सूचनाको शक्ति - The Power Of Information

        

नक्कली नोटको बिगबिगी

बाँकेमा ठुलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का

एक हजार रुपैयाँका ५६९ वटा नक्कली नोटसहित तीन जना पक्राउ

नक्कली नोट । फाइल तस्वीर 

पछिल्लो समय बाँकेमा नक्कली नोटको बिगबिगी भएको छ । गत केही समययता बाँकेमा ठुलो परिमाणमा नक्कली नोट भित्रिएको आशङ्का प्रहरीले गरेको छ । प्रहरीले ठुलो परिमाणको नक्कली नोट र नोट छाप्ने मेसिन नै बरामद गरेपछि सो आशङ्का गरिएको हो ।

पछिल्लो पटक बाँके प्रहरीले नक्कली एक हजार रुपैयाँका पाँच लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । एकैपटक यतिधेरै नक्कली रुपैयाँ बरामद गरिएपछि जिल्लामा नक्कली नोट धेरै बढी हुनसक्ने अनुमान प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२ न्यूरोडमा शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गर्दा तीन जनाबाट नक्कली एक हजारका ५६९ वटा नक्कली नोट बरामद भएको हो ।

कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाईं, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३० वर्षीय दीपक बिसी र सल्यानको नवगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानाको खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट सो नक्कली रुपैयाँ बरामद गरेर उनीहरूलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए ।

पक्राउ परेका मोहन रानाका साथबाट ४१८ ओटा नक्कली नेपाली एक हजारको नोट (४ लाख १८ हजार) र मोहन कुमाईंको साथबाट १५१ ओटा नक्कली नेपाली एक हजारको (एक लाख ५१ हजार) गरी कुल ५६९ ओटा एक हजारका नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । प्रहरीले कुल पाँच लाख ६९ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको हो ।

नक्कली नेपाली रुपियाँ बोकेर हिँडिरहेका उनीहरूलाई गोप्य सूचनाको अधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता घर्तीले यतिधेरै नक्कली नोट कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे प्रहरीले विशेष टिम नै खटाएर थप अनुसन्धान गरिरहेको बताए । उनका अनुसार यसअघि गत माघको पहिलो साता नेपालगन्जको धम्बोझीस्थित होटल पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो ।

पुस २९ गतेदेखि होटेलमा बसेका एक व्यक्तिले होटेलमा बसेर नक्कली नोट छपाइ गरेको भेटिएको थियो । ३० गतेसम्म होटेलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो । फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको बेला फेरि नक्कली नोट फेला परेको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार १०:५९