ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । श्री एयरलाइन्सको विमानमार्फत उनलाई थप उपचारका लागि चिकित्सकको टोलीसहित मुम्बई लगिएको हो ।
चिकित्सकले नेता भण्डारीलाई सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएपछि उनलाई भारतको मुम्बई लगिएको हो । अब भण्डारीको उपचार मुम्बईको नेशनल बर्न सेन्टरमा हुनेछ । नेता भण्डारीले नेपालमै उपचार गर्ने चाहना राखेका थिए ।
यद्यपि, स्वास्थ्यमन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि भण्डारीलाई थप उपचारका लागि भारत लैजान मनाएका थिए । चन्द्रको शरीर ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चन्द्रका दुवै हात गोडा र अनुहार जलन भएको छ ।
स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको अस्पतालका चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो अवस्थामा सुविधा सम्पन्न अस्पतालमा उपचार गर्नु राम्रो हुने चिकित्सकले सुझाव दिएका थिए ।
उनको उपचार टिममा डा.प्रदीप तिवारी (क्रिटिकल केयर हेड), डा.बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर), डा. रोशन शर्मा, (फ्लाइट डाक्टर इएमएस), दिनेश राई (प्यारामेडिक्स इआर), सागर महर्जन (प्यारामेडिक्स इआर) र राज तामाङ (प्यारामेडिक्स इआर) सहभागी रहेको मन्त्रालयले जनाएको छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन् । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको थियो । सांसद भण्डारीकी आमा हरिकलाको भने निधन भइसकेको छ । उनको ७० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं