सूचनाको शक्ति - The Power Of Information

        

११ देशका ३४ जना सैन्य अधिकारी किन घुम्दैछन् नेपाली सेनाको जहाजमा ?

नेपाली सेनाले आफ्नो जहाजमा ११ मुलुकका सैन्य अधिकारीहरुलाई राखेर माउण्टेन फ्लाइट गराएको छ । आज बिहान सेनाले एनए ०६२ कासा जहाजमा राखेर ११ मुलुकका ३४ जना सैन्य अधिकारीहरुलाई उच्च हिमश्रृंखलाको अवलोकन गराएको बताइएको छ ।

चालक दलका ६ जनासमेत गरेर ३६ जनालाई माउण्टेन फ्लाइटपछि पोखरा लगिएको छ । उडानमा चिनियाँ जनसेनाका वरिष्ठ कर्नेल लिउ कोचङ र अर्का कर्नेल लु फङ छन् भने अमेरिका र भारतीय सेनाका चार जना सैन्य अधिकारी छन् ।

त्यसैगरी सेनाको विमानमा पाकिस्तान र बेलायतका दुई जना छन् भने जर्मनीका चार, रुसका तीन, दक्षिण कोरियाका दुई, फिलिपिन्सका दुई, सेनेगलका एक जना र नेपाली सेनाका छ जना रहेको सैनिक स्रोतले जनाएको छ ।

नेपाली सेनाका तर्फबाट जर्नेल सुनिलराज विष्ट र सुनिल श्रेष्ठसहितको टोली सहभागी भएको हो । आज बिहान सेनाका दुई वटा हेलिकोप्टरमा भारतीय पूर्वसेनाध्यक्षहरुको टोली मुक्तिनाथ गएको छ । उक्त टोली पनि पोखरा हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

सेनाले हिजो आफ्नो स्थापना दिवसको २६० औं वार्षिकोत्सव मनाएको थियो । ती सबै पाहुनालाई आज माउण्टेन फ्लाइट र मुक्तिनाथ दर्शन गराइएको बताइएको छ । नेपाली सेनाले वार्षिकोत्सवमा विभिन्न देशका शैन्य अधिकारीहरुलाई निम्तो दिएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार १३:३९