निर्वाचनलगत्तै नेकपा (एमाले) र माओवादी केन्द्र लगायतका दलहरूको समिकरणबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । तर, एक महिना वित्दा नमित्दै सत्तारुढ दलहरूबीच खटपटको अवस्था किन आयो ?
संविधानको भावना विपरित गठबन्धन बन्दा यस्ता खाले समस्या आइरहन्छन । समान राजनीतिक विचार, दर्शन र कार्यक्रमका आधारमा गठबन्धन हुनुपर्नेमा केबल पदलाई हेरेर गठबन्धन गर्दा यस्ता समसया आइपर्छ । त्यस्तो गठबन्धन दीर्घकालीन हुँदैन । जुनसुकै बेला पनि गठबन्धन बन्ने र भत्किने अवस्था आइरहन्छ । यसको कारण भनेको संविधानको धारा २६९ विपरित गठबन्धन बन्नु नै हो । मैले निर्वाचनताका पनि भनेको थिएँ, संविधान विपरितको गठबन्धनले निकास दिँदैन । संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धि व्यवस्था छ ।
जहाँ समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरूले कानूनको अधीनमा रही राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार र प्रसार गर्न, गराउन वा सो प्रयोजनका लागि अन्य आवश्यक काम गर्न सक्नेछन् भनिएको छ । राजनीतिक निकासका लागि समान विचारधारा भएका दलहरूबीच मात्रै गठबन्धन हुनुपर्छ । तर, नेपालमा विपरित सिद्धान्त भएकाहरू सँग साँठगाँठ गर्ने प्रवृत्ति हुर्किदै आएको छ । अहिले राजनीतिमा देखिएका सबै गतिविधि, खिचानानी त्यसैको उपज हो ।
एमाले र माओवादीबीच त धेरै कुरा मिल्छ नि होइन ?
दर्शनको दृष्टिबाट मिलेजस्तो देखिन्छ–माक्र्सवाद, लेनिनवाद । नेकपा माओवादी केन्द्रमा थप माओवाद पनि छ । माओवादको व्याख्या नेपालको सन्दर्भमा उहाँहरूले पछिल्लो कालखण्डमा कसरी गर्नुभएको छ भन्ने कुरा बाहिर आएको छैन । माओत्सेतुङले चीनमा नयाँ जनवादी क्रान्ति सशक्त संघर्षबाट गाउँले शहरलाई घेर्ने र क्रान्तिलाई अन्तिम चरणमा पुर्याउने भनेर भन्नुभएको हो । माओवादी केन्द्र अहिले संसदीय चुनावी प्रक्रियामा छ । त्यसकारण एमाले र माओवादी केन्द्रको बीचमा सम्पर्क छदैछ ।
त्यसको साथसाथै माक्र्सले भनेजस्तै सिद्धान्त, दर्शन र मार्गदर्शन मात्रै हो । विभिन्न विषयहरू र तत्कालीन समयमा पार्टीले गर्नुपर्ने कामहरूका सन्दर्भमा यी पार्टीहरूको बीचमा मतैक्यता देखिदैन । त्यसैले एमाले र माओवादी केन्द्रको बीचमा पनि सबै कुरा मिलेजस्तो देखिदैन । कम्युनिष्ट पार्टी नाम पनि भएको र चलनचल्तीको भाषामा वामपन्थी भनेको कुराले कांग्रेस वा अरु दक्षिणपन्थीभन्दा निकट भन्ने त बुझिन्छ । तर, व्यवहारमा थुप्रै विषयमा एमाले र माओवादीबीच अन्तरविरोध र बेमेल छ ।
त्यही बेमेल भएर राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रचण्डले राष्ट्रिय सहमति र ओलीले एमालेकै उम्मेदवार भन्ने अवस्था आएको हो त ?
