सूचनाको शक्ति - The Power Of Information

        

हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियान

बाँकेमा हात्तीपाइले नियन्त्रण अभियान असफल, नेपालगन्जमै निराशाजनक

बाँकेका आठ पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिकामा आमऔषधि ‘कभरेज’ सबैभन्दा कम छ ।

फाइल तस्वीर

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा सर्वसाधारणले हात्तीपाइलेको औषधि सेवन नगरिदिँदा हात्तीपाइले रोग नियन्त्रण अभियान सफल हुन सकेको छैन ।

विक्रम संवत् २०६७ देखि बाँकेमा हरेक वर्ष हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन गरिँदै आएको छ । नेपालगन्जकै सर्वसाधारण नागरिकले औषधि सेवन नगर्दा अभियान सफल हुन नसकेको हो ।

पहिलो पटक अभियान सुरु हुँदा बाँकेमा ९१ प्रतिशतले औषधि सेवन गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसबेला नेपालगन्जमा औषधि सेवन गरेका केही व्यक्तिको शङ्कास्पद मृत्यु र बिरामी भएपछि उक्त औषधिप्रति सर्वसाधारणको बुझाइमा गलत भएको छ ।

औषधि नखानेको सङ्ख्या ह्वात्तै बढेको छ । गत वर्षको तथ्याङ्कअनुसार बाँकेका आठ पालिकामध्ये नेपालगन्ज उपमहानगरपालिकामा आमऔषधि ‘कभरेज’ सबैभन्दा कम छ । नेपालगन्जमा आमऔषधि ‘कभरेज’ दर निराशाजनक रहेको देखाउँछ ।

तथ्याङ्कअनुसार नेपालगन्ज उपमहानगरपालिकामा सबैभन्दा कम ५० प्रतिशत र जानकी गाउँपालिकामा सबैभन्दा बढी ८० प्रतिशत औषधि ‘कभरेज’ भएको थियो । गत वर्ष खजुराको ७८ प्रतिशत र नरैनापुरको ६४ प्रतिशत कभरेज दर रहेको थियो ।

त्यस्तै, डुडुवाको ७८ प्रतिशत तथा वैजनाथ र राप्तीसोनारीको ७३–७३ प्रतिशत कभरेज दर रहेको थियो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ३ र १६ का अधिकांश समुदाय औषधि सेवन गर्न मान्दैनन् ।

उक्त वडामा मधेशी तथा मुस्लिम समुदायको उल्लेख्य बसोबास छ । ‘हात्तीपाइले रोग निवारण अभियान छ चरणमा सम्पन्न हुनुपर्ने हो । तर प्रभावकारी नै नभएपछि १३औँ चरणसम्म मात्र आइपुगेको छ,’ स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले बताइन् ।

सर्वसाधारणले औषधि नखाँदा ६ चरणमा सक्नुपर्ने अभियान १३ औँ चरणसम्म पनि चलाउनुपर्ने अवस्था आएको छ । ‘हात्तीपाइले रोगविरुद्धको औषधिप्रति कतिपय सर्वसाधारणको गलत बुझाइ छ, जसले गर्दा अभियान प्रभावकारी हुन सकेको छैन,’ प्रमुख पौडेलले भनिन् ।

हात्तीपाइले रोगविरुद्धको अभियानका फोकल पर्सन दुर्गा गौतमका अनुसार सरकारी मापदण्ड पूरा गर्न करिब ८० प्रतिशत नागरिकले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने हुन्छ । तर यसअघि १२औँ चरणसम्म पनि जिल्लाभरको ‘कभरेज’ ८० प्रतिशत पुग्न नसकेको अवस्था छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०८:४६