको उत्तरमा बाह्रैमास पानी आपूर्तिको सुनिश्चितता हुने विज्ञहरुले बताएका छन् ।
साथै, यसले जल भण्डारण क्षमताकोसमेत विकास गर्ने जनाइएको छ । सुरुङमार्गबाट नदीको पानी लैजाने कार्य आयोजनाको मध्यभागमा पर्छ । निर्माण कार्यमा संलग्न प्राविधिकहरुका अनुसार लामो सुरुङ खन्ने कार्य दुबैतर्फबाट भइरहेको छ ।
यसलाई २६ भागमा बाँडेर काम थालिएको उनीहरुले बताए । चिनियाँ अधिकारीहरुका अनुसार यस प्रकारका निर्माणकार्यमध्ये चीनको निर्माणाधीन परियोजना सम्भवतः विश्वकै सबैभन्दा विशाल हो ।
सत्यपाटी संवाददाता । काठमाडौं