सूचनाको शक्ति - The Power Of Information

        

कृषि पर्यटनको गन्तव्य बन्दै ‘बैजनाथ’

बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको छ ।

बैजनाथ गाउँपालिका–६ लालपुरस्थित प्रदेशको गौरवको योजनाका रुपमा रहेको मानसरोवर प्रतिकात्मक उद्यानसँगै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकीकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि बढाइएको छ ।

गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि दृश्वालोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्नेछन् । पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुने बताइएको छ ।

गाभर उपत्यकालाई चारतिरबाट समेट्ने गरी करिब १८ किलोमिटर चक्रपथ निर्माणको काम समेत अघि बढाइएको छ । करिब दुई किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको बाँकी कामलाई अघि बढाइएको छ भने सडक निर्माणको काम सुरु हुन लागेका छन् ।

‘यस क्षेत्रको छुट्टै पहिचान छ, यसलाई पर्यटनसँग जोडेर पर्यटकलाई भित्र्याउन सकिन्छ,’ वैजनाथ गाउँपालिका–१ चिसापानीका वडाध्यक्ष रुपबहादुर मल्लले भने । वडाध्यक्ष मल्लले पहाडी क्षेत्रमा उकालो चढेर माथि गएपछि दृश्यावलोकन गर्न सकिने बताए ।

सहरी विकास तथा भवन कार्यालय नेपालगन्जका अनुसार सो सडक निर्माण अघि बढाउन लुम्विनी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्टाइएको छ । मानसरोबर उद्यानका लागि रु १० लाख मात्रै छुट्टाएको छ ।

सहरी विकास तथा भवन कार्यालयका अनुसार अर्को आर्थिक वर्षमा यसलाई प्राथमिकतामा राखिने बताइएको छ । गाभरमा सडक निर्माण भएपछि पदयात्राका लागि समेत महत्वपूर्ण कदम हुने स्थानीयहरु बताउँछन् ।

गाभरमा रहेको लायन्स उद्यान तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको छ । कोहलपुर नजिकैको चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार १०:२३