सूचनाको शक्ति - The Power Of Information

        

नेपाललाई ‘हिन्दू राष्ट्र घोषणा गरेका’ शङ्कराचार्य किन आए काठमाडौंमा ?

भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्या बिहीवार साँझ काठमाडौं आएका छन् । नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेकाहरूको निम्ति निश्चलानन्द सरस्वती चिरपरिचित नाम हो ।

आदि शङ्कराचार्यले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो । हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन् । तर गोवर्द्धन मठका शङ्कराचार्य नेपाल मामिलामा विशेष चर्चामा आइरहन्छन् ।

किन आए काठमाडौंमा ?

उनी यसअघि पनि पटक पटक नेपाल आएका थिए । यस पटक शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन् । पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका स्वकीय सचिव बेनुप खत्रीले जानकारी दिए । शनिवार महाशिवरात्रिका दिन शङ्कराचार्यको अभिनन्दन कार्यक्रम राखिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन हुने उनका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिए । शङ्कराचार्यले प्रवचन दिने, सम्मान ग्रहण गर्ने र एउटा मन्दिरको अनावरण गर्ने कार्यक्रम पनि राखिएको विश्व हिन्दू महासङ्घकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले बताइन् । धर्म निरपेक्ष राष्ट्र घोषणा गरिए पनि त्यसका पक्षपाती नेताहरू शङ्कराचार्यको कार्यक्रममा सहभागी हुने गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १५:१९