हिमालयशम्शेर राणा नेपालकै जिउँदो इतिहास थिए, जो ९६ वर्षको उमेरमा गत माघ २२ गते सधैँका लागि अस्ताए । २९ वर्षकै उमेरमा नेपाल राष्ट्र बैंक स्थापना गरेर त्यसको पहिलो गभर्नर बनेका राणाले आफ्नो पहिलो काम नेपाली नोट प्रचलनमा ल्याए । त्यसभन्दा अगाडि नेपालमा भारतीय मुद्रा चलनचल्तीमा थियो ।
नेपाली मुद्रालाई देशैभरि चलनचल्तीमा ल्याउने काम कम चुनौतीपूर्ण थिएन । त्यसमाथि तराई क्षेत्रमा यो काम कार्यान्वयन गर्न निकै कठिन थियो । बेलाबखत मसँगको भेटमा ती कठिन दिनको स्मरण गर्दै राणा भन्नुहुन्थ्यो, ‘तराईतिर त कसैले नेपाली मुद्रामाथि विश्वासै नगर्ने, गरे पनि आफ्नो ‘मनोपोली’ व्यापार चलाउन तराईतिरका व्यापारीहरुले भारतीय रुपैयाँमै कारोबार गर्थे ।’
त्यसपछि नेपाली मुद्राको विश्वसनीयता बढाउन र भारतीय रुपैयाँसँगको सटही दर कायम गर्न राणाले ठूलै मेहनत गरे र एक भारतीय रुपैयाँ बराबर १६० नेपाली मुद्राको विनिमयदर तोके । यसपछि तराईमा पनि नेपाली मुद्रा प्रचलन बढ्दै गयो । सटहीदर अहिलेसम्म १६० नै कायम छ । भारतसँग स्थिर विनिमय दरका कारण नेपाली अर्थतन्त्र डगमगाउन पाएन ।
जतिबेला नेपालको अर्थतन्त्रको जग नै बसेको थिएन, त्यतिबेला राणाले अर्थसचिव भएर अर्थतन्त्रको जग बसाल्न बजेटको व्यवस्था गरे, भन्सार, राजस्व, मालपोत, महालेखा स्थापना गरे । त्यसपछि विभिन्न ठाउँबाट सरकारी शुल्क राजस्व उठ्न थाल्यो । अहिले हामीले कल्पना मात्र गर्न सक्छौँ, छोटो अवधिमा यी सबै सोच र विचार कसरी आयो ? त्यति मात्र होइन, ती सोच र विचारले मूर्तरुप पनि लियो ।
आज देशको अर्थतन्त्रको जग जुन बाटोबाट हिँडिरहेको छ, त्यसको प्रस्थानविन्दु त्यही थियो, जुन राणाले कोरेका थिए । राणा अध्ययनमा निकै रुचि राख्थे । विदेशी पत्रपत्रिका खुबै पढ्थे । खासगरी विश्व अर्थतन्त्रमा पनि उनको रुचि थियो । नेपाली अर्थतन्त्र एकदमै खस्कँदै गएकोमा बेलाबखत चिन्ता जाहेर गर्थे । नेपाली अर्थतन्त्र बलियो बनाउन के गर्नुपर्छ ? त्यस विषयमा आफू निकट अर्थशास्त्रीहरुसँग अन्तक्रिया पनि गर्थे ।
देशलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन, जलस्रोत लगायत क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने कुरामा जोड दिन्थे । हामी आफैले उत्पादन गर्न सक्ने आलु, प्याज, गोलभेडा जस्ता कुरा पनि आयात गर्नुपर्ने कुराले राणाको मनमा चिसो पर्यो र मनमनै सोच्थे– देश कता जाँदैछ ? अर्थतन्त्र सम्बन्धी विचार, गोष्ठी, अन्तक्र्रियामा राणा सहभागी हुुन्थे । ढल्कँदै गएको उमेरमा पनि राणामा युवा जोश थियो ।
जीवनमा राणा कहिले थाकेनन् । जति बाँचे, सक्रिय जीवनमै बाँचे । सकारात्मक सोचका धनी राणा पछिल्लो पटक बिग्रँदो राजनीतिक अवस्थाबाट चिन्तित थिए । नेपालको संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीप्रति राणा आक्रोशित थिए । स्वतन्त्र, सार्वभौम देशको नाताले संविधानसभाबाट संविधान बनाउँदा भारतलाई के आपत्ति भन्दै कड्किन्थे ।
