स्ववियु निर्वाचनको मिति तोकिएसँगै त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक प्रणालीका प्रथम वर्षको भर्ना कार्यक्रम बन्द गरेको छ ।
निर्वाचन प्रयोजनका लागि धेरै विद्यार्थी भर्ना हुन सक्ने भएकाले त्रिविले भर्ना बन्द गरेको हो । वार्षिक प्रणालीमा कोटा निर्धारण नगरेको हुँदा ठूलो संख्यामा भर्ना हुन सक्ने अवस्था छ ।
त्रिवि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले बिहीबारदेखि नै वार्षिक प्रणालीको कार्यक्रममा भर्ना बन्द गरिएको जानकारी दिए । प्रवेश परीक्षा भइसकेका सेमेस्टर प्रणालीमा कोटा भएका विषयमा केही लचक भएको र त्यसमा क्याम्पसले निर्णय गर्न सक्ने व्यवस्था गरेको उनले बताए । ‘
पहिलेका चुनावमा जस्तो अहिले भोट हाल्नकै लागि मात्र भर्ना हुने कम देखिन्छ । कतै छिटफुट भएको शंका छ, तर अस्वाभाविक देखिँदैन,’ उनले भने, ‘भर्नाका लागि कम्तीमा आठ–दश हजार तिर्नुपर्ने भएकाले चुनावी प्रयोजनका लागि कम भर्ना होलान् ।’
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य तथा विद्यार्थी कल्याण निर्देशनालय प्रमुख प्रा.डा. पशुपति अधिकारीका अनुसार १९ फागुनदेखि स्ववियु निर्वाचनका प्रक्रिया सुरु हुँदै छ ।
१९ फागुनमा संघ, संगठन, तथा समूह दर्ता कार्यक्रम छ । २१ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, दाबी–विरोध गर्ने र छानबिन गर्ने, २६ फागुनमा मनोनयनपत्र वितरण र २७ फागुनमा मनोनयनपत्र दाखिला गरी प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ ।
२८ फागुनमा नामावलीमाथि दाबी–विरोध, त्यसको छानबिन र उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । २९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गरी ५ चैतमा मतदान गर्ने कार्यक्रम तय गरेको छ ।
उम्मेदवारहरूले २९ फागुनदेखि २ चैत राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् र त्यसपछि मौन अवधि सुरु हुनेछ । २८ वर्ष नकटेका विद्यार्थीले मात्र स्ववियुमा भाग लिन पाउनेछन् ।
स्ववियु कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ, तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा ६–६ महिनामा त्रिवि कार्यकारी परिषद्ले समय थप गर्न सक्नेछ ।
सत्यपाटी संवाददाता । काठमाडौँ