सूचनाको शक्ति - The Power Of Information

        

अभिमत

‘म किन गाँजा वैध हुनुपर्छ भनेर चिच्याउँदै आएको छु ?’

आम्दानी चाँडो र ठूलो श्रोत भनेका नेपालका लागि जताततै सजिलै उत्पादन हुने बहुमूल्य गाँजा हो ।

मेरो तीन दशक लामो जागिरको क्षेत्र ग्रामीण पूर्वाधार निर्माणबाट गरिबी निवारण गर्ने रहदै आएको हो । मलाई नेपालमा गाउँसहरमा गरिबी कस्तो छ ? गरिबीका आयाम के के छन् ? समाधान र यसमा ब्यवधान के छन् ? यसको लामो अनुभव छ । धन नहुनु सामान्य किसिमको गरिबी हो, यो भन्दा जटिल गरिबीका पक्ष अरूहरू छन् ।

गरिबी घटाउन राज्यबाट बहुपक्षीय हस्तक्षेप आजसम्म भएन र एकाङ्गी पहल मात्र गरियो । यसरी यसको समाधान कहिल्यै सम्भव हुँदैन भन्ने मैले अनुभव गरेको छु । बेरोजगारी सबैभन्दा ठूलो गरिबी हो । ज्ञान र सूचनामा पहुँच अर्को ठूलो गरिबी हो । धार्मिक, जातीय र राजनीतिक विवाद अर्को ठूलो गरिबी हो । उपयुक्त शिक्षा संस्कार र सिप नहुनु अर्को गरिबी हो । भौगोलिक विकटता अर्को ठूलो गरिबी हो । गरिबीका विभिन्न आयाम छन ।

जिविकोपार्जनको साधन र श्रोत उपलब्ध भयो भने मानिस आफै गरिबीबाट उन्मुक्त हुन पहल गर्दोरहेछ । मैले गाँजाको महिमा गान गर्नुको कारण गाउँगाउँ, कुना काप्चामा स्वरोजगार र रोजगार सिर्जना गर्न हो । स्थानीय स्तरमा बस्तु र सेवा उपलब्झ गराउन हो । शिक्षित अर्धशिक्षित र पढ्न नपाएका सबैका निम्ति काम र रोजगारी स्थानीय स्तरमै सिर्जना गर्न हो । विज्ञान, प्रविधि, पूर्वाधार, शिक्षा र स्वास्थ्यको उपलव्धताका लागि हो ।

आत्मनिर्भर निर्यातमूखि ग्रामीण अर्थतन्त्रका लागि हो । समुन्नत र पर्यावरण संरक्षण र सम्बद्र्धनका लागि हो । गा‘जा हाई भ्यालु, नलेज–बेस्ड क्यास क्रप हो, यो गेट–वे अर्थतन्त्र हो । यससंगै हाम्रा ३–४ हजार बहुमूल्य जडिबुटीको स्वतः सदुपयोग गराएर गाउँ र गाउलेहरू धनी बनाउनका लागि हो । राष्ट्र धनी बनाउनका लागि हो । कृषिको पुनर्जागरण गर्नका लागि हो । यो गाउँको बिकासमा लागेको सबै ताल्चाको मास्टर–की हो । तर मेहनत गर्नुपर्छ ।

बिज्ञान, रिसर्च र प्रविधिको भरपूर सदुपयोग गर्नुपर्छ । कच्चा गाँजा निर्यात हुँदैन, यसबाट बहुमूल्य कम्पाउण्ड र बस्तुहरू उत्पादन गर्नुपर्छ । क्लाइमेट चेन्ज रोक्छ, ग्रीन इकोनमीको सम्बद्र्धन गर्छ र कार्बन क्रेडिटबाट मनग्गै कमाउन सकिन्छ । वन जंगल संरक्षण हुन्छ, माटो संरक्षण हुन्छ । पर्यावरण स्वच्छ हुन्छ, लोकल प्रविधिको परम्परागत ओखती बनाएर प्रयोग गर्दा हाम्रा ७५ प्रतिशत रोगहरू स्वतः छुमन्तर हुन्छन् ।

गाँजाबाट कमाइएको प्रचूर धन शिक्षा, स्वास्थ र जनचेतनामा खर्च गर्नुपर्छ । आजको सबैभन्दा बहुमूल्य श्रोत गुणस्तरीय मानवश्रोत हो । यसका लागि शिक्षा र स्वास्थ्यमा लगानी गरिनुपर्छ । लगानीका लागि आम्दानी गर्नुपर्छ । आम्दानी चाँडो र ठूलो श्रोत भनेका नेपालका लागि जताततै सजिलै उत्पादन हुने बहुमूल्य गाँजा हो । युएनले गाँजा कडा लागूपदार्थ हैन, यो महाऔषधी हो, नियमन गर्दै वैध गर्न सकिन्छ, मुलुकहरू चुक्न हुँदैन भनेर घोषणा गरेको नेपाल सरकारकै समर्थनमा तीन वर्ष नाघिसकेको छ ।

तर निरन्तर आर्थिक संकटबाट गुज्रिरहेको सरकार आफैं तात्नुपर्नेमा विदेशीसँग वर्षेनी खर्बौँ भीख माग्दै, ऋण काढ्दै बसिरहेको छ । सरकारले खर्बौ कमाउन सक्ने र दशौं लाखलाई देशैभर रोजगार दिन सकिने गाँजा खेती र ब्यवसाय वैध गर्ने नीति र कानुन जारी गर्न एक दिन पनि बिलम्ब गर्न हुँदैन । गाँजालाई एक नम्बरमै राखेर आर्थिक प्राथमिकता दिनुपर्छ । चरम बेरोजगार जनताले संघीयताको कागजी सेलरोटी हेरेरै चुप नबस्ने दिन आउन अब धेरै छैन्, बेलैमा होस गरून् ।

स्रोत : फेसबुकबाट
प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १५:२८