सूचनाको शक्ति - The Power Of Information

        

सडक विस्तारले घाँसीकुवाको अस्तित्व जोखिममा

पृथ्वी राजमार्ग विस्तारका क्रममा मासिने अवस्थामा पुगेको तनहुँको व्यास नगरपालिका–१२ स्थित आदिकवि भानुभक्त आचार्यको प्रेरणास्थल घाँसीकुवा र घाँसी स्मार्क पार्क । तस्वीर : मिला दरै । रासस

भरजन्म घाँसतिर मन दिई धन कमायो ।
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त धनी भैकन किन आजयस्तो ।

यो कवितांश घाँसीबाट प्रेरणा पाई आदिकवि भानुभक्त आचार्यद्वारा रचिएको हो । भानुभक्त मामाको घर मानहुँ पुगेर पैदल बाटो फर्किने क्रममा घाँसीकुवामा नै घाँसीसँग भेट भएको र सोही घाँसीबाट प्रेरणा पाई सो कविता रचना गरेको थियो भन्ने भनाइ छ ।

त्यसैले यस कुवाको संरक्षण आवश्यक रहेको स्थानीय तथा साहित्यिक क्षेत्रका व्यक्तित्वको भनाइ छ । घाँसीकुवालाई आदिकवि भानुभक्त आचार्यको प्रमुख प्रेरणास्थलको रुपमा पनि लिइएको छ । पृथ्वी राजमार्गको विस्तारले गर्दा घाँसीकुवाको अस्तित्व जोखिममा परेको छ ।

पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तारले घाँसीकुवामा रहेको कुवा र उद्यान मासिने जोखिम बढेको छ । सडक विस्तार गर्दा हाल घाँसीकुवामा रहेको भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने हुँदा संरक्षणका लागि तुरुन्त चासो राख्नुपर्ने माग स्थानीयवासीको छ ।

सडक विस्तारले गर्दा यहाँको अस्तित्व मासिने अवस्थाका लागि पटक–पटक स्थानीयवासीले नगरपालिका र प्रदेश तथा सङ्घ सरकारसमक्ष अनुरोध गर्दै आएको छ । घाँसीकुवाको संरक्षणका लागि सम्बन्धित पक्षसँग छलफल गरिएको र त्यहाँको जमिन जोगाएर सडक बनाउने प्रयत्न भइरहेको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

‘न्यून आय भएका कमजोर व्यक्तिले पनि प्रेरणा, माया र शिक्षा दिन सक्दा रहेछन् भन्ने सन्देश घाँसीकुवाले दिइरहेको छ, हाल रहेको कुवाभन्दा थोरै तल सारेर घाँसीकुवाको मूल्य मान्यतालाई स्थापित गर्नेछौंँ,’ नगर प्रमुख न्यौपानेले भने, विगतमा सबैलाई सहज बनाउने उद्देश्यले कुवा केही तल सारिएको थियो, प्रेरणा स्थल संरक्षण गर्नेछौँ ।’

घाँसी स्मारक पार्क संरक्षण समितिका कर्मचारी तथा स्थानीय प्रेमराज पन्थले ऐतिहासिक स्थलको जसरी पनि संरक्षण हुनुपर्ने बताए । ‘यहाँ धेरैले फोटो खिचेका छन्, घाँसीकुवाको पानी खाएका छन्, यो ऐतिहासिक ठाउँको संरक्षणका लागि सबैको चासो हुनुपर्छ,’ पन्थले भने । उनले देशव्यापी रूपमा चिन्ने ठाउँलाई जसरी पनि बचाउनुपर्छ र इतिहास मेट्न दिन नहुने बताए ।

घाँसीको सम्झना र सम्मानमा तनहुँको एउटा गाविसको नाम नै ‘घाँसीकुवा’ राखिएको थियो । तर सङ्घीयता कायम भएसँगै अहिले यो गाविस व्यास नगरपालिकामा समायोजन भएको छ । सदरमुकाम दमौलीबाट पूर्वतर्फ करिब पाँच किलोमिटरको दूरीमा घाँसीकुवा पर्दछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १९:३०