सूचनाको शक्ति - The Power Of Information

        

पर्यटन प्रर्वद्धनमा जोड

ताक्लाकोट नाका खोल्न माग गर्दै साइपालवासी बालुवाटारमा

ताक्लाकोट नाका बन्द हुँदा साइपालवासीले प्रत्येक वर्ष रोजगारी गुमाउँदै आएको भन्दै तत्काल नाका खोल्न माग गरिएको छ ।

नेपाल र चीनको व्यापारिक नाका उरैसाइपाल (ताक्लाकोट) नाकालाई वैधानिक रुपमा खुलाउन साइपालवासीले माग गरेका छन् । व्यापार व्यवसाय गर्न, रोजगारीका लागि जान र पर्यटन प्रर्वद्धन गर्न साइपालवासीले उक्त नाका वैधानिक रुपमा सञ्चालनमा ल्याउन माग गरेका हुन् ।

साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा र उपाध्याक्ष डोल्मा तामाङ्ग लगायत जनप्रतिनिधीहरुले साइपालवासीका लागि मात्र नभएर सुदुरपश्चिम प्रदेश र सिङ्गो देशकै लागि महत्व राख्ने नेपाल र चीनको सीमानाका उरैसाइपाल (ताक्लाकोट) नाकालाई बैधानिक रुपमा खुला गर्न प्रधामन्त्रीसँग माग गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग गाउँपालिकाको एकल प्रयासबाट सम्भव नहुने भन्दै उक्त नाकालाई बैधानिक रुपमा खुला गर्नुपर्ने, साइपालमा जडिबुटी संकलन तथा प्रशोधन केन्द्रको स्थापना गर्नुपर्ने लगायतका ११ वटा विभिन्न योजनाबारे छलफल गरेर पहल गर्न र रकम छुट्याउन माग गरिएको गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङ्गको भनाई छ ।

प्रधानमन्त्री दाहालले उक्त कुरामा आफु सकरात्मक रहेको बताए । अवैधानिक रुपमा आवतजावत हुने उरैसाइपाल (ताक्लाकोट) नाका कोरोना महामारीको समयमा बन्द भएपछि सञ्चालनमा आएको छैन । नाका बन्द हुँदा साइपालवासीले प्रत्येक वर्ष रोजगारी गुमाउँदै आएको भन्दै तत्काल नाका खोल्न माग गरिएको छ ।

मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटक आउन छोडेको र व्यापार व्यवसायसमेत ठप्प भएका कारण बैधानिक रुपमा नाका सञ्चालन हुने गरी पहल गर्न माग गरेको गाउँपालिका अध्यक्ष मानबहादुर बोहराले बताए । उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले सरकारले उरैसाइपाल नाका तत्काल खुलाउन पहल गर्नुपर्ने बताए ।

अझै पनि साइपाल गाउँपालिका सडक सञ्जालसँग नजोडिएका कारण साइपालका स्थानीयले महँगोमा प्रत्येक सामान प्रयोग गर्न बाध्य रहेको बताउँदै उनले सो नाका सञ्चालन भए उपभोग्य सामाग्री, विकास निर्माणका सामान र इन्धन सुपथ मूल्यमा प्राप्त हुने बताए । उनले वर्षौं अघिदेखि साइपालवासीले व्यापार गर्न चीनमा जाने अवसरबाट वञ्चित हुनु परेको बताउँदै नाका बन्दका कारण जिल्लावासीले घाटा बेहोर्नु परेको बताए ।

चीन र नेपाल जोड्ने सबैभन्दा छोटो दुरीको नाका उरैसाइपाल भएको समेत गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले बताइन् । २०७८ साल चैत २८ गते बझाङ सदरमुकाम चैनपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न बझाङ पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली हेलिकप्टरबाट साइपालको भ्रमण गरेका थिए । सोहि कार्यक्रममा बोल्दै उनले उरैसाइपाल नाकालाई बैधानिक नाकाको रुपमा खुलाउने कुरामा एमालेको ध्यान गएको बताएका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १४:०६