सूचनाको शक्ति - The Power Of Information

        

मुम्बईमा चन्द्र भण्डारीको उपचार सुरु, भोलि शल्यक्रिया

कांग्रेस सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार सुरु भएको छ । कांग्रेस केन्द्रीय सदस्य अजयराज शिवाकोटीले भण्डारीको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार सुरु भएको जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे शल्यक्रिया हुने तय भएको छ । आफूलाई भण्डारीको साथमा रहेका कांग्रेस नेताद्वय योगराज कँडेल र माधव न्यौपानले अहिले अवस्था स्थिर रहेको बताएको शिवाकोटीको भनाइ छ ।

‘अहिले अवस्था स्थिर रहेको जानकारी पाएको छु । आज नेपालबाट गएको चिकित्सकको टोली र उता भारतको टोलीबीच कसरी अगाडि बढ्ने भन्ने संवाद भयो । भोलि शल्यक्रिया हुने तय भएको जानकारी पाएको छु,’ शिवाकोटीले भने ।

भण्डारीको साथमा नेपालबाट गएका सातजना चिकित्सकको टोलीसहित ११ जना छन् । उनलाई बिहीबार दिउँसो मुम्बई लगिएको थियो । बुधबार राति घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी घाइते भएका थिए । जलेर घाइते भएकी उनकी आमाको भने बिहीबार बिहान उपचारकै क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०७:३१