सूचनाको शक्ति - The Power Of Information

        

खाना पकाउने ग्याँस पड्किँदा दाङमा दुई जना घाइते

फाइल तस्वीर

दाङमा खाना पकाउने ग्याँस सिलिण्डर पड्कँदा दुई जना घाइते भएका छन् । आज बिहान खाना पकाउने ग्यास पड्किँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका घर भई तुलसीपुर– १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन् ।

उनीहरु तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा कार्यरत रहेको बुझिएको छ । सिलिन्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १५:०८