सूचनाको शक्ति - The Power Of Information

        

नेपाल प्रहरीमा नेतृत्व परिवर्तन

आइजिपी बढुवामा बिचौलिया हाबी, बालुवाटारमा चलखेल

आर्थिक चलखेलकै आधारमा नेपाल प्रहरीमा आइजिपी नियुक्तिका लागि प्रधानमन्त्री बिचौलियाहरुको घेराबन्दीमा परिसकेका छन् ।

नेपाल प्रहरीमा अबको एक महिनापछि नेतृत्व परिवर्तन हुँदैछ । विगतमा झैं प्रधानमन्त्री निवास बालुवाटारमा महानिरीक्षक नियुक्तिका लागि ठूलै चलखेल सुरु भइसकेको स्रोतले बताएको छ । आइजिपी नियुक्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटहरुको चलखेल हेर्दा यसपटक पनि प्रचण्ड ‘आइजिपी काण्ड’मा फस्ने देखिन्छ ।

६ वर्षअघि प्रचण्ड प्रधानमन्त्री भएकै बेला नेपाल प्रहरीको आइजिपीको नियुक्तिमा अनावश्यक चलखेल गर्दा प्रचण्ड चरम विवादमा परेका थिए । पहिलो वरियतामा रहेका नवराज सिलवाल र प्रकाश अर्याललाई छाडेर जयबहादुर चन्दलाई आइजिपी नियुक्त गरेपछि ठूलै विवाद भयो । सरकारले गरेको नियुक्तिलाई सर्वाेच्च अदालतले उल्टाइदिएको थियो ।

सोही विवादमा तत्कालिन प्रधानन्यायधीश सुशीला कार्की लगायतमाथि महाअभियोग लगायतका विवादले सरकार चरम विवादमा तानियो । यसपटक पनि आइजिपी नियुक्तिमा त्यस्तै हुने लक्षण देखिएको छ । आर्थिक चलखेलकै आधारमा नेपाल प्रहरीमा आइजिपी नियुक्तिका लागि बालुवाटार निकट बिचौलियाहरुको दौडधुप चलिरहेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री तिनीहरुकै घेराबन्दीमा परिसकेको बालुवाटार स्रोत बताउँछ । खासगरी कार्यक्षमतामा कमजोर र कारबाही सिफारिस भएका बदनाम डिआइजीहरु बिचौलियामार्फत प्रधानमन्त्रीलाई प्रभावमा पार्ने प्रयासमा लागेका छन् । यसअघि पनि चलखेलकै आधारमा डिआइजी बढुवा भएर विवादमा तानिएको थियो ।

आइजी बढुवामा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धीराज गुरुङ, दुर्गा सिंह र किरण राणा प्रतिस्पर्धामा छन् ।

यो ब्याचका कुँवर, राई, ज्ञवाली भण्डारी, जोशी आइजिपीका दाबेदार मानिदै आएका थिए । यो ब्याचका महिला अधिकृतहरु पनि अब्बल मानिन्छन् । यसपटक प्रहरीमा पहिलो पटक महिला नेतृत्व पुग्ने अवसर भएपनि महिलाहरुलाई पछि पार्न खोजिएको छ । अहिले एआइजीका तीन पद रिक्त छन् ।

जसमा पुराना ब्याचका तीन जना र एक विवादित डिआइजीले प्रधानमन्त्री निकट व्यक्तिहरुलाई प्रभावमा पार्ने प्रयास गरिरहेको स्रोत बताउँछ । प्रहरीमा बुधबारदेखि एआइजीका पाँच दरबन्दी रिक्त हुँदैछन् । ती दरबन्दीमा बढुवाका लागि २० जना डिआइजीबीच प्रतिस्पर्धा छ । जसमा तीन जना आइजी धिरजप्रताप सिंहका ब्याची छन् । जसको जागिर एक महिना मात्र बाँकी छ ।

पछिल्लो ब्याचका डिआइजी पहुँचवाला भएकाले पुरानो ब्याचबाट अब बढुवा हुने सम्भावना कम रहेको बताइन्छ । प्रहरी महानिरीक्षक सिंहले एआइजी बढुवाबारे प्रधानमन्त्रीसँग छलफल थालिसकेको बताइन्छ । विगतमा विश्वराज पोखरेलले पनि यस्तै शैली अपनाएर एकल बढुवा भएका थिए । तर, पछि उनको संगठनबाटै अपमानजनक बिदाई हुन पुग्यो । प्रहरीमा बढी चलखेल गर्नेहरु काण्डमा फसेका छन् ।

पछिल्लो केही महिना प्रहरीमा सिष्टम बस्न थालेको थियो । तर, आइजिपी पद पैसामा बेचियो भने फेरि बदनामहरु हावी हुने र संगठन ध्वस्त हुने चिन्ता प्रहरी अधिकारीको छ । साथै यो कार्यकाल विगतको तुलनामा राम्रो गर्छु भनेर प्रतिबद्धता जनाएका प्रधानमन्त्री प्रचण्डका लागि पनि प्रहरीमा सुधारको अवसर छ । बढुवामा अनावश्यक चलखेल रोक्नु प्रहरी महानिरीक्षक सिंहको लागि पनि परीक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलवार १६:५३