यो पनि समग्र राष्ट्रिय राजनीतिमा उत्पन्न समस्याकै एउटा अंग हो । तर, जसरी एमाले र माओवादी केन्द्रले सरकार गठन गर्दा सहमति गरेको भन्ने बुझियो, त्योसँग अहिले उठेको कुराले मेल खाँदैन । दोस्रो, राष्ट्रिय सहमतिको विषय जुन अहिले उठ्ने गरेको छ, त्यो पदका लागि मात्रै हो । नेपाल र नेपाली जनताले राष्ट्रिय सहमति पदमा खोजेका होइनन् । जस्तो, हाम्रो परराष्ट्र नीति । ठूला शक्ति राष्ट्रहरूनै हाम्रो देशमा हस्तक्षेप गर्ने गरी आइरहेका छन् ।
त्यसबाट मुक्त हुने कुरामा राष्ट्रिय सहमति खोज्नुपर्छ । देशको अर्थतन्त्र संकटउन्मुख अवस्थामा छ । हाम्रा सीमाना मिचिएका छन् । नेपाली जनताको दैनिक जीवन धेरै कष्टकर बनेको छ । दिनदिनै महंगी बढिरहेको छ । भ्रष्टाचार बढिरहेको छ । किसानहरूले आफ्नो उत्पादनको मूल्य पाइरहेका छैनन् । यस्ता कुरामा राष्ट्रिय सहमति गरेर जाँदा सार्थक हुन्थ्यो । अहिलेको राष्ट्रिय सहमतिको प्रसंग राज्य संचालनको केन्द्रहरूमा कसरी नियन्त्रण गर्ने भन्ने मात्रै हो ।
राष्ट्र र जनतासँग प्रत्यक्ष जोडिएका विषयले किन प्राथमिकता पाउँदैनन् ?
विडम्बना त्यही हो । यस्ता राष्ट्रिय विषयमा छलफल गर्न हाम्रा नेताहरूसँग समय हुँदैन । पद कसरी लिने भन्ने विषयमा मात्रै नेपालको राजनीतिक केन्द्रित हुँदै गइरहेको छ । पदका लागि राष्ट्रिय सहमति भन्नुको के अर्थ रह्यो र ?
सुदूरपश्चिम सरकार एक महिनामै ढल्यो । अहिले नयाँ सरकार बनेको छ । त्यसको आयु पनि निश्चित छैन । के राजनीतिक अस्थिरताको सुरुवात सुदूरपश्चिमबाट भएको हो ?
नागरिकताजस्तो अत्यन्त संवेदनशील विषयमा गृहमन्त्रीको बहिर्गमन र त्यसपछि तपाईँले भन्नुभएको जस्तै सुदूरपश्चिम प्रदेशमा पुरानो सरकार ढलेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुको प्रभाव राष्ट्रिय राजनीतिमा अवश्य पर्छ । यी विषयले राजनीतिक दलहरूबीच मतभेद, अन्तरविरोध र आ–आफ्नो स्वार्थपरक प्रवृत्ति देखाउँछ । त्यसैले सुदूरपश्चिमा अहिले जस्तो तरिकाले सरकार गठन भयो, यो भन्दा अगाडिका मुख्यमन्त्रीले जसरी विश्वासको मत प्राप्त गर्न सक्नुभएन ।
त्यसैले नेपालको राजनीतिमा हुर्किदै गरेको प्रवृत्ति र बढ्दै गएको समस्यालाई देखाउँछ । सिद्धान्त, दर्शन, चरित्र केही पनि नमिल्ने राजनीतिक दलहरूले सत्ता केन्द्रित गठबन्धन गर्दाको परिणाम हो यो । अहिले केन्द्रमा पनि त्यस्तै गठबन्धन छ । यो कुनै पनि बेला टुट्न सक्छ । यसले एउटा गठबन्धन टुटेर अर्को बन्ने स्थिति नेपालको राजनीतिमा विद्यमान छ भन्ने देखाउँछ ।
हामीले अवलम्बन गरेको निर्वाचन प्रणालीले नै गठबन्धन संस्कृतिमा जोड दिन्छ । नेपालमा कस्तो गठबन्धन चाहिँ दीगो हुन्छ त ?
समान विचार, सिद्धान्त, कार्यक्रम भएका राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ । नेपालको संविधानको धारा २६९ ले त्यही भन्छ । विचार, सिद्धान्त, कार्यक्रममा केही समानता र सामिप्यता भएका राजनीतिक दलहरू एक ठाउँमा आएर जनतामा जाँदा अन्तरविरोध कम हुन्छ । तर, विपरित सिद्धान्त भएका राजनीतिक दलहरू निर्वाचन जानु नै गल्ती थियो । मैले त्यही बेला पनि यो विषय उठाएको थिएँ, यो गठबन्धन निर्वाचनपछि टुट्छ ।
त्यसकारण समान विचारधारा, दर्शन, कार्यक्रम भएका राजनीतिक दलहरू एक ठाउँमा उभिएर जाँदा मात्रै दीर्घकालीन हुन्छ । यसको विकल्प पनि छैन । निर्वाचन घोषणपत्र हेरेर विचार मिल्नेहरू गठबन्धन गरेर जान सक्नुपर्छ । तर, कसरी जित्न सकिन्छ भन्ने हिसाबले मात्रै दलहरूले हेरेका कारण अहिले राजनीति स्वार्थ केन्द्रित भएको छ । यसले जुनसुकै बेला हामीले सोच्दै नसोचेको समस्या सिर्जना गर्न सक्छ ।
दलहरूमा अहिले सिद्धान्त, विचार, विधि, पद्धतिप्रति प्रतिवद्ध नेता–कार्यकर्ताको आवाज नसुनिने अवस्था छ । त्यस्ता नेता तथा कार्यकर्तालाई गोलबन्द गर्ने सवालमा केही सोचिराख्नुभएको छ ?
