सूचनाको शक्ति - The Power Of Information

        

विश्वप्रकाश शर्मा आफैले भेटेनन् पोलिटिक्सबाट रिटायर हुने तिथि !

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली राजनीतिमा ‘एक्जिट पोलिसी’ नहुँदा अहिलेको विकराल समस्या निस्किएको बताए । कर्णाली उत्सवको कुडा कर्णाली अन्तरगत तेस्रो दिन ‘सग्लो समाज र सङ्लो राजनीति’ सेसनमा शर्माले उक्त भनाइ राखेका हुन् । राजनीतिमा पस्ने ढोका भए पनि निस्कने ढोका नहुँदा शक्ति घट्ने भय नेताहरुमा हुने शर्माको भनाई थियो ।

‘एक्जिट पोलिसी भएन पोलिटिक्समा । यहाँ कसैले विश्वप्रकाश शर्मा पोलिटिक्सबाट कहिले रिटायर हुने ? भन्यो भने मसँग उत्तर हुनुपर्यो नि । हामीसँग त्यो उत्तर भएन,’ उनले भने, ‘मैले भनेको छु । एउटा मान्छे राष्ट्रपति बन्छ भने एकपटकमात्र । प्रधानमन्त्री बन्छ भने पटक तेहेर्याउने हैन । मन्त्री बन्छ तीनपटक बनोस् । सांसद बन्छ भने चार पटक । त्यसो भए ७० वर्ष पुग्यो भन्नै पर्दैन । ६० वर्षमै रिटायर हुन्छ ।’

रिटायर समय तोकिए शक्तिमा बस्न न्यायालयदेखि विभिन्न आयोगमा आफ्नै मान्छे चाहिने भन्ने भय हट्ने उनको भनाई थियो । ‘आउने ढोका थाहा छ फर्किने कसरी थाहा छैन । त्यसपछि भय हुन्छ,’ शर्माले भने, ‘पावरमा बस्न रुचाउँछ । न्यायालयमा मेरै मान्छे चाहियो । अख्तियारमा मेरै मान्छे चाहियो भन्ने छ । निर्वाचन आयोगमा मेरो मान्छे चाहियो । सर्टेन टाइममा म रिटायर हुन्छु भन्यो भने त्यो भय हुन्न ।’

शर्माले कर्णालीबाट काठमाडौंले धेरै कुरा सिक्न सक्नेसमेत बताए । ‘कर्णालीबाट काठमाडौंले दुईटा कुरा सिक्न सकिन्छ,’ उनले भने, ‘त्यो हो संयम र संघर्ष । नेपाल देशमा आत्महत्या गरेको रेकर्ड हेर्ने हो भने वाग्मती प्रदेशमा धेरैले गरेको पाउनुहुन्छ । काठमाडौंमा सबैथोक हुँदाहुँदै काठमाडौंमा किन भइरहेको छ । तर कर्णालीमा संयमतासाथ बाँचिरहेको छ ।’

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १७:०९