भारतले त्यत्रो नाकाबन्दी लगाउँदा पनि नेपाली कांग्रेस त्यसविरुद्ध बोल्न नसकेकोप्रति असन्तुष्टि जाहेर गर्थे । केपी शर्मा ओलीको राष्ट्रवादी छविप्रति अलिकति भए पनि आशावादी थिए । २०७४ सालमा दुई कम्युनिष्ट पार्टी मिलेपछि अब त देशमा राजनीतिक स्थिरता, आर्थिक विकास हुने आशा उनमा थियो । एमालेसँग एकीकरणपछि शान्ति प्रक्रियामा आएको माओवादीको पनि व्यवस्थापन भयो भन्ने विश्वास राणाको थियो ।
राणा मानवअधिकारकर्मी भएका कारण माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए । तर, दुर्भाग्य ओलीले दुईतिहाइको सरकार भंग गरेपछि राणामा चिन्ता बढ्दै गयो । देशको राजनीति कता जाने भयो भन्ने चिन्ता पटक–पटक व्यक्त गर्थे । हरेक घटनाका जानकार राणा, ओलीले किन र कसको निर्देशनमा संसद् विघटन गरे भन्ने कुरा बुझिहाले पनि पार्टीको आन्तरिक विवाद पार्टीमै सुल्झाउनुपर्छ, संसद् विघटन त्यसको समाधान होइन भन्ने पक्षमा थिए ।
जापान सरकारबाट ‘अर्डर अफ जापान’ पदकबाट विभूषित राणाले पहिलोपटक जापानी येनलाई नेपालीमा सटही गर्ने प्रचलन सुरु गरेका थिए । दोस्रो विश्वयुद्धबाट ध्वस्त जापानको बैंकमा खाता खोलेर केही रकम जम्मा गरे । त्यो गुणलाई जापानले अहिलेसम्म बिर्सिएको छैन । त्यति मात्र होइन, नेपाललाई विश्व बैंक र आईएमएफको सदस्यता दिलाउन पनि राणाको ठूलो योगदान छ ।
जापान भ्रमणको त्यो अविस्मरणीय क्षण
सन् १९६० मा जापान जाँदा र पछि जापान भ्रमण गर्दा जापानको आर्थिक विकासले राणा निक्कै प्रभावित भए । जापान भ्रमणको रोचक प्रसंग सुनाउँदै राणाले भनेका थिए, ‘त्यतिबेला जापानमा कमै मात्र विदेशी जान्थे । म बैंककै कामको सिलसिलामा जापान जाँदा नौलो अनुभव भयो । कोहि पनि अंग्रेजी बोल्न नजान्ने, बडो समस्या । म बसेको होटलमा पनि कोही अंग्रजी नबोल्ने, पानी खान पनि इशारा गर्नुपर्ने त्यस्तो जापान आज हेर्दाहेर्दै विश्वलाई आश्चार्यचकित पर्ने देश बन्यो ।
जापान जाँदा मैले दौरा सुरुवाल पनि लगेको थिए । औपचारिक कार्यक्रममा जाँदा दौरासुरुवाल लगाउने मेरो विचार थियो । तर, त्यो दौरासुरुवालको पनि रोचक कथा छ भन्दै राणाले भने, ‘कार्यक्रममा जाने समय भयो । दौरा सुरुवालमा आइरन लगाउनुपर्ने, रिसेप्सनमा गएर भने । एउटा महिला आइन । अंग्रेजी नबुझ्ने ति महिलालाई सुरुवाल देखाउँदै त्यसमा आइरन गर्नु भनेर हातले इशारा गरे । उसले बुझे जस्तो गरेर टाउको हल्लाइन । र, सुरुवाल लिएर गइन् ।
आधा घण्टा भयो आउँदैन । मिटिङमा जाने बेला भैसक्यो । फेरि रिसेप्सनमा फोन गरेपछि ति महिला सुरुवाल लिएर आइन् । आइरन गर्न पठाएको सुरुवाल त ति महिलाले घुँडाभन्दा मुनीको भाग काटेर कट्टु जस्तो पो बनाएकी रहेछिन् । त्यो देखेर मलाई झोँक चल्यो, हाँसो पनि उठ्यो । धन्न मैले सुट पनि लिएर गएको थिए त्यही सुट लगाएर मिटिङमा गए । यो घटना मेरो लागि जापान भ्रमणको अविस्मरणीय बन्यो । त्यो कुरा सम्झदा अहिले पनि हाँसो उठ्छ ।’
शम्भु श्रेष्ठ । काठमाडौं