त्यसैकारणले मैले एमालेभित्र राष्ट्रियता, स्वाधिनता, जनताको बहुदलीय जनवादले निर्देशित गरेका मूल्य–मान्यता, विधि, पद्धतिका विषयमा राजनीतिक र वैचारिक संघर्ष गर्दै आएको हुँ । यो देशप्रति इमान्दार, आफुले लिएका नीति र सिद्धान्तप्रति निष्ठावान सबैले तपाईँले भन्नुभएको जस्तै राजनीतिक, वैचारिक कुराहरू अगाडि सार्नुपर्छ । पार्टी संगठन भनेको सामूहिक प्रयत्नबाट निर्मित संस्था हो । यसमा सबैको सामूहिक योगदान रहेको हुन्छ । देशलाई उन्नत दिशातर्फ लगेर नेपाली जनताका आवश्यकता पूरा गर्ने र उन्नत प्रणालीलाई स्थापित गर्ने हो भने, सबैले आ–आफ्नो ठाउँबाट आफुले भनेका घोषित नीतिमा इमान्दार भएर अग्रसर हुनुपर्छ ।
एमाले नेतृत्वमा यस्तो सम्भावना कत्तिको देख्नुभएको छ ?
अहिलेसम्मका प्रवृत्ति, काम, व्यवहार हेर्दा कुनै परिवर्तन तत्काल भइहाल्ने सम्भावना देखिन्न । तर, जसरी अहिले शक्ति राष्ट्रहरू हाम्रो देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै छन् । केहीदिन यतामा मात्रै घटनाक्रम हेर्ने हो भने, ठूला–ठूला शक्ति राष्ट्रहरूले यहाँ अत्यन्तै ठूलो सरोकार, चासो राखेर गतिविधि गरिरहेको हामीले देखिरहेका छौँ । नेपालजस्तो अत्यन्तै संवेदनशील भू–राजनीति भएको देशमा पहिले आफ्नो शक्तिलाई सुदृढ गरेर, आफ्नो मित्रपंक्तिलाई एकतावद्ध गर्नुपर्नेमा त्यतातिर पार्टीका कार्यकारी अधिकार सम्पन्न व्यक्ति र नेतृत्वहरूले त्यति चासो र सरोकार राखेको देखिदैन । निकट भविश्यमा त्यतातर्फ कसैले पाइला चालिहाल्ला भन्ने सम्भावना त्यति सवल भएर आएको देखिँदैन ।
विगतमा जस्तो कम्युनिष्ट पार्टीहरू एकतावद्ध हुने परिदृष्य देखिन्छ कि देखिदैन ?
हुनत्, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले वार्ता समिति बनाएर समाजवादी केन्द्र निर्माण गर्दै वामपन्थी एकताका लागि काम गर्ने दिशामा जाने भन्ने कुरा अगाडि सारेको देखिन्छ । तर, त्यस दिशामा कुनै ठोस परिणाम आएको सार्वजनिक भएको छैन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता वामपन्थी दलहरू सरकारमा सामेल भए पनि सरकार आफैँ अन्तरविरोधहरूको ठूलो भूमिरीमा परिरहेको हो कि जस्तो आभास हुन्छ ।
त्यसकारण राजनीतिक दलका प्रमुख नेताहरूले विगतका कमिकमजोरीको समीक्षा गर्दै राष्ट्रको सर्वोपरि हितलाई शिरोपर गरेर जनता र देशप्रति समर्पित हुने प्रवृत्तिका साथ अगाडि बढ्यो भने, परिवर्तन हुनै सक्दैन, कम्युनिष्टहरूको बीचमा कमसेकम पनि सहकार्य हुनैसक्दैन भन्न सकिदैन । तर, कम्युनिष्ट आन्दोलनभित्र पनि जुन प्रकारले आन्तरिक र बाह्य आयामहरू माक्र्सवाद विपरित देखिएका छन् । र, तिनले कम्युनिष्ट आन्दोलनलाई प्रभावित गर्ने गरेका छन् । हेरौँ, तत्कालै आशावादी भइहाल्ने स्थिति सिर्जना भएको जस्तो मलाई लाग्दैन ।
अब बन्ने समाजवादी केन्द्रमा डा.भीम रावलको पनि योगदान रहन्छ, नेतृत्वदायी भूमिकामा आउन सक्नुहुन्छ भन्ने चर्चा सुनिन्छ । तपाईँको धारणा के छ ?
