हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन् । चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि उधारोमा सामानको विवरण तयार गरेर उधारोमा राख्नु परेको हो । चीनले यारी नाका एकतर्फी खुलाएको छ ।
कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल काटे पनि रुपैयाँ असुल हुन सकेको छैन । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडौंमा रहेकाले भन्सार महसुल असुल गर्न उनी काठमाडौं पुगेका छन् ।
सबै व्यापारीसँग उनको काठमाडौंमा सम्पर्कसमेत भइसकेको छ । चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेको र त्यसका एक लाख ८० हजार मात्र असुल भएको थियो भने ८ लाख २० हजार रुपैयाँ असुल गर्न बाँकी छ ।
भन्सार दस्तुर असुल भएको सामानमा खाद्यान्न र लत्ताकपडाको मात्र छ । असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको छ । अब काठमाडौंमै असुल गरेर नगद जम्मा गरिने भएको छ । पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो ।
जसमा ३४ गाडी सामान नेपाल भित्रिएको थियो । जसमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो । हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ ।
सत्यपाटी संवाददाता । हुम्ला