सूचनाको शक्ति - The Power Of Information

        

सुन प्रतितोला ६०० रुपैयाँले घट्यो

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ । बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ । जुन बुधबारको तुलनामा ५ रुपैयाँ घटेको हो । बुधबार चाँदीको कारोबार प्रतितोला १ हजार २९० रुपैयाँमा भएको थियो ।

महासंघका अध्यक्ष मणिकरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको मूल्य घटेर आउन थालेपछि त्यसको प्रभाव नेपाली बजारमा देखिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८४०.७५ डलर र चाँदी प्रतिऔंस २१.७७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

संघका अध्यक्ष शाक्यका अनुसार केही दिनयता सुनको मूल्यमा निरन्तर गिरावट आए पनि बजारमा खासै कारोबार भएको छैन । ‘केही दिनयता सुनको मूल्य निरन्तर घटिरहे पनि १ लाख रुपैयाँभन्दा बढी नै छ । सुन अझै महँगो भएकाले मूल्यकै कारण कारोबारमा कमी छ । अहिले सुन दैनिक १० किलोकै हाराहारीमा कारोबार भइरहेको छ हुन्छ,’ संघका अध्यक्ष शाक्यले भने ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १३:२९