मैले आरम्भदेखि नै देश र जनता, कम्युनिष्ट पार्टीले सुरुदेखि नै लिएका नीति, त्यसले अगाडि सारेका कार्यक्रम, देश, जनता र अन्तर्राष्ट्रिय सम्बन्धप्रतिका दृष्टिकोणहरूमा जोड दिँदै आएको छु । अहिले चाहे नेकपा (एकीकृत समाजवादी) होस् या नेकपा (एमाले) वा अरु कुनै पार्टी त्यो दिशामा कति स्पष्ट हुन्छन्, तदनुरुप नै मैले आफ्नो राजनीतिक, वैचारिक सोचहरू निर्धारण गर्नुका साथसाथै संगठनात्मक संक्रियता पनि टुंगो लगाउनुपर्ने हुन्छ । अहिलेसम्म म एमालेको सदस्य हुँ । एमालेभित्र व्यापक देशभक्तहरूको पंक्ति पनि रहेको छ ।
त्यो पार्टीमा झण्डै पाँच दशक आफुले योगदान गरेर त्यहाँका सबै अन्तर्यहरूको पनि जानकारी भएको हुनाले त्यो पार्टी आफ्नो घोषित नीति, उद्देश्य, लक्ष्यबाट विचलित नहोस भनेर मैले धेरै जोड दिँदै आएको छु । त्यसको साथसाथै, तपाईँले भनेजस्तै समाजवादी केन्द्र निर्माणको क्रममा रहेका दलहरूले मैले उठाएका कतिपय राजनीतिक, वैचारिक कुराहरूमा स्पष्ट दृष्टिकोणका साथ नीति र विचारमा अडान अगाडि ल्याए भने म सकारात्मक हुन्छु नै । कम्युनिष्ट एकताको लागि मैले विगतमा पनि धेरै अप्ठ्यारा क्षणहरूमा काम गरेको हुँ । अहिले पनि ती विषयमा छलफल गर्नै सकिँदैन भन्ने छैन ।
अलि प्रष्ट पारिदिनुस न, एकीकृत समाजवादीमै आवद्ध भएर कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउन लाग्ने कि कम्युनिष्ट पार्टीहरू एकतावद्ध हुने स्थितिमा भविश्यको पार्टीमा आवद्ध हुने वा एमालेमै रहने ?
मैले उठाएका राजनीतिक र वैचारिक दृष्टिकोण देश र जनताको भविश्यसँग सम्बन्धित छन् । र, वर्तमानका कतिपय विषय पनि जोडिएका छन् । तपाईँले भनेजस्तो संगठनात्मक रुपमै कुनै एउटा समूह, दलमा तत्कालै गएर यसरी काम गर्ने भन्ने छैन । अहिलेसम्म म एमालेकै सदस्य हुँ । तर, सुक्ष्मरुपमा नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीहरूका गतिविधिहरूलाई हेरिरहेको छु । यसबीचमा पार्टीहरूका बीचमा भएका छलफललाई पनि नजिकबाट हेरिरहेको छु ।
म आफैँ पनि कतिपय नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँग छलफलमा पनि छु । उपयुक्त समयमा नेपाल र नेपाली जनताको भलो के गरी हुन्छ र नेपाल कम्युनिष्ट पार्टीले देशमा समाजवाद लागू गरेर स्वाधिनता, स्वतन्त्रतालाई पनि बलियो बनाउनुका साथसाथै नेपाली जनताको आर्थिक स्थितिलाई सुदृढ बनाएर श्रृजनात्मक नेपालको सिर्जना गर्दै विश्वको अगाडि स्वाभिमानी नेपाली भनेर टाउको ठाडो हुन सक्ने बनाउनका लागि सबैभन्दा उपयुक्त के हुन सक्छ भन्ने कुरालाई गम्भीर रुपमा हेरेर तदनकूल गर्नुपर्छ भन्ने ठान्छु ।
डा. भीम रावल । नेता, नेकपा (एमाले)