नेपाल टेलिकमको नेटवर्कमा १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या आएको छ । सरकारी स्वामित्वको टेलिकममा एकपछि अर्को समस्या आउँदा पनि गम्भीरतापूर्वक भने लिइएको छैन । बुधबार दिउँसो १ बजे सिस्टम डाउन भएर सेवा अवरुद्ध भएको टेलिकममा विहीबार विहान धेरै पोष्टपेड प्रयोगकर्ताको ब्यालेन्स एकाएक गायब भयो । र, वान वे बन्यो ।
कसरी आयो यो समस्या ?
टेलिकमले हरेक अंग्रेजी महिनाको १६ तारिकमा पोष्टपेड ग्राहकको हिसाबमिलान गर्ने गर्छ । जसका लागि टेलिकमका पोष्टपेड बिलिङ गर्ने प्राविधिकहरुले १५ तारिकको मध्यरात १२ बजेपछि हिसाबमिलानको काम सुरु गर्ने गर्छन् । तर, मध्यरातमा सुरु गर्नुपर्ने बिलिङको काम ढिलो सुरु गर्दा टेलिकमका पोष्टपेड ग्राहकहरुको ‘बिल रन’ उज्ज्यालो हुँदा पनि सकिएन । जसका कारण धेरै पोष्टपेड ग्राहकहरुको बिलिङमा ढिलाइ हुँदा ‘वान वे’ हुन पुग्यो ।
पोष्टपेड सिम ‘वान वे’ हुँदा सबै सेवा अवरुद्ध भएको थियो । सिममा क्रेडिट उपलब्ध हुँदा हुँदै फोन ‘वान वे’ भएको भन्दै धेरै प्रयोगकर्ता अलमलमा परेका थिए । टेलिकमका पोष्टपेड ग्राहकहरुको ‘बिल रन’ समयमा नसकिँदा ‘वान वे’मा परिणत हुन पुग्यो । केही ग्राहकहरुले ‘वान वे’ भएछ भन्दै पुनः आफ्नो सिम रिचार्ज गरेका छन् । क्रेडिट उपलब्ध हुँदा हुँदै टेलिकमले समयमै बिलिङ नसक्दा प्रयोगकर्ताहरुले हैरानी खेपेका हुन् ।
टेलिकमले पोष्टपेडको ’बिल रन’ ढिलो सुरु गर्दा बिहीबार बिहान यो समस्या आइपरेको हो । टेलिकमको यही लापरवाहीका कारण पोष्टपेड प्रयोगकर्ता प्रभावित बनेका हुन् । टेलिकमका प्रवक्ता शोभन अधिकारीका अनुसार अरु बेला बिहान सबेरै पोष्टपेड बिलिङको काम सकिने गरेकोमा बिहीबार ढिलाइ भएको थियो । यो बिलिङमा समस्या होइन । बिल रनमा समस्या देखिएको हो ।
‘बिल रनको काम सुरु गर्न हिजो राति अलिकति ढिलो भयो, त्यही भएर केहीबेर समस्या आएको हो । अहिले समाधान भइसकेको छ,’ अधिकारीले भने, ‘३७३ रुपैयाँ जुन रेन्टल शुल्क हुन्छ त्यो काट्छ । हिसाबमिलान गरेर फेरि फिर्ता गर्छ । यही प्रक्रिया हरेक महिना अंग्रेजी १६ तारिकको बिहान सबेरै मिलिसक्थ्यो । आज अलिकति पछाडि तन्केको हो ।’
सत्यपाटी संवाददाता । काठमाडौं