सूचनाको शक्ति - The Power Of Information

        

भान्जाभान्जी मामाघर जाँदा पनि सरकारलाई शुल्क !

काठमाडौंको एउटा गाउँ छ जहाँ भान्जाभान्जी मामाघर जान पनि सरकारलाई शुल्क बुझाउनुपर्ने गरेको छ । काठमाडौैंको उत्तरपूर्वी भेगमा पर्ने शिवपुरी राष्ट्रिय निकुञ्जको बीचमा रहेको सो गाउँमा आफन्तहरु जानको लागि पनि सरकारलाई शुल्क बुझाउनुपर्ने बाध्यता रहेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

काठमाडौंको कर्णाली भनेर चिनिने ओख्रेनी र मुलखर्कका बासिन्दाहरु सरकारलाई शुल्क बुझाएर पाहुना बोलाउन बाध्य भएका हुन् । शिवपुरी निकुञ्ज प्रवेश गरेर जानुपर्ने ती गाउँमा बसोबास गर्ने बासिन्दाको लागि प्रवेश शुल्क नलाग्ने भए पनि बाहिरबाट आउने आफन्तहरुले भने शुल्क तिर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

अधिल्लो बुधबार प्रतिनिधि सभामा बोल्दै काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले यो समस्या स्थानीयले भोगिरहेको भन्दै यसको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए । ‘सुन्दरीजलमाथि शिवपुरी आरक्षण क्षेत्र जाने ठाउँमा सुरुमै राखिएको चेकपोस्टले लामो सयमदेखि पैसा उठाउँदै आएको छ,’ सांसद चालिसेले भने ।

उनका अनुसार पाँच वटा गाउँ जान, मामाघर, ससुराली जान पनि पैसा तिर्नुपर्ने अवस्था छ । धार्मिकस्थल मार्गद्वार जान पनि पैसा तिर्नुपर्छ । काठमाडौं क्षेत्र नं.३, गोकर्णेश्वर नगरपालिका सुन्दरीजलबाट ७ किलोमिटरमाथि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको घना जंगलको बीचमा अवस्थित रमणीय ओख्रेनी बस्ती, नुवाकोट र सिन्धुपाल्चोकको सिमानामा पर्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १३:४९