च्याती कालो सब घनघटा घामजस्तै उदाऊ ।
हावाजस्तो मन–रथ लिई तिर्सनाले कुदाऊ ।।
उम्दा जोडी मदन–रतिझैँ पास मेरा सुहाऊ ।
पानी बन्दै दरदर झरी अग्नि मेरो निभाऊ ।।
बित्ला मेरो मधुर मनको रात कोल्टे फिरेर ।
आऊ प्यारा अब अलि छिटै जोस नौलो भिरेर ।।
ढोका खोली प्रणयरसको प्रेम बर्साइदिन्छु ।
होला तिम्रो ऋण सय जुनी शीघ्र फर्स्याइदिन्छु ।।
धेरै बेरी कर पयरले बल्लरीतुल्य हुन्छु ।
तिम्रो इच्छा नरम तकिया हुन्छ फाटे म तुन्छु ।।
प्याला मीठो पलपल दिऊँ रात–रानी बनेर ।
पिच्कारीले कद सिँच तिमी डोल खेती खनेर ।।
ढल्की लेट्दा दिल–पलङमा हात बालिस्ट हुन्छन् ।
बाचा मेरो प्रबल छ सखे ! रोमले रोम छुन्छन् ।।
आँखा–आँखा नजरपटमा झिम्म हुन्नन् परेली ।
छड्के हेर्दा अधरतिरका दृश्य बन्छन् तरेली ।।
जाडो भाग्ला कटु शिशिरको वक्ष खापेर ओढौँ ।
ऐनाजस्ता नयन पुतली अन्त हेरी नमोडौँ ।।
मेरो चिल्लो नरम कबरी बन्छ बर्काे तिमीमा ।
तिम्रो मायाँ छलछल बगोस् यो तिलस्मी जिमीमा ।।
रितु खनाल । दाङ