सूचनाको शक्ति - The Power Of Information

        

कानेगुजीका फाइदा–बेफाइदा दुवै, सफा गर्ने कुन विधि सबैभन्दा उपयुक्त ?

कानको मैल अर्थात् कानेगुजी सुन्ने र देख्नेवित्तिकै धेरैलाई घिन लाग्छ । तर, तपाईलाई यो थाहा नहुन सक्छ कि, कानका लागि यो कति महत्वपूर्ण छ भन्ने । कानेगुजी कानका लागि राम्रो भएपनि कहिलेकाँही भने यसले समस्या पैदा गर्न सक्छ । बेलायतकी इएनटी सर्जन ग्याब्रियल वेस्टनले कानेगुजी कानको भित्र रहेका ग्रन्थीबाट पैदा हुने बताइन् । उनले यसका थुप्रै काम हुने जानकारी दिइन् ।

कानेगुजीका काम – यसले हाम्रो कानलाई सफा र सुरक्षित राख्छ,यसले कानको नलीमाथिको भागलाई सुख्खा हुनबाट जोगाउनुका साथै त्यस क्षेत्रमा पर्नसक्ने चिराबाट जोगाउँछ । यसले कानमा धुलोका कण तथा पानी छिर्नबाट रोक्छ । जसले संक्रमण हुनबाट हाम्रो कानलाई बचाउँछ । सफा गर्नु नै पर्ने भए कर्ण नलिकाले यसलाई आफै हटाउँछ वा बाहिर निकाल्छ ।

कानेगुजी स्वास्थ्यका लागि हानीकारक त छैन तर, यसको मात्रा कानमा बढी हुनथाल्यो भने यसले केही समस्या ल्याउन सक्छ । जस्तो कि, कानमा दुखाइ महसुस हुनसक्छ, सुन्ने क्षमतामा कमी आउनसक्छ । बजारमा कान सफा गर्ने थुप्रै स्वास्थ्य सामग्री उपलब्ध छन् तर तिनको प्रयोग के साँच्चै उपयुक्त छ त ?

कटन बड्स – अधिकांश मानिसले कान सफा गर्न अपनाउने सामाग्री भनेको कटन बड्स हो । तर, के तपाईलाई थाहा छ कि यसको प्रयोग कानका लागि घातक पनि हुनसक्छ भन्ने ? कुनैकुनै कम्पनीले त प्याकेटमा लेखेका पनि हुन्छन्, यसको प्रयोग कानको नली सफा गर्न प्रयोग नगरौं भनेर । जब हामी बड्सको प्रयोग गर्छौं तब यसलाई भित्रैसम्म धकेल्छौं ।

यसो गर्दा रुईका टुक्राहरु कानको त्यस्तो क्षेत्रमा टासिन पुग्छन् जुन अंग आफ्नो सफाइ गर्न सक्षम हुँदैन । जो कानमा हुने संक्रमणको एक कारण बन्न सक्छ । बड्सले कहिलेकाँही कानको जलनलाई पनि निम्ता दिन्छ । यसो हुँदा हामीलाई बारम्बार कानमा केही हालिरहन मन लाग्छ । यसले इन्फेक्सन गराउन सक्छ । यतिमात्र होइन कहिलाकाँही बड्स धेरै भित्रसम्म जाँदा यसले कानको पर्दासमेत फाट्न सक्छ । एक्कासी दुखाइ बढ्नसक्छ, रगत आउनसक्छ तथा सुन्ने क्षमतामा ह्रास आउनसक्छ ।

इयर क्यान्डल – कानेगुजी निकाल्नका लागि बजारमा इयर क्यान्डल पनि उपलब्ध छ । यस विधिमा जलिरहेको मैनवत्तीलाई एक लामो पातलो वस्तुमा राखिन्छ । जसको एकतर्फ दुलो हुन्छ र यसलाई कानतर्फ फर्काइएको हुन्छ । यसको प्रयोगले कानेगुजी तथा अन्य असुद्ध कुराहरु पनि सफा हुने दाबी गरिएको छ । तर, यसको प्रयोग खतरनाक हुनसक्छ र अध्ययनले पनि यसको प्रयोग खासै प्रभावकारी नरहेको देखाइसकेको छ । कहिलेकाँही मैनबत्तीको वाक्स कर्ण नलीसम्म पुग्ने खतरा रहन्छ जसले हाम्रो श्रवणशक्ति गुम्न सक्छ ।

इयर ड्रप्स – कानेगुजी सफा गर्न प्रयोग गरिने अर्को उपाय भनेको इयर ड्रप्सको प्रयोग पनि हो । यसले कानमा भएको मैललाई नरम बनाउँछ जसले गर्दा आफै बाहिर आउन थाल्छ । बजारमा थुप्रै कम्पनीका इयर ड्रप्स पाइन्छ । जसमा हाइड्रोजन पेरोक्साइड, सोडियम बाइकार्बोनेट या सोडियम क्लोराइड हुन्छ । इयर ड्रप्स कानको सफाइका लागि प्रभावकारी हुनसक्छ तर, कहिलेकाँही यसको प्रयोगले कानको संवेदनशील छालामा जलनको समस्या ल्याउन सक्छ । यसको विकल्पमा जैतुन र बदामको तेल पनि प्रभावकारी मानिन्छ ।

पानीको प्रयोग – यदी कानेगुजीले तपाईलाई समस्या दिइरहेको छ भने पानीको प्रयोग पनि गर्न सक्नुहुन्छ । मेडिकल साइन्समा यस्तो प्रयोगलाई सिरिन्जिङ पनि भनिन्छ । जसमा सुइको माध्यमद्वारा कानमा पानी हालिन्छ । यस विधिले कान त सफा हुन्छ तर कहिलेकाँही यसले समस्या पनि ल्याइदिनसक्छ । यसले कानको पर्दामा असर पुर्याइदिन पनि सक्छ ।

माइक्रोसक्सन – कानेगुजीबाट पीडितहरुका लागि केही मेडिकल क्लिनिकले माइक्रोसक्सन विधि अपनाउने गर्छन् । यस प्रक्रियाम चिकित्सकले कानको भित्र हेर्न माइक्रोस्कोपको प्रयोग गर्छन् । र एक औजारको सहायताले कानेगुजी निकाल्छन् । कान सफा गर्ने यो विधि अरुभन्दा निकै सुरक्षित मानिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १२:४८