सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा एआइजी दरबन्दी खाली

प्रहरीमा को बन्ला आइजीपी ? को–को छन् प्रतिस्पर्धामा ?

सबै डीआइजीहरू पहिलो ‘लट’मै एआइजी बन्न लागिपरेका छन् । शक्ति केन्द्र र सत्तारूढ दलका नेताका घरमा समेत डीआइजीहरू दौडधुपमा सक्रिय छन् ।

नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रिक्त छ । तर, बढुवा प्रक्रिया अगाडि बढाइएको छैन । बढुवाका लागि गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो दिएका छैनन् । आइजीपी धीरजप्रताप सिंहले पनि सक्रियता नदेखाएको डीआइजीहरूको गुनासो छ ।

सरकारको नेतृत्व गर्ने पार्टीले आफूअनुकूल पात्रलाई आइजीपी नियुक्त गर्ने गरिएको छ । प्रहरी नियमावलीमा तीन महिनाभन्दा बढी समय पद रिक्त गर्न नहुने व्यवस्था छ । तर, गएको साउनदेखि एआइजी दरबन्दी रिक्त छ । अहिलेका डीआइजीमध्ये एआइजी हुने ब्याचका अधिकारीले नै आउँदो चैतमा प्रहरीको ‘कमान्ड’ सम्हाल्नेछन् ।

हालका आइजीपी सिंहका ब्याची एआइजी विश्वराज पोखरेलले गएको साउनमै अवकाश पाएका थिए । यस्तै, मुकुन्द आचार्य, अरुण बिसी र रवीन्द्रबहादुर धानुकले उमेर हदका कारण अवकाश पाइसकेपछि उनीहरूको स्थानमा अरूलाई बढुवा गरिएको छैन । आइजीपीकै ब्याचका डीआइजीत्रय नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ बढुवा हुने क्रममा छन् ।

एआईजीको दरबन्दी खाली हुँदा समेत बढुवा नगरिएको प्रति उनीहरूले गुनासो गर्दै आएका छन् । बहालवाला एआइजी पूजा सिंहले यही फागुनमा अवकाश पाउनेछन् । एआइजी सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले आउँदो चैत १२ मा आइजीपी सिंहसँगै अवकाश पाउनेछन् । जनपदतर्फ २० डीआइजीको दरबन्दी छ ।

सबै डीआइजीहरू एआइजी बन्ने दौडमा छन् । आइजीपीका ब्याची डीआइजी बने पनि उनीहरूले आइजीपी सिंहसँगै अवकाश पाउनेछन् । यस्तोमा जुनियर ब्याचका डीआइजी एआइजी बने चैतमा आइजीपी बन्ने सम्भावना बलियो हुनेछ । प्रहरीभित्र ३० वर्षे सेवा हद हटाइने चर्चा छ । यस्तो भएमा हालकै आइजीपी सिंहको कार्यकाल लम्बिनेछ ।

अहिलेकै अवस्था कायम रहेमा डीआइजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ र किरण राणामध्येबाट एकजना आइजीपी बन्नेछन् ।

तर, चैत १२ सम्म पनि एआइजीमा बढुवा नभए डीआईजीबाटै एकजना आइजीपी बन्नेछन् । प्रहरीभित्रै एक समूह तत्काल एआइजी बढुवा गर्नुपर्ने ‘लबिङ’मा छ । अर्को समूह तत्काल रोक्नुपर्ने लबिङमा छ । बढुवाका लागि विभिन्न शक्ति केन्द्रको चासो र दबाब समेत हुने गरेको छ । त्यसैले सबै डीआइजीहरू पहिलो ‘लट’मै एआइजी बन्न लागिपरेका छन् । शक्ति केन्द्र र सत्तारूढ दलका नेताका घरमा समेत डीआइजीहरू दौडधुपमा सक्रिय छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १७:३८