राष्ट्रपति विद्यादेवी भण्डारी आज बुधबार दाङ आउँदै छिन्।
नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उनी दाङ आउन लागेकी हुन्। राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
२४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो। निर्माण कम्पनीले विसं २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो।
तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन्। उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो।
महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्णरुपमा शिक्षणमा उपयोग गरिएको छ। राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ।
सत्यपाटी संवाददाता । दाङ