सूचनाको शक्ति - The Power Of Information

        

नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा

नागरिक उन्मुक्तिका सांसद् अरुण चौधरी रिहा भएका छन् । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी जिल्ला कारागार कैलालीबाट रिहा भएको कारागार प्रमुख लालबहादुर बोगटीले जानकारी दिए ।

उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै उनी रिहा भएका हुन् । उनलाई नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता चौधरीले कारागारबाहिर स्वागत गरेकी छन् । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।

उनलाई कैलाली कारागारमा माघ २० गते लगिएको थियो । २०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले उनीसहित तीन जनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । चौधरीले सुनुवाइको मौकासमेत नदिएर फैसला गरेको भन्दै २२ गते उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र २७ मा बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेका थिए । दुवै रिटमा अन्तरिम आदेश भएन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १४:२३