सूचनाको शक्ति - The Power Of Information

        

हिल्सामा सीमा सुरक्षा गर्न हिउँमै गस्ती

सीमा जोगाउनका लागि हुम्लास्थित सीमा सुरक्षा चौकी (विओपी)का सुरक्षाकर्मी हिउँमा गस्ती गर्न बाध्य भएका छन् । नेपाल र चीनको सीमाना हिल्सामा सीमा सुरक्षाका लागि सुरक्षाकर्मी हिँउमा नियमित गस्ती कार्य गर्दै आएका हुन् ।

नियमित रूपमा सीमा स्तम्भहरूको अनुगमन हिउँमै गर्नुपर्ने भएकाले आफूबाट गस्ती गर्न बाध्य भएको बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक रामकुमार महत क्षेत्रीले बताए । नेपाल चिनको बीचमा रहेको सिमानामा हिउँमै भएपनि गस्ती गर्नुपरेको छ ।

हिल्सामा दुईदेखि तीन फिट हिउँ जमेको कारण त्यहाँ हिउँ छिचोल्नुपर्ने बाध्यता छ । सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा पच्चीस जना सशस्त्र प्रहरी हिल्साको सीमा सुरक्षा चौकीमा खटिँदै आएका छन् । हिउँ नहुँदा हिल्साबाट यारीसम्म गएपनि अहिले नारा लेकमा बाक्लो हिउँ जमेको कारण चोर लाग्नासम्म मात्र पुग्न सकिन्छ ।

बिहान गस्तीमा निस्केको टोली बेलुका मात्र चौकीमा फिर्ता हुने गरेको छ । दैनिक गस्ती निस्कने भएको कारण सुरक्षा व्यवस्थामा हालसम्म कुनै समस्या देखिएको छैन । घाम लागेपछि मात्र हिल्साबाट सञ्चार सेवावाट सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०८:५२