सूचनाको शक्ति - The Power Of Information

        

ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते, आमाको अवस्था गम्भीर

खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारी र उनकी आमा घाइते भएका छन् ।

घाइते सांसद भण्डारीको २५ प्रतिशत भाग जलेको छ भने उनकी ८६ बर्षिय आमाको ७० प्रतिशत भाग जलेर गम्भीर घाइते रहेको जनाइएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा घाइते भएको उनका सहयोगी भुवन भुसालले जानकारी दिए । आमाछोरा दुवैको कीर्तिपुर अस्पतालमा आइसीयूमा उपचार भइरहेको छ ।

‘अहिले आईसीयूमा हुनुहुन्छ । डाक्टरको टिमले उपचार गर्दैछ । माननीयज्यूको शरीरको २५ प्रतिशत भाग जलेको जानकारी पाएका छौँ । आमाको ७० प्रतिशतभन्दा धेरै जलेको छ । बाँकी भोलि बिहान थाहा होला,’ भुसालले भने ।

भुसालसहित आफन्तहरू अस्पतालमै छन् । बुधबार राति नै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एनपी साउँदसहितका नेताहरू अस्पताल पुगेका थिए । भुसालका अनुसार ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको छ । सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट भएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार ०७:११