सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टेलिकमको सेवा

सुगम जिल्ला बाँकेमै मोबाइल नेटवर्कको समस्या, सेवाग्राहीलाई सास्ती

विशेषगरी कोहलपुर नगरपालिकाको चप्परगौडीदेखि दाङको सिमाना शिव खोलासम्मको करिब ४२ किलोमिटर दूरीमा टेलिफोन टावरको बढी समस्या छ ।

फाइल तस्वीर

पश्चिम नेपालकै सुगम जिल्ला मानिने बाँकेका दुई दुर्गम गाउँपालिकामा अझै पनि नेपाल टेलिकमको सेवा विस्तार हुन नसक्दा सेवाग्राहीलाई सास्ती भएको छ ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा पर्याप्त टावर नहुँदा मोबाइल र सोसम्बन्धी अन्य सेवा राम्ररी नचल्दा स्थानीयले सास्ती भोग्नु परेको गाउँपालिकाले जनाएको छ ।

राप्तीसोनारी र नरैनापुरमा टेलिकमका थप १० वटा टावर राख्न टेलिकमसँग माग गरिएको छ  । टेलिकमको केन्द्रीय कार्यालयले यसअघि टेन्डर आह्वान गरेको १५० वटा टावरमध्ये १० वटा टावर राप्तीसोनारी र नरैनापुरमा जडान गर्न माग गरिएको छ ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले राप्तीसोनारीका आठ र नरैनापुरका तीनवटा वडामा नेपाल टेलिकमको टावर रहेको र त्यसबाट पर्याप्त नेटवर्क प्राप्त नभएकाले थप १० वटा टावर तत्काल जडानका लागि पहल गरिएको बताइन् ।

थप टावर जडानका लागि नेपाल टेलिकमको प्रदेश कार्यालय र केन्द्रीय कार्यालय दुवै स्थानमा माग गरिएको मन्त्री केसीले बताइन् । उता राप्तीसोनारी र नरैनापुरका धेरैजसो गाउँबस्तीमा टेलिकमको नेटवर्क नटिप्ने समस्या भएपछि टावर जडानका लागि पहल गरिदिन मन्त्रीलाई आग्रह गरिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताए ।

विशेषगरी कोहलपुर नगरपालिकाको चप्परगौडीदेखि दाङको सिमाना शिव खोलासम्मको करिब ४२ किलोमिटर दूरीमा टेलिफोन टावरको बढी समस्या छ । उक्त क्षेत्रलाई समेट्ने गरी टावरको माग गरिएको राप्तीसोनारीका अध्यक्ष तप्त पौडेलले बताए ।

राप्तीसोनारी र नरैनापुरमा रहेको टेलिकम टावरको रेन्ज कम भएकाले ती टावरको स्तरोन्नति गरी रेन्ज बढाउन पनि माग गरिएको अध्यक्ष पौडेलको भनाइ छ । नरैनापुरको सीमावर्ती क्षेत्रहरूमा टेलिकमको नेटवर्कले काम नगर्दा भारतीय मोबाइलको प्रयोग गर्नुपर्ने बाध्यता रहेको नरैनापुरका स्थानीय रमजान मुकेरीले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार ०८:२७