सूचनाको शक्ति - The Power Of Information

        

बझाङको खप्तडछान्नामा खुल्यो सुविधा सम्पन्न रिसोर्ट

बझाङको खप्तडछान्ना गाउँपालिकामा खप्तड जिपलाइन रिसोर्टको उद्घाटन गरिएको छ । खप्तडछान्ना गाउँपालिका–४ पसलबगरमा रहेको उक्त रिसोर्टको बिहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

सञ्चालक अरुण रोकायाको अध्यक्षतामा उद्घाटन भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विष्णुकुमार थापा प्रमुख अथिति र निवर्तमान गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकाया विशिष्ट अथिति रहेका थिए । रिसोर्टको रिवन काटेर उद्घाटन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति थापा र विशिष्ट अथिति रोकायाले खप्तडछान्ना गाउँपालिकाको पर्यटन प्रर्वधनका लागि रिसोर्टले महत्वपुर्ण भुमिका खेल्ने बताए । साथै उनीहरुले पर्यटन प्रर्वधनका लागि आफुबाट हुने समन्वय, साथ, सहयोग सदैव रहने समेत बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङका सचिव ललित बहादुर सिंहले पर्यटन प्रर्वद्धनका लागि खप्तड जिपलाईन रिसोर्ट जिल्लामै पहिलो नयाँ अभ्यास भएको बताए । उनले खप्तडछान्ना गाउँपालिका भित्रका पर्यटकीय स्थलहरुको उदाहरण दिँदै ती स्थलहरु समेत अब पर्यटकहरुको गन्तव्य बन्ने आशा व्यक्त गरे ।

यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य अभिषेक सिंहले युवाहरु स्थानिय पर्यटन प्रर्वद्धनमा लागेकोमा खुसि व्यक्त गरेका छन् । साथै उनले पर्यटन प्रर्वधन गर्न आफ्नो समन्वयात्मक भुमिका रहने समेत बताए ।

कार्यक्रममा खप्तडछान्ना गाउँपालिकाका जनप्रतिनिधि नेपाली काँग्रेस जिल्ला सदस्य डम्बरबहादुर सिंह, स्थानीय र पत्रकारहरुको उपस्थिति थियो । खप्तडछान्ना गाउँपालिकामा खप्तड, गुरैलझना, लिङ्गापाटन, मालिका गुफा, आदी पर्यटकीय स्थल रहेका छन् ।

रिसोर्टले मौलिक खानेकुरा, पर्यटकका लागि घोडा र गाइडको व्यवस्था पनि गरिएको छ । केहि समय विदेशमा समेत विताएका सञ्चालक रोकायाले आफ्नै गाउँठाउँमा पर्यटन प्रर्वद्धन गर्नका लागि केहि गर्ने प्रेरणा जागेर उक्त रिसोर्ट संचालनमा ल्याएको बताएका छन् ।

उक्त रिसोर्टमा खान, बस्नको लागी पनि उचित व्यवस्था रहेको रोकायाले बताएका छन् । रिसोर्टसँगै जिपलाइन पनि निर्माणको काम भैरहेको र बैशाखसम्म निर्माणको काम सकिने समेत सञ्चालक रोकायाले बताए । जीपलाइनको लम्बाइ ७०० मिटर रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार १०:४०