सूचनाको शक्ति - The Power Of Information

        

नेताका भाषण : चुनावअघि गाँजा, अहिले बज्यो किसानको बाजा

स्थानीय चुनाव होस् वा प्रादेशिक र संघीय चुनाव नै किन नहोस्, मकवानपुरका सबैजसो राजनीतिक दल र तिनका नेताहरूको नाराको महत्वपूर्ण अंश गाँजा नै बन्यो । त्यसो त मकवानपुरका तत्कालीन प्रतिनिधिसभा २ का सांसद विरोध खतिवडा नै गाँजालाई बैधानिकता दिने अभियानका अभियन्ता नै थिए ।

संसददेखि राजनीतिक कार्यक्रमहरूसम्ममा उनले गाँजाको बैधानिकताबारे प्रश्न उठाइरहे । यद्यपि अहिले उनी सांसद छैनन्, उनलाई पराजित गर्दै अघि बढेका एमालेका महेश बर्ताैलाले पनि ‘भोट’का लागि खतिवडाले उठाएको बिषय अब मेरो जिम्मा भो भन्ने छाडेका थिएनन् । खतिवडाकै सिको गरेर अन्य राजनीतिक दलहरूले पनि चुनावभर गाँजाको बैधानिकताको सवाल उठाए ।

जब स्थानीयदेखि प्रदेश र संघीय सरकार समेत निर्माण भइसक्यो, अहिले गाँजाको बैधानिकताबारे ‘ठाउँ’मा पुगेकाहरूले बोल्न छाडेका छन् । बरु पाक्दै गरेको गाँजा खेतीको नष्ट गर्न धमाधम प्रहरीहरू गाउँ जान थालेपछि प्रहरी र गाँजा किसानबीच वाद विवाद हुने गरेको छ भने नेताहरूलाई गाली गर्नेहरू निरन्तर बढ्दो क्रममा छन् ।

केही दिनअघि गाउँमा प्रहरी टोली पुगेपछि संविधानसभाका सदस्य एवं नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले अमेरिकामा गाँजा खेती गर्न मिल्ने, नेपालमा किन नमिल्ने भन्दै सामाजिक सञ्जालमा प्रहरीले गाँजा फँडानी गरिरहेको तस्वीर राख्दै स्टाटस लेखे । उनले अघि भनेका छन्, ‘कि सीप देऊ, कि रोजगार ।’

राक्सिराङका जनतामाथि सँधै धरपकड किन ? भन्दै उनले आयुर्वेदिक खेतीको बैधानिकताका लागि आवाज उठाएका छन् । गाँजाले बैधानिकता पाउनुपर्ने र यसलाई भरपर्दाे आर्थिक स्रोतको रूपमा विकास गरिनुपर्नेमा मकवानपुरको गाँजाखेती हुनेगरेका स्थानीय सरकारका प्रमुखहरूको पनि माग छ । तर, यसले लय नसमातिदिँदा गाँजा फँडानीका घटनाक्रम दोहोरिरहेका छन् ।

अहिले गाँजा भित्र्याउने सिजनमा प्रहरी गाउँमा पुगेर फँडानी गर्ने र आगजनी गरेको घटनाप्रति स्थानीयबासिन्दाहरूले सामाजिक सञ्जालहरूमा आक्रोश पोखिरहेका छन् । तर, संघ र प्रदेशमा निर्वाचित भएर गएका र मन्त्री समेत भइसकेकाहरूले जिल्लाको चेपाङ र तामाङ बाहुल्यता रहेको क्षेत्रमा हुने गरेको गाँजाखेतीको संरक्षण र गाँजा किसानहरूको सहानुभूतिका लागि एक शब्द पनि ननिकालेको आरोप लाग्ने गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चालू आर्थिक बर्षको हालसम्मको अवधिमा तीन चरणमा गरी गाँजा फँडानीका लागि प्रहरी गाउँ पुगेको छ । तर, गाउँमा गाँजाभन्दा बढी परिमाणमा अफिम खेती विस्तार हुँदै गएको पाइएको छ । तीन चरणमा फँडानी अभियान चलाउँदा १५० बिगाह १० कट्ठा गाँजा नष्ट गरिएको उनले बताए ।

त्यसैगरी अफिम २२३ बिगाह १९० कट्ठा समेत नष्ट गरिसकिएको छ । तीन चरणमा परिचालित प्रहरी जनशक्तिले फँडानी गरेको गाँजा र अफिमलाई सम्बन्धित स्थानमै जलाएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । तीन चरणमा गरी ४०४ जना प्रहरी (४१ जना शसस्त्र प्रहरी समेत) परिचालित भएका थिए । प्रहरीले ड्रोन क्यामेरा समेत प्रयोग गरी पहाडी भेगका कुनाकाप्चामा रहेका गाँजा खेती नष्ट गरेको दाबी गरेको छ ।

यद्यपि हरेक बर्ष झैँ गाँजा फँडानीमा प्रहरीले एकलौटी गरेको, गाँजा किसानसँग रकम लिएर रकम लिएका किसानका गाँजा फँडानी नगरी जोगाइदिएको र अन्यको मात्र फँडानी गरेको आरोपबाट यसपटक पनि प्रहरी मुक्त हुन सकेको छैन । यद्यपि जिल्ला, इलाका मात्र नभई लागुऔषध अनुसन्धान ब्यूरोबाट समेत गाँजा र अफिम फँडानीका लागि प्रहरी संयुक्त रूपमा खटिने गरेका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतवार ०९:४१