उसले गुरु खोज्यो
ज्ञान आर्जन गर्नका लागि
तर उसलाई कसैले पनि रूचाएन
न त उसले गरेको गुरुप्रतिको सम्मानलाई नै रुचाए
अनि आए
ज्ञान नदिई गुरु दक्षिणा खोज्ने
उसको गुरु बन्न लालाहित भै ।
उ ठालु थियो
त्यसैले त्यस्ता चालु गुरुलाई स्वीकार गरेन
आफ्नो गुरुको रुपमा ।
संस्कृतको श्लोकमा
गुरुलाई ब्रह्मा, विष्णु र महेश मात्र होइन
परब्रह्माको उपाधि दिइएको छ
अर्थात् गुरु नै भगवान हुन् ।
गुरु शब्दको व्याख्या गर्दा
कुनै राजनीतिज्ञले गरेको भाषण सरह हुन्छ
त्यति गहन अर्थ बोकेको शब्द हो गुरु
त्यसैले हामी पनि धेरै व्याख्या नगरौँ ।
उसले आफुलाई मार्गदर्शन गर्न गुरु खोज्यो
भनिन्छ ज्ञान जति बाँड्यो
त्यति बढ्छ
र ज्ञान शरीरसँगै मरेर पनि जान्छ
संगाल्न सकेन भने ।
चालु गुरुहरूको हुल उसलाई
आफुजस्तै चालु गुरु बनाउन अथक प्रयास गरे
तर ठालु उ
बन्यो चालुभन्दा पनि परको
ठालु गुरु
ठालु गुरु भएपछि
उसले ईश्वरको भक्ति गर्यो
अनि ईश्वर प्रकट भएपछि प्रश्न गर्यो
‘मानिसको मृत्यु पछि उसँग भएको ज्ञान कहाँ जान्छ प्रभु ?’
ईश्वरले पनि ठालुकै भाषामा जवाफ दिए
‘परमधाम’ ।
अर्जुन दाहाल । काठमाडौं