सूचनाको शक्ति - The Power Of Information

        

बढुवामा रोक्ने कुसियत !

एआइजीका प्रतिश्पर्धी डिआइजी अशोक सिंह अख्तियारको छानविनमा

डिआइजी अशोक सिंहले किर्ते गरी सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेका दाबी गरिएको छ ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक अशोक सिंहको शैक्षिक योग्यता छानबिन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा हुँदै नभएको योग्यता देखाइ, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको आधारमा २८ वर्षसम्म जागिर खाएको, नागरिकतामा उमेर सच्याइ जागिर खाएकाले आयोगबाट तत्काल छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

सी–०४१७१७ मा आज (मङ्गलवार) आयोगको केन्द्रीय कार्यालय टंगालमा दर्ता भएको उजुरीमा २०५१ साल चैत ५ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत डिआइजी अशोक सिंहले किर्ते गरी सरकारी निकायलाई भ्रममा पारेर नेपाली नागरिकताको प्रमाणपत्रमा वास्तविक उमेर भन्दा कम उमेर देखाएर जागिर खाइरहेका दाबी गरिएको छ ।

साथै उनले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेस गरेको आइएको शैक्षिक योग्यता प्रमाणपत्रमाथि पनि छानबिन गर्न माग गरिएको छ । आइए र स्नातकको प्रमाणपत्र नेपालमा इक्युभ्यालेन्ट नगरिएको निवेदनकर्ताको दाबी छ । निवेदनकर्ताले आइजिपी अशोक सिंहले आफ्नो वास्तविक थर नराखेको समेत जिकिर गरेका छन् ।

निवेदनमा उनले भनेका छन्, ‘डिआइजी अशोक सिंहको वास्तविक नाम अशोक सिंह बोगटी हो । तर प्रहरी प्रधान कार्यालयको तिन पुस्ते रेकर्डमा अशोक सिंह मात्र देखिन्छ । राष्ट्रसेवक कर्मचारी त्यसमा पनि कानुन कार्यान्वयन गराउने निकायको जिम्मेवार पदमा रहेको कर्मचारीले नागरिकता सच्चाएर आफ्नो वास्तविक थर नै हटाउने काम गर्नु आफैमा दुर्भाग्यपूर्ण अवस्था हो ।’

निवेदकले आइजिपी अशोक सिंहले आफ्नो भाई नाता पर्ने गृह सचिव विनोदप्रकाश सिंहलाई प्रयोग गरेर एआइजीमा बढुवाको लागि अस्वाभाविक चलखेल गरिरहेको दाबी गरेका छन् । नेपाल सरकारका मुख्यसचिव, गृह मन्त्रालय र प्रहरी महानिरीक्षक समेतलाई उक्त पत्रको बोधार्थ दिइएको छ ।

त्यसो त नेपाल प्रहरीमा अबको एक महिनापछि नेतृत्व परिवर्तन हुँदैछ । आइजिपी नियुक्तिका लागि दौडधुप चलिरहेको छ । आइजिपीको लाइनमा रहेका अशोक सिंह एआइजी बढुवाको तेस्रो नम्बरमा रहेका थिए । पहिलो नम्बरमा बसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई र तेस्रो अशोक सिंह छन् ।

त्यस्तै एआइजी बढुवामा डिआइजी दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धीराज गुरुङ, दुर्गा सिंह र किरण राणा प्रतिस्पर्धामा छन् ।

यो ब्याचका कुँवर, राई, सिंह, ज्ञवाली, भण्डारी, जोशी आइजिपीका दाबेदार मानिदै आएका थिए । यो ब्याचका महिला अधिकृतहरु पनि अब्बल मानिन्छन् । यसपटक प्रहरीमा पहिलो पटक महिला नेतृत्व पुग्ने अवसर भए पनि महिलालाई पछि पार्न खोजिएको छ । अहिले एआइजीका तीन पद रिक्त छन् भने भोलि बुधबारदेखि एआइजीका पाँच दरबन्दी रिक्त हुँदैछन् ।

ती दरबन्दीमा बढुवाका लागि २० जना डिआइजीबीच प्रतिस्पर्धा छ । जसमा तीन जना आइजी धिरजप्रताप सिंहका ब्याची छन् । जसको जागिर एक महिना मात्र बाँकी छ । पछिल्लो ब्याचका डिआइजी पहुँचवाला भएकाले पुरानो ब्याचबाट अब बढुवा हुने सम्भावना कम रहेको बताइन्छ । प्रहरी महानिरीक्षक सिंहले एआइजी बढुवाबारे प्रधानमन्त्रीसँग छलफल थालिसकेका छन् ।

एआइजी बढुवाबारे छलफल चलिरहेकै बेला दाबेदार मानिएका अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी पर्नुमा उनको बढुवा रोक्ने चलखेल भएको प्रहरी अधिकृतभित्र गाइँगुइँ चल्न थालेको छ । एक जना प्रहरी अधिकारले भने, ‘यो छानविन त होला, तर अहिले उहाँको बढुवा रोक्नका लागि आएको स्टन्ट मात्रै हो । किर्ते थियो भने पहिले नै किन उजुरी नहालेको ?’

डिआइजी सिंहको कागजपत्र सच्याएको भए यत्रो बर्षसम्म उजुरीकर्ताले किन यो कुरा बाहिर ल्याउनु भएन भन्ने आशंका पैदा भएको ती अधिकारीको भनाई छ । ‘यदी त्यसो भएको भए २०५१ सालदेखि अहिलेसम्म उहाँले किन उजुरी नगर्नु भएको ?,’ ती अधिकारीले भने । यो डिआइजी सिंहलाई बढुवामा रोक्न रचिएको चालबाजी मात्रै भएको ती अधिकारीले दावी गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार १३:५३