डोल्पाका स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमै बसेर काम नगरी तलब लिने गरेको स्थानीयको आरोप रहेको छ । छार्का ताङसोङ गाउँपालिकामा कर्मचारीहरु स्थानीयबासीको सम्पर्कमा जान असमर्थ हुँदै आएका छन् ।
त्यहाँका प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल अधिकांश समय सदरमुकाम दुनै, सुर्खेत र काठमाडौँमा समय बिताउने गरेको पालिकाका अध्यक्ष सेनांङ गुरुङले बताए । सेवाग्राहीले फोन गरे पनि फोन नै नउठाउने पालिकाका अध्यक्षले नै आरोप लगाएका छन् ।
‘पर्यटन, जलस्रोत, पशुपालन र जडीबुटी छार्का ताङसोङको आधार दीर्घकालिन दृष्टिकोण, सुशासन, गरिबी निवारण र रोजगार भन्ने नारा रहेको यो पालिकामा सरकारी सेवा पाउन सर्वसाधारणलाई सास्ती हुने गरेको छ ।
दुई महिनाअघि काठमाडौं गएका अधिकृत सेजुवाल र पालिकाका कर्मचारीहरु अहिलेसम्म पालिकामा पाइला नटेक्दा सेवा लिने सर्वसाधारणहरु हैरान भएका छन् । त्यस्तै यहाँको स्वास्थ्य सेवा समेत लथालिङग रहेको छ ।
नाम मात्रका स्वास्थ्य संस्था हुँदा दैनिक आम्चीकै भरमा यस पालिकाको उपचार सेवा सञ्चालन हुँदै आएको छ । पालिकामा दरबन्दी रहेका स्वास्थ्यकर्मीहरु सदरमुकाम दुनैदेखि अन्य ठाउँमा व्यक्तिगत काममा व्यस्त हुँदा यहाँका नागरिकले स्वास्थ्य सेवा पाउन नसकेका हुन् ।
सुरक्षित सुत्केरी तथा गर्भ जाँचको रेकर्ड हेर्ने हो भने यो पालिकामा शून्य छ । पालिकामा स्वास्थ्यकर्मी नबस्दा सर्वसाधारणले स्वास्थ्य सेवा नपाएका हुन् । भगवान भरोसामा आम्चीको सहयोगमा सुत्केरी हुने गरेको वडा नं.४ का स्थानीयबासी पालेन बुढाले बताए ।
कात्तिकदेखि फागुनको अन्तिमसम्म यस पालिकामा सबै खालका खोप सेवा समेत बन्द हुने गर्दछन् । चिसोका कारण देखाउँदै स्वास्थ्यकर्मीहरु व्यक्तिगत काममा लागेपछि सबै खोपहरु बन्द हुने गरेका हुन् ।
जनप्रतिनिधिले कर्मचारीलाई कर्मथलोमा बस्न आग्रह गरे पनि नमान्दा आफूहरु हैरान भएको पालिका अध्यक्ष सेनांङ गुरुङले दुखेसो गरे । डोल्पोबुद्ध गाउँपालिकाको हालत पनि छार्काताङसुङ भन्दा काम छैन । यहाँका प्रमुख प्रशासकीय अधिकृत मोवाइल नम्बरसमेत सधैँ अफ हुन्छ ।
यदि फोन लागि हाले पनि उठन मुस्किल हुने गर्दछ । यहाँको सुत्केरी दर र गर्भवती जाँचको संख्य समेत शुन्य छ । अधिकांश कर्मचारीहरु पालिकामा पाइला नटेकी सदरमुकाम दुनैबाट तलव बुझने गरेको जनप्रतिनिधि नै बताउने गरेका छन् ।
मंसिरदेखि फागुनसम्म कर्मचारीहरु व्यक्तिगत काममा लागेका पाइन्छ । अन्य समयमा समेत सदरमुकाम बसेर उपल्लो डोल्पा बसेको कागज बनाइ एक मुस्ट हाजिरी लगाउने गरेको पाइन्छ । यहाँका कर्मचारीको निगरानी, अनुगमनदेखि अन्य सेवा प्रवाहको जाँच मूल्यांकन कसले गर्ने प्रश्न उठ्दै आएको छ ।
सत्यपाटी संवाददाता । डोल्पा