सूचनाको शक्ति - The Power Of Information

        

दिनभरीका ‘अभियन्ता’, साँझ परेपछि लुटेरा !

फागुन १ गते काठमाठौंको माछापोखरी, बालाजु र गोगंबुलगायत क्षेत्रमा तोडफोड, आगजनी तथा मोबाइल लुटपाटमा संलग्नलाई प्रहरीले पक्राउ तथा खोजी गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

तीन वटै टोलीले अहिलेसम्म ४५ जनाभन्दा बढीलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दा र आपराधिक उपद्रव गर्न नहुने कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । त्यस्तै, सामाजिक सञ्जाल, सीसीटीभी फुटेजलगायत विभिन्न प्राविधिक पक्षको सहयोगमा पक्राउ गर्ने क्रम जारी रहेको पनि प्रहरीले जनाएको छ ।

‘हाम्रो टोलीले विभिन्न कोणबाट अनुसन्धान गरेर नियन्त्रणमा लिने काम भइरहेको छ । पक्राउ क्रम जारी रहेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने । प्रहरीले पक्राउ गरेकाहरूमा गाडीका सहचालकदेखि यात्रु समेत भेटिएका छन् । मजदुरहरूको सङ्ख्या पनि उत्तिकै छ । त्यस्तै, दिनभर अभियन्ता बनेर साँझ परेपछि मोबाइल लुटपाटमा संलग्न भएको पनि खुलेको छ ।

गोङ्गबुस्थित ल्होत्से मलमा तोडफोड तथा मोबाइल लुटपाट भएको थियो । मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमन्ड मोबाइल प्रालि र गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौं सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइल, चार्जर, रिचार्ज, एयरफोन लगायत सामग्री लुटपाट गरेका थिए । पछिल्लो समय प्रहरीले कृष्ण श्रीवास्तव नाम गरेका युवालाई पक्राउ गरेको छ ।

उनी एक आश्रममा हुर्किएको खुलेको छ । उनी सामाजिक अभियन्ता समेत बताउँदै आएका थिए । घटना भएको दिनभर उनी बसपार्क क्षेत्रमा देखिन्छन् । सुरुमा उनले आन्दोलनकारी र प्रहरी दुवैलाई संयम हुन अनुरोध गरिरहेका थिए । आन्दोलनकारीलाई पनि गाडीमा तोडफोड नगर्न तथा ढुङ्गा–मुढा नगर्न अनुरोध गरिरहेका थिए । ‘उसले दिउँसो राम्रो भूमिका खेलेको थियो । आन्दोलनकारीलाई समेत सम्झाएको थियो,’ एक प्रहरी अधिकृतले भने ।

तर, जब मलको मोबाइल पसलमा लुटपाट भयो त्यसपछि उसको अर्कै रूप देखिएको थियो । दिनभर अरूलाई सम्झाउने युवक पसलमा लुटपाटमा संलग्न भएको देखिन्छ । सामाजिक सञ्जालमा दिनभर घटनामा देखाएको भूमिका र त्यसपछि मोबाइल पसलमा भएको लुटपाटमा संलग्न दुवै भिडियोसमेत भाइरल भएको छ । प्रहरीले त्यही भिडियोको आधारमा शुक्रवार पक्राउ गरेको हो ।

हुलियाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । केहीले भने हुलिया फेरेर पनि मोबाइल लुटपाटमा संलग्न भएको देखिएको छ । तर, पसलबाट चोरी भएको कुनै पनि सामाग्री उनको साथबाट भेटिएको छैन । अहिलेसम्म प्रहरीले पक्राउ गरेका व्यक्तिबाट चोरीका सामाग्री सोचे अनुसारको बरामद गर्न सकेको छैन ।

चोरी गरेको सामान बिक्री गरिसेको पनि हुनसक्ने वा अन्य कारण केही हुनसक्ने आशङ्कामा अनुसन्धान गरिरहेको छ प्रहरी । केही व्यक्तिले आफन्तलाई चोरेको मोबाइल उपहार समेत दिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । प्रहरीले सामाजिक सञ्जालमा भाइरल भएका भिडियोको आधारमा कुसैले कुनै व्यक्तिलाई चिनेको खण्डमा प्रहरीलाई जानकारी दिन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १७:०१