सूचनाको शक्ति - The Power Of Information

        

एक वर्षमा २२७ जना सुत्केरीलाई पोषणभत्ता

लमजुङको सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषणभत्ता वितरण गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७८–०७९ को साउनबाट लागु हुने गरी ल्याएको सुत्केरी महिलालाई पोषणभत्ता वितरण कार्यक्रम अन्तर्गत गत वर्ष २२७ जनालाई पोषण खर्च वितरण गरेको हो ।

अन्य समयमा भन्दा सुत्केरी अवस्थामा महिलाहरुलाई बढी मात्रामा सन्तुलित भोजन तथा पोषणयुक्त खानको आवश्यक पर्ने हुँदा गरिब तथा विपन्न परिवारलाई लक्षित गरी उक्त कार्यक्रम ल्याइएको बेसीशहर नगरपालिकाले जनाएको छ ।

सुत्केरी अवस्थामा महिलाहरुका लागि पौष्टिक आहारको महत्त्वबारे सचेतना जनाउने उद्देश्यसहित ल्याइएको यस कार्यक्रमअन्तर्गत नगरपालिकाले बेसीशहर नगरपालिकामा स्थायी बसोबास गर्ने सुत्केरी महिलालाई तिन हजार रुपैयाँ भत्ता वितरण गरेको हो ।

नगरपालिका स्वास्थ्य शाखामार्फत वडा–वडाको स्वास्थ्य संस्थासँग समन्वयमा सुत्केरी महिलाको विवरण संकलन गरी ६–६ महिनामा भत्ता वितरण गर्ने गरेको बेसीशहर नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज सिङ बोहोराले बताए । गत आर्थिक वर्षमा सबैभन्दा धेरै वडा नं.११ का ३८ जना सुत्केरी महिलालाई भत्ता वितरण गरिएको थियो ।

त्यसैगरी वडा नं. १ मा १८ जना, वडा नं. २ मा २९, वडा नंं.३ मा ३२ जना, वठा नंं.४ र ५ मा पाँच–पाँच जना, वडा नं.६ मा २६ जना, वडा नं.७ मा १८, वडा नं.८ मा ९ जना र वडा नं.१० मा ३५ जना सुत्केरी महिलाहरुलाई तीन हजारका दरले पोषणभत्ता वितरण भएको स्वास्थ्य शाखा प्रमुख बोहोराले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ७९ जना सुत्केरीको विवरण संकलन भएको छ । उनीहरूलाई पनि पोषण खर्च उपलब्ध गराइनेछ । महिला सुत्केरी भए पछि सबै कागजपत्र वडामा बुझाउने र वडाका सिफारिसमा नगरपालिका स्वास्थ्य शाखामार्फत भत्ता उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १६:४७