सूचनाको शक्ति - The Power Of Information

        

किन नेपाल आउँदैछन् भारतीय सेनाका पाँच पूर्वप्रमुख ?

भारतीय स्थल सेनाका पाँच जना पूर्वप्रमुख नेपाल आउने भएका छन् । नेपाली सेनाको विशेष निमन्त्रणमा पूर्वप्रमुखहरु एकसाथ नेपाल आउन लागेका हुन् । पूर्वसेनाप्रमुख विश्वनाथ शर्मा, जोगिन्द्र जसवान्त सिंह, दीपक कपुर र मनोज मुकुन्द नरवाणे नेपाल आउन लागेका हुन् ।

यी मध्ये चार जना आगामी शुक्रबार नेपाल आइपुग्ने भएका छन् । एक जना पूर्वप्रमुख भने शनिबार विहान मात्रै नेपाल आइपुग्ने छन् । नेपाली सेनाले आफ्नो २६० औं स्थापना दिवशको अवसरमा भारतीय सेनाका स्थल सेनाका प्रमुख मनोज पाण्डेसहित ११ पूर्व प्रमुखहरुलाई पनि निमन्त्रणा गरेको थियो ।

तर ती मध्ये पाँच जना नेपाल आउने निश्चित भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । नेपाली सेनाले १० वर्षपछि विशेष कार्यक्रमका बीच आफ्नो स्थापना दिवस मनाउन लागेको हो । यसअघि २५० औं स्थापना दिवश पनि विशेष कार्यक्रमका बीच मनाएको थियो ।

नेपाली सेना र भारतीय सेनाबीच एकअर्काका प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने प्रचलन छ । नेपाली सेनाका प्रमुखलाई पनि भारतमा मानार्थ महारथीको सम्मान दिइँदै आएको छ । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे गत भदौ १९ गते पाँच दिने नेपाल भ्रमणमा आएका थिए । नेपाली सेनाले त्यतिबेला उनलाई पनि मानार्थ महारथीको सम्मान दिएको थियो ।

नेपाली सेनाका पाँच वटा कम्पनी स्थापना भएको २६० वर्ष पूरा भएको छ । १८१९ मा पृथ्वीनारायण शाहले पाँच वटा कम्पनी स्थापना गरेका थिए । श्रीनाथ, कालीबक्स, सबुज, गोरख र बर्दबाणी नामका कम्पनी पहिलो पटक स्थापना भएका थिए । यी गणको स्थापना भएको २६० वर्ष पुगेको अवसरमा सेनाले स्थापना दिवश मनाइरहेको छ ।

सेना दिवसको अवसरमा फागुन ५ गते वीर स्मारक छाउनीमा श्रद्धाञ्जली अर्पणको कार्यक्रम हुनेछ । फागुन ६ गते सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम गर्ने सेनाको तयारी छ । सो अवसरमा ५५५ वटा मादल एकसाथ बजाउँदै विशेष प्रस्तुति गरिनेछ । भारतीय सेना र बेलायती सेनाले पनि विशेष ब्यान्डसहितको प्रस्तुति दिनेछन् । सैनिक मञ्च र छाउनीको स्मारकमा वीरगति प्राप्त सैनिकको सम्झनामा अखण्ड बत्ती बालिनेछ ।

फागुन ७ गते जंगी अड्डामा परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने तय भएको नेपाली सेनाले जनाएको छ । ७ गते नै नेपाली सेनाको मुखपत्र सिपाही विमोचन गरिनेछ । यस्तै सैनिक इतिहास सम्बन्धी पुस्तक पनि विमोचन गरिने सेनाले जनाएको छ । नेपाली सेनाले स्थापना दिवसकै अवसरमा यसअघि पनि विभिन्न कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १६:१८