मुगुमा समयमा कारागार निर्माण नहुँदा कैदीबन्दी अन्य जिल्लामा पठाउनुपर्ने बाध्यता छ । गमगढीस्थित थापालचौरमा कारागार भवन ९ वर्षअघि निर्माण सुरु गरिए पनि अझै पूरा हुन सकेको छैन । २०७१ मा तीन करोड ५० लाख रुपैयाँमा भवन निर्माण सुरु गरिएको थियो ।
भवन निर्माणको जिम्मा आरसी कन्स्ट्रक्सन धनगढीले लिएको छ । करिब ९० प्रतिशत काम पूरा भए पनि घेरबार, सुरक्षा पोस्ट लगायतको काम नहुँदा अझैसम्म पनि ठेकेदार कम्पनीले हस्तान्तरण गरेको छैन । ८० पुरुष र २० महिला गरी १०० कैदीबन्दी अट्ने क्षमताको कारागार भवन बन्न लागेको हो ।
कारागार नै नभएपछि कैदीबन्दीलाई मुगुबाट जुम्ला, बर्दिया, सुर्खेत, कालिकोट, बाँके, दाङमा लैजानुपर्ने बाध्यता छ । कैदीहरूलाई जिल्ला बाहिर चलानी गर्नुपर्दा सुरक्षाकर्मीलाई सास्ती हुने गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । मुगुबाट नजिक रहेको जुम्लामा ल्याउन समेत दुई दिन लाग्ने प्रहरी बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार एक जना कैदीबन्दीलाई जुम्ला लैजान ८–९ जना सुरक्षाकर्मी खटाउनुपर्ने बाध्यता छ । बाहिर जिल्ला कैदीबन्दी पुर्याउँदा कम्तीमा ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । थुनुवाहरू जिल्ला बाहिर भए पनि उनीहरूको बहस मुगु अदालतमा हुने गरेको छ ।
यसका कारण उनीहरू आफ्नै बहस सुन्नबाट पनि वञ्चित हुने गरेका छन् । मुगुबाट बर्सेनी २० कैदीबन्दीलाई बाहिर पठाउनुपर्छ । कैदीबन्दी बाहिर जिल्लामा हुँदा परिवारका सदस्य तथा आफन्तले भेट्न पनि समस्या हुने गरेको छ ।
छायानाथ रारा नगरपालिकाका ७१ वर्षीय सिंहबहादुर मल्लले छोरा जुम्ला कारागारमा थुनिएको ९ वर्ष भए पनि अहिलेसम्म भेट्न नपाएको बताए । २०७६–०७७ मा २१, ०७७–०७८ मा १२ र ०७८ –०७९ मा १९ कैदीबन्दीलाई जिल्ला बाहिर पठाइएको छ । जुम्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । अहिले जुम्ला कारागार १२० जनाको क्षमता भए पनि अहिले १२६ जना रहेका बताइन्छ ।
सत्यपाटी संवाददाता । सुर्खेत