योजना निर्माणको जिम्मा पाएका ठेकेदारहरूले विभिन्न कारण देखाउँदै विकासे योजना अलपत्र पारेको, ढिलाई गरेको, म्याद मात्र थप्ने काम गरेको, गुणस्तरीय काम नगरेको सुन्दै आएका छौं । यता रुकुम पश्चिममा भने सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि एक मोटरेबल पुल निर्माणको काम शुरु नै भएको छैन । जसका कारण सर्वसाधारणले सास्ती पाउँदै आएका छन् ।
निर्माण कम्पनीको लापरबाहीका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–२ र ४ जोड्ने मेघा पुलको काम शुरु नभएको बताइएको छ । दुई वर्षमै निर्माण सम्पन्न हुने गरी सम्झौता गरिए पनि आठ वर्षसम्म काम नै शुरु भएको छैन । सडक डिभिजन कार्यालय चौरजहारीमार्फत खोलिएको पुल निर्माणको ठेक्का सपना सैलुङ जेभि काठमाडौंले पाएको थियो ।
डिभिजन कार्यालयका इञ्जिनियर सुरेशकुमार बस्यालकाअनुसार उक्त निर्माण कम्पनीले ०७१ साल मंसिर २ गते २०७३ पुस २ मा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । उक्त मितिमा काम नगरेकोले २०७७ पुस १३ गतेसम्मको लागि म्याद थप गरियो । उक्त मिति यता पनि काम शुरु भएको छैन । इञ्जिनियर बस्यालले १२० मीटर लामो आरसिसि पुल निर्माणका लागि १४ करोड ७४ लाख रुपैयाँमा सम्झौता भएको बताए ।
अहिले निर्माण कम्पनी काम गर्छौं भन्दै सम्पर्कमा आएको समेत उनले जानकारी दिए । हालसम्म निर्माणको तीन प्रतिशत मात्रै प्रगति भएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । सानीभेरी गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर पुनले साविक पुर्तिमकाँडा गाविसको फल्याबगर र गरायला गाविसको मेघा जोड्ने गरेर २०७१ मा पुल बन्ने कुरा भएतापनि हालसम्म काम नै शुरु नभएको बताए ।
सानीभेरी नदीमाथि निर्माण हुनुपर्ने उक्त पुल समयमै नबन्दा सर्वसाधारणले सास्ती पाइरहेको छ । पुल निर्माण भएमा मध्यपहाडी सडकमार्गको फल्याबगरदेखि गरायला, रिम्ना, डोल्पा आउजाउमा सहजता हुने वडाध्यक्ष पुनले जानकारी दिए । पुल नबन्दा सर्वसाधारण घण्टौं हिँडेर सिम्ली र रिम्ना पुगी झोलुंगे पुलको सहारा लिन बाध्य भएको उनको भनाइ छ ।
सपना सैलुङ जेभिका प्रोजेक्ट म्यानेजर वशिष्ठनारायण यादवले काम शुरु गर्ने गरेर आफूहरू फिल्डमा आएको बताए । ‘विविध कारणले काम हुन सकेको रहेनछ,’ उनले भने, ‘मलाई यही पुल बनाउन नियुक्ति दिएर कम्पनीले पठाएको छ, हामी जतिसक्दो काम शुरु गर्न लागेका छौँ ।’ विगतमा पायल फाउण्डेशन बनाउनको लागि सानो मेसिनले काम गर्न नसकेको, कोरोना महामारी लगायतका कारण काम शुरु गर्न नसकिएको उनको भनाई छ ।
अहिले फाउण्डेशन निर्माणका लागि रिग मेसिन निर्माणस्थलमा ल्याइएको र सडक डिभिजन कार्यालयसँग काम शुरु गर्नको लागि समन्वय भैरहेको यादवले जनाए । काम शुरु गरेको बहाना गरेर सम्झौताको म्याद मात्र थप्ने बहाना गरेको भन्दै स्थानीयले भने आशंका गरेका छन् ।
सत्यपाटी संवाददाता । रुकुम पश